भिडको बिरोध होइन, आक्रोश सुनौं !

तर, हरेक भिडको पछाडी एउटा आक्रोश हुन्छ । त्यो आक्रोश के को वा कसको समर्थनमा भन्दा पनि के को बिरोधमा आएको हो भन्ने चाहिँ बिचार गर्नै पर्दछ ।

-राजीव भण्डारी



अहिले जताततै तीजको दर खाने कार्यक्रम चलि रहेको छ । गत बुधबार बेलुका हामी पनि एउटा यस्तै कार्यक्रममा सहभागी भएर फर्किरहेका थियौं । रातको करिब साँढे नौ बजे तीर हामी गुडिरहेको बाटोको एउटै दिसामा एउटा ट्याक्सी पार्किङ गरेर यात्रु पर्खेर बसिरहेको थियो । त्यसको बिपरित प्रहरीको निलो रङको पिकअप भ्यान पनि मुस्किलले एउटा सानो गाडी पास हुने गरेर रोकिएको थियो । पहिले त सोच्यौं सायद रातीको समयमा गस्ती गर्दै आएको होला, त्यसैले हामी चढेको गाडी बडो मुश्किलले उक्त गाडी लाई साईड लाउँदै अगाडी को ट्याक्सी बचाउँदै जाँदा हाम्रै दिसाबाट उक्त प्रहरीको भ्यानबाट एउटी महिला रातो साडी र गहनाले पुरिएर निस्किन खोज्दै थिइन् । अनुमान लगाउन गाह्रो थिएन कि उनी पनि कतै दर खाएर आइपुगेकि हुन् भन्ने । पछि हाम्रो गाडी पास गराएर हामी अगाडी बढ्यौं ।


यस बाटै प्रष्ट हुन्छ कि हामीले तिरेको कर को कती दुरुपयोग भइरहेको छ । दुरुपयोग त भयो भयो, अरु बेलामा शुरक्षाको दृष्टिले पनि सवारी साधनको यात्रु चढ्ने ढोका सडक पेटी अर्थात गाडीको देब्रेतिरबाट खोल्ने गरिन्छ भने उक्त महिला त्यस्तो साँघुरो बाटोमा पनि त्यसको ठीक विपरित दिसाबाट ओर्लंदै थिइन् त्यही पनि अर्को सवारी साधन आइरहेको देख्दा देख्दै । गाडी चलाउने चालकले अलीकती अगाडी रोकेर मान्छे ओरालेको भएपनि त हुन्थ्यो नी । तर, यो सब पावर को कमाल हो भन्ने बुझिन्थ्यो । नेपालमा जती आफ्नो दम्भ देखाउन पाइन्छ, जती अरुलाई हेप्न पाइन्छ उती ठूलो मान्छे होइन्छ भन्ने तल्लो स्तरको सोचाई हावी भइरहेको छ ।


हो, माथीको यही एउटा उदाहरण काफी छ कि नेपाली जनताहरूले सरकारलाई भन्दा कार्यक्रम प्रस्तोतालाई बढ्ता विश्वास गर्न खोजेको । यदि कसैलाई माथी भनेको विषयमा सचेत नागरिकको हैसियतले कारवाही गरिपाउँ भन्ने लागेर उक्त गाडीको नम्बर, स्थान र समय सहित प्रहरी कार्यालय जाने हो भने त्यहाँ बाट उल्टै अपमानित भएर फर्कनु पर्ने पक्का छ तर यी सबै प्रमाण लिएर उक्त कार्यक्रममा गयो भने उनले आफ्नो माध्यमबाट त्यस्ता क्रियाकलापको ’boutमा छताछुल्ल बनाइदिन्छन् । जब देशको नियम कानून मान्नु पर्ने निकायले जनतालाई त्यो सेवा दिँदैन भने मानिसहरू कहाँ जाउन् ? जब उसको गुनासो सुन्ने कोहि प्रकट हुन्छ भने अवश्य पनि उसले उसलाई आँखा बन्द गरेर विश्वास गर्छ । उसको विगत के थियो, वर्तमानमा नेपथ्यमा कहाँ कहाँ के के गर्छ वा भविष्यमा के गर्ने वाला छ भनेर केहि पनि सोच्दैन । मात्र आवाज विहिनहरूको आवाज सुनेकोमा गर्व गर्छ र समर्थन गरिरहन्छ ।


पञ्चायती व्यवस्थामा मानिसहरूले यस्तै प्रवृत्ती खत्तम हुन्छ होला भनेर प्रजातन्त्रको लागि ज्यानको बाजी लगाए । प्रजातन्त्रमा पनि केही नभएको देखेर गणतन्त्रमा साथ दिए । गणतन्त्र आएपछि नेताहरूले उदाहरणको लागि माथी लेखेकै जस्तो प्रहरी पत्नीलाई तीजमा दर खान जान सरकारी सवारी साधनको दुरुपयोग हुन बाट रोक्छन् होला भन्ने थियो तर उनीहरूत आफू पनि त्यो भन्दा दस हात बढी दुरुपयोग गर्न अग्रसर पो भए । श्रीमती, छोरा छोरी, भाइ भतिज, भाञ्जा भाञ्जी, बुहारी ज्वाँई, सम्धी सम्धीनी, साला साली, साँढु भाई दाई, इष्टमित्र जसको लागि पनि सरकारी तेल हालेर, सरकारी चालक राखेर, सरकारी मर्मत सम्भार र मोबील खर्चमा सरकारी गाडी चौबिसै घण्टा स्वचालित भइरहेको छ, त्यो पनि सस्तो होइन सबै भन्दा महंगो र नयाँ माथी तानातान छ ।


सरकारी सवारी साधनको दुरुपयोगमा को भन्दा को कम भन्ने त हरेक सरकारी निकाय का हरेक पहुँचवालाको बीचमा तानातान नै छ । चाहे त्यो मन्त्री होस् वा ड्राइभर, पाए सम्म सबैले भ्याएकै छ । अझ कहिले काहिँ त मर्मत गर्ने ग्यारेजको मालिकले समेत पनि मौकामा चौका हानिरहेको हुन्छ । सेनामा त झन यस्तो दुरुपयोग चरम चुलीमा छ, कालो सिसा भित्र कालै चस्मा लाएर बसेका हाकीमका श्रीमती, पाइन्ट टिसर्टमा छोरी, हाफ पाइन्ट र सेन्डो भेस्टमा छोरा, अझ कहिले काहिँत साथमा कुकुर पनि, लाई न्युरोड देखि भाटभटेनी मल सम्म सबैले देखेकै होला । मन्त्रालयका हाकीमहरूले आफ्ना छोरा छोरी तथा आफन्तको विवाहमा विवाहको हप्ता दिन सम्म पनि पाहुना पासा विदाई गर्न देखि छोरा बुहारी वा छोरी ज्वाइँलाई दुलन फर्काउन समेत दुरुपयोग गरिरहेको सर्वसाधारणले टुलुटुलु हेर्नु बाहेक केहि गर्न सकिरहेका छैनन् ।


सवारी साधनको मोह त कती सम्म देखियो भने गण्डकी प्रदेशका मुख्यमन्त्रीले पुरानो गाडी दियो भनेर संघिय सरकारको ह्रिस फेर्न दुई करोडको ल्याण्ड क्रुजर किनेकोरे । भन्न सुहाउने कुरा हो यो ? के उनले आफ्नो व्यक्तिगत नगद झिकेर किनेका हुन् ? जनताको करलाई ह्रिस फेर्ने बाहना ? बरु मलाई पुरानै गाडी दिए त्यही चढ्दैछु भनेको भए जनताहरूको कती सम्मान पाइन्थ्यो होला ?


सवारी साधनको दुरुपयोगलाई त एउटा उदाहरणको रुपमा मात्र लिएको हुँ । यहाँत जताततै यस्ता व्यक्ति र निकायले साधारण जनतालाई वाक्क ब्याक्क पारिरहेको छ । एअरपोर्टमा हेरौं, साधारण मानिसलाई एउटी बृद्ध आमालाई बोर्डिङ पास लिने ठाउँ सम्म छोड्छु भन्दा पनि एउटा पास पाउन कती गाह्रोछ, सम्भवत पाउँदै पाइँदैन तर पहुँचवालाहरूलाई एक जना हट्टा कट्टा अठार वर्षको छोरो वा छोरी पढ्न पठाउनु छ भने पनि एक दर्जन आफन्तले भित्र जाने पहुँच पाउँछन् । जसको ज्वलन्त उदाहरण त केहि दिन पहिले सशस्त्रका महानिरिक्षकको बाहिर आएको फोटोले नै सबै बयान गरिहाल्छ ।


अरु ठाउँको त कुरै छाडौं धर्म गर्न भनेर जाने मन्दिरमा समेत पनि त्यहि हालत छ । मानिसहरू चार पाँच घण्टा देखि असिन पसिन हुँदै लाईन लागेर बसिरहेका हुन्छन् तर मन्त्री, सरकारी कर्मचारी, सेना, प्रहरी जस्ता निकायका मानिसका परिवारहरू आए भने ससम्मान अरुलाई रोकेर भएपनि देवताको अगाडी पुर्याइन्छ । त्यती बेला त्यसको बिरोध कुनै निकायले पनि गर्दैन । व्यवस्थापन समिती त यस्तैको गुलामी गर्नै रमाउँछ भने पुजारी पनि मक्ख पर्छन्, अझ कती पुजारी त पर सम्म पुर्याउन समेत आउँछन् । यस्तै प्रवृत्ती देखेर र देवताले पनि यस्तैलाई मात्र हेर्छन भनेर हो कि अहिले कयौं हिन्दु धर्मावलम्बीहरूले धर्म परिवर्तन गरेर अर्कै धर्म अंगाली रहेका छन् ।


महिनौं अगाडी मरेको जवान छोरो लास ल्याउन नसकेको परिवारले तपाइँको गुनगान गाउँछ भन्ने नसोच्नुस् । दलालले विदेश लान्छु भनेर ठगेर बिचल्ली पारेको ठगलाई फोन नम्बर पत्ता लगाएर ठाडो ठाडै सवाल जवाफ गरेर गल्ती गरेर पिडितको पक्षमा आवाज दिलाउन सक्षम हुने व्यक्ति लाई भोग्ने र देख्ने सबैले सम्मान गर्ने नै भए । महिनौं देखि बलात्कार भइरहेकी चेलीलाई शिक्षक जस्तो पेशा अँगालेको पुरुषको पञ्जाबाट फुत्काउन सफल व्यक्तिलाई सबैले मान्ने नै भए । लेनदेनमा अनेक प्रपञ्च मच्चाएर ब्याजको स्याज, स्याजको प्याज बनाएर फुटपाथमा पुर्याउने ठगलाई स्टुडियोमै बोलाएर र्याखर्याख्ती पार्दै न्याय दिलाउँदा ती बृद्ध व्यक्तिको आँखा बाट निस्केको आँशुले देशको कानूनलाई र कारवाही गर्ने निकायलाई कती सराप्दो होला अनि टेलिभिजनको स्टुडियो तिर जाने बाटो कसले नखोज्ला ?


म स्वयं पनि भिडतन्त्रलाई विश्वास गर्दिन । तर, हरेक भिडको पछाडी एउटा आक्रोश हुन्छ । त्यो आक्रोश के को वा कसको समर्थनमा भन्दा पनि के को बिरोधमा आएको हो भन्ने चाहिँ बिचार गर्नै पर्दछ ।


सरकार अबपनि नसुध्रने हो भने, मैले प्राय अगाडीको लेखहरूमा लेखिरहने गर्छु, कि जनताले सत्ता उल्टाइदिने छन् । अरबिन्द केजरीवाल कुनै लामो राजनीति गरेर दिल्लीको मुख्यमन्त्री हुन पुगेका होइनन्, उनी एउटा आक्रोशले जन्माएका नेता हुन् । ढिलो चाँडो यहाँको राजनीतिले पनि त्यही बाटो लिने अनुमान गर्न सकिन्छ । बेलैमा सचेत हुने कि, सुझावलाई गाली सम्झने ?