देउवा र प्रचण्डको गोप्य भेट, प्रधानमन्त्री विरुध्द सहकार्य गर्ने सहमति !

गुनासो त्यसैसँग गरिन्छ जो आफ्नो नजिकको हुन्छ । टाढाको ले त आफूलाई चिन्दा पनि चिन्दैन, उसलाई पनि के सरोकार ? हामीले गुनासो गर्ने भनेकै आफ्नो अभिभावक, प्रधानमन्त्री सँगै हो । भारत वा चिनका प्रधानमन्त्री सँग भनेर के अर्थ ? अहिले प्रधानमन्त्री भनेको केपी ओली हो, त्यसैले गुनासो पनि ओली सँगै गर्ने हो । शेरवहादुर देउवासँग गुनासो गरेर के फाइदा, उनीसँग सत्ता नै छैन, भएको भए गुनासोका चाङ्ग उनीतिरै चुलिन्थ्यो ।

शरिरीक रुपमा अग्लो उचाई भएकोलाई राम्रो भन्ने चलन मानिसमा पाईन्छ । पशुपन्छी र किरा फट्याँग्राले यसमा आफ्नो धारणा कस्तो बनाउँछन् भन्ने कुरा अहिले सम्म कसैले बाहिर ल्याउन सकेको छैन । सायद, बैज्ञानिकहरू दिनरात यसमा लागेकै होलान् । कुनै दिन प्रकाश पार्ने नै छन् ।

अहिलेको सभ्य समाजमा उचाई भन्दा पनि उसको सोचाई मार्फत व्यक्तिको ‘कद’ नाप्ने गरिन्छ । आजको युगमा मानिस चाहेर पनि एक्लो हुन सक्दैन । ऊ जत्तिनै समाजसँग लुकेर हिंडोस् वा गोप्य रुपमा कतै केहि छलफल गरोस् त्यो त कुनै न कुनै माध्यमबाट आउँछ भने खुल्लम खुल्ला मञ्चबाट माईक मार्फत कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भनेको कुरा फैलिन किन ढिलो हुन्थ्यो र ?

प्रधानमन्त्री जस्तो व्यक्तिले ‘मास्क’ जस्तो सानो कुरालाई लिएर आफ्नो कदलाई किन होचो बनाएको होला ? उहाँलाई थाहा नहुन सक्छ, बातानुकुलित गाडिमा चढेर, साईरन बजाउँदै, चाहिने भन्दा बढ्ता सुरक्षाकर्मी अगाडी पछाडी लगाउँदै कालो सिसाभित्रबाट सर्वसाधारण जनताले सास्ती खाएर हिंडिरहँदा दौरा सुरुवाललाई जितेर ‘मास्क’ कती अगाडी नै नेपालको राष्ट्रिय पोशाकमा परिणत भइसक्यो भनेर ।
राजनीतिक घोचपेछ गर्नुस् कसैले केहि भन्दैन, शेरवहादुर वा बाबुराम जसलाई जे भन्नुस त्यो उहाँको समकक्षी वा अन्तर पार्टी बीचको प्रतिस्पर्धा होला तर जनताले दिनदिनै भोगिरहेको समस्यामाथी यती हल्का टिप्पणी त्यती उच्च ओहोदामा बसेको व्यक्तिले व्यक्त गर्न सुहाउँछ ?

बयस्क व्यक्ति को कुरै छाडौं, बिहान बिद्यालय जाने बेलामा बस बिसौनीमा हेर्नुस् बिद्यार्थीहरू ‘मास्क’ नलगाई विद्यालय जाँदैनन् । बस स्ट्याण्डमा बस कुरुन्जेल पनि ‘मास्क’ नलगाई उभिन सक्दैनन् । त्यती गर्दा पनि धुलोले असर गरेकै हुन्छ र प्राय पन्ध्र, बिस दिनमा रुघाखोकीको ‘सिरप’ किनेर खुवाउनु पर्छ । पैसा को नोक्सानी त आफ्नो ठाउँमा छँदैछ त्यो भन्दा बढ्ता त ती अनगिन्ती कलिला बाल बालिकाहरूको शरिरको भित्री भाग, कलेजो, फियो, किड्नी, जस्ता औषधी सेचन गर्ने अंगमा कती नकारात्मक असर गरिरहेको होला कहिल्यै सोचेको छ ? म वर्तमान सरकारको पार्टीले ‘क्लिन स्विप’ गरेको वडामा बस्छु, मेरो चोकमा चारतिर जाने बाटो छ, तीनतिरको बाटो बल्ल बल्ल पिच भयो, अब केहि दिनमा त त्यसको उमेर सकिएर उप्किन शुरु गर्छ, तर अझैपनि दक्षिण तर्फको बाटो पिच हुन सकेको छैन । कमसेकम असारे विकास भन्दै यो असारमा त रातारात अलकत्रा बिच्छ्याउँछन् होला भनेर हेर्दा हेर्दै अहिले सम्म पनि त्यो दिन देख्न पाइएको छैन । सत्तारुढ दलका जनप्रतिनिधिले त्यती काम गरिदिएको भए सायद धुलो उड्न पचास प्रतिशत कम हुन्थ्यो होला र प्रधानमन्त्रीले भन्नु भएको कुरामा केहि सत्यता पनि हुन्थ्यो होला । अहिले भन्नु हुन्छ, “मास्क लगाउने मेरो बिरोधी” ।

गुनासो त्यसैसँग गरिन्छ जो आफ्नो नजिकको हुन्छ । टाढाको ले त आफूलाई चिन्दा पनि चिन्दैन, उसलाई पनि के सरोकार ? हामीले गुनासो गर्ने भनेकै आफ्नो अभिभावक, प्रधानमन्त्री सँगै हो । भारत वा चिनका प्रधानमन्त्री सँग भनेर के अर्थ ? अहिले प्रधानमन्त्री भनेको केपी ओली हो, त्यसैले गुनासो पनि ओली सँगै गर्ने हो । शेरवहादुर देउवासँग गुनासो गरेर के फाइदा, उनीसँग सत्ता नै छैन, भएको भए गुनासोका चाङ्ग उनीतिरै चुलिन्थ्यो । तर, ओलीजीको वक्तव्य, भाषण र व्यवहार हेर्दा उनी त्यसलाई पचाउन र जनताका समस्या सफल तुल्याउन असफल भइरहेका छन् ।

जनताले गाँस काटेर तिरेको करको कसरी दुरुपयोग भइरहेको छ भनेर मात्र एउटा उदाहरण, हाँडी गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा “दिउँसो सुतेर के बस्नु” भनेर चार तल्ले घरका मालिक मालिक्नीको दम्पत्तीनै एक दुई घण्टा दुबो टिपे जस्तो गरेर ज्याला लिएर गइरहेको सारा संसारको अगाडी ‘युट्युबमा’ प्रशारित भइरहेको छ । जसलाई जती बेला मनलाग्छ हेर्न सकिन्छ । त्यो भिडमा उनीहरू मात्र होइन सबैजनाको अभिव्यक्ति त्यही थियो । त्यस्तै प्रकारका भिडियो सूर्यबिनायक लगायत अन्य ठाउँमा पनि देखियो । खै यसले लक्षित वर्गलाई छुन सकेको ? कहिं कतै राम्रै पनि गरेको होला तर समग्रमा चरम दुरुपयोग भएको समाचार दिनदिनै आइरहेको छ ।

बरु त्यसको सट्टा यो पैसालाई प्रत्येक वडामा प्रौढ शिक्षा पढाउन खर्च गरे जस्तो अब मनोविज्ञानको शिक्षा दिनुमा खर्च गरे देखि अति उत्तम हुने थियो । केहि दिन देखि, हरेक दिन जस्तो, देशको कुनै न कुनै ठाउँमा हत्या, आत्महत्या, हिंसा, बलात्कार जस्ता बिभिन्न प्रकारको आपराधिक घटनाहरू भइरहेको छ । गाउँ देखि शहर सम्म, अनपढ देखि शिक्षित सम्म, गरिब देखि धनी सम्म, बालक देखि बृद्ध सम्म सबै पक्ष यस्ता हिंसात्मक घटनाहरूमा संलग्न भइरहेका छन् । अनुहार हेरेर मानिसको मन भित्र पस्न सकिंदैन । ऊ भित्र के खेलिरहेको छ र उसले के गर्न आँटेको छ भन्ने कुरा पत्ता लगाउन कठिन मात्र होइन असम्भव नै हुन्छ ।

दोषिलाई कानूनको कठघरामा ल्याउनु र हदै सम्मको कारबाही गर्नु भनेको अपराध भईसकेपछि को अवस्था हो । जतीबेला जे नहुनु पथ्र्यो त्यो भइसकेको हुन्छ । समाजमा दिन प्रतिदिन यस्तो घटना भइरहेको देखेपछि अब प्रत्येक वडामा मनोचिकित्सकको परामर्श प्रत्येक व्यक्तिमा आवश्यक परिसकेको महसुस गर्न सकिन्छ । यसको लागि बरू यहि बजेटलाई सदुपयोग गर्ने हो की ?

मानिसका हजारौं गुण होस् एउटै बैगुणले सबै स्वाहा पारिदिन्छ । अहिले प्रधानमन्त्री जीको पनि त्यस्तै भइरहेको छ । उहाँ चौध वर्ष जेल बसेको नेता, जनताको लागि पञ्चायत सँग ज्यान माया मारेर लागेको, पछिल्लो काल खण्डमा भारतको नाकाबन्दीको अगाडी नझुकेको, त्यो आत्म सम्मान, त्यो उचाई, त्यो कद, त्यतीबेलाका उहाँका समकक्षी कसैले पनि भेट्न सक्दैन थिए तर अहिले क्रमशः त्यो उचाई बाट उहाँ स्वयंले आफूलाई ओरालो तिर डोर्याउँदै हुनुहुन्छ ।

जनताले उहाँलाई सरल प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका थिए । मन्त्रीपरिषदको बैठक मन्त्रीपरिषदकै कार्यालयमा होस्, पार्टीको बैठक पार्टीकै कार्यालयमै होस्, झिना मसिना उद्घाटनमा सहभागी नहुनुहोस्, कसैलाई होच्याउने अभिव्यक्ती प्रकट नहोस्, साना भन्दा साना कुराको पनि ओठे जवाफ नआओस्, विवादित व्यक्तिलाई बिभिन्न पदहरूमा आसिन नगराईयोस् भन्ने जस्ता अति साधारण कुराहरूमा ध्यान दिनु होला भन्ने आशा अझै पनि गरिरहेका छन् ।

रेल, पानी जहाज, पेट्रोलियम पदार्थको अन्वेषण जस्ता सुन्दा अपत्यारिलो भएपनि कमसे कम यसको सुरुवात त भयो भनेर जनताहरूले साथ दिइरहेकै छन् । आलोपालो प्रधानमन्त्रीको कुरा बाहिर आएता पनि मानिसहरू फेरि पहिलेकै जस्तो अस्थिर सरकार नहोस्, ओलीको बिकल्प नसोचौं भनेर टिप्पणी गरिरहेकै छन् ।

पार्टीमा धेरै मानिस देख्दैमा चुनाव जितिंदैन । जित हारको फैसला मध्यम वर्गको हातमा हुन्छ, जो अहिले अति चिढिएका छन् । दोस्रो संविधानसभाको चुनाव अगाडी पेरिसडाँडामा बाबुराम र प्रचण्डले अन्य दलबाट प्रवेश गर्नेहरूको ओइरोलाई टिका लगाउन समेत नभ्याएर अबिर छर्किंनु पर्ने अवस्था समेत श्रृजना भयो तर त्यसको परिणाम कस्तो आयो त्यो सबैको सामु प्रष्ट छ । समयमै सचेत भएर भएका गल्तीलाई स्वीकार्ने हिम्मत गर्दै, राज्यकोषको दोहनलाई नियन्त्रण गर्दै, जनताका अत्यावश्यक सेवालाई प्राथमिकतामा राख्दै वर्तमान सरकार चलोस् भन्ने अपेक्षा छ । अन्यथा, ओरालो लागेको कदलाई उकालो लगाउन धेरै ढिलो हुनेछ ।