सौन्दर्य

    – श्रीबाबु कार्की उदास

             

            पत्रकार रामदेवले यौनकर्मीहरुलाई कहिल्यै मन पराएन । ऊ यौनकर्मीहरुको विपक्षमा सधैं खोजमुलक समाचार बनाइरहन्थ्यो ।


           रामदेव नामसंग धेरै पेशेवर यौनकर्मीहरु त्रासमा हुन्थे । झस्किन्थे, तर्सन्थे र सधैं  सतर्क रहन्थे । 


            एक साँझ रामदेव रत्नपार्कको बाटो हुँदै कतै जाँदै थियो । उसलाई आकाशे पुलमा एक सुन्दर युबतीले विभिन्न नखरा पारेर प्रेमिल संकेत गरी । उसले यत्तिको सौन्दर्यले ओतप्रोत महिला यो पेसामा पहिलो पटक देखेको थियोे ।


            रामदेव युवतीको सौन्दर्यमा लठ्ठी पर्‍यो । उसको भित्री मनले भन्यो- “रामदेव ! मौका यही हो  बुढी माइती छे, तेरो निष्ठाले केही थेग्ने होइन !” ऊ एकछिन त अन्यमनष्क रह्यो । उसले पुनः महिलातर्फ आँखा लगायो । धर्म शास्त्रमा वर्णित स्वर्गकी अप्सराभन्दा कम लागेन उसलाई । 


         रामदेवले सौन्दर्यका खातिर सबै निष्ठालाई लत्याइदियो । सामाजिक मुल्य-मान्यता र धार्मिक निष्ठा-आस्था सबै उसको नजरबाट एकाएक गायभ भए । ऊ युवतीको सम्मुख उभिएर मोलमोलाइ गर्न लाग्यो । त्यो प्रेमिल साँझमा दुईबीच केहि क्षणमै  सकारात्मक खुसामत भयो । आजको रंगिन रात रामदेवकै फ्ल्याटमा बित्ने निश्चित भयो । उनिहरु रत्नपार्कलाई पछाडि पार्दै मीठो सम्बन्धको कल्पना गर्दै त्यहीँबाट अलप भए । 
                           ***
          

भोलिपल्ट रामदेव ढिलोसम्म अफिस गएन । उसको फोन अफ थियो । सबैलाई रामदेव कहाँ गयो भन्ने चिन्ता भयो । तसर्थ उसको मिल्ने साथी कृष्ण रामदेवको  फ्ल्याटमा पुग्यो । कोठा उघारै र अस्तब्यस्त थियोे भने  रामदेव मुर्छित अबस्थामा ओछ्यानमा लडिरहेकाे थियोे । 


          कृष्णले हतार हतारमा ट्याक्सी बोलाएर रामदेवलाई हस्पिटल लग्यो । हस्पिटलमा डाक्टरहरुको निक्कै मेहनतपछि रामदेवको होस् आयो । रामदेव आफ्नो यस्तो हालत देखेर आफैं  चकित पर्‍यो । 

  उसले आफ्नो नाडीमा बानेको घडी हेर्‍यो । 
– नाडीमा बानेको घडी थिएन । 
ऊ झस्कियो !
घाँटीमा लगाएको सिक्री छाम्यो ।
-सिक्री भेटेन । 
बिस्तारै पाइन्टकाे पकेटमा भएको ‘पर्स’ र मोबाइल छाम्यो । 
– त्यो पनि थिएन । 


बाँकी फ्ल्याटकाे हालत कस्तो भयो होला ? चिन्ता बढ्याे रामदेवलाई । उसले कहिँकतै उजुरबाजुर गर्ने हिम्मत गर्न सकेन । यो सबै सौन्दर्यको क्षणिक कमाल मात्रै थियो । उ यस्तो सकसमा थियोे जुन घटना आफ्नै साथीलाई समेत भन्न सकिरहेको थिएन ।


          बल्ल उसले थाहा पायो । सौन्दर्यमा मानिस कसरी लठ्ठ पर्दोरहेछ ? यतिबेला खोजपत्रकार रामदेव आफैं सनसनीपूर्ण समाचार बनिसकेको थियोे । 
                            ***