लेकाली फूल

मुगु जिल्लाका लेकाली पाटनहरु बैशाख देखि असोज सम्म विभिन्न प्रजातिका रंगी वीरंगी फूलहरुले स्वर्गको अनुभुति दिने गरे पनि तिनिहरुको औषधिय गुणको पहिचान नहुँदा त्यत्तिकै खेर गैरहेका छन् ।
समुन्द्र सतहबाट करिव ३ हजार देखि ५ हजार मिटरको मिटरको उचार्इमा रहेका मुगु जिल्लाका विभिन्न लेकाली क्षेत्रहरुमा हजारौ लेकाली फुलहरुले सिङ्गारीएका छन् ।
दुर्गम जिल्ला र बाटोको असुविधाका कारण मानिसहरुको सहजै पहुँच नपुगेका ले यहाँका बहुमूल्य प्राकृतिक सम्पदाहरु प्रचार प्रसारको अभावले ओझेलमा परेका छन् । रंगी विरंगी र अनौठा देखिने यस्ता लेकाली फूल तथा बोट जति सुन्दर छन् त्यतिनै औषधियुक्त गुण भए पनि पहिचान हुन नसकेकाले ले अमुल्य जडिबुटी बर्षेनी फुल्दै झर्दै खेर गएका छन् ।
विभिन्न प्रजातिका लेकालि फूलहरुको प्रचार प्रसार र पहिचानका साथै त्यहाँ पुग्न सहज बाटो निर्माण गर्ने हो भने यस्ता अनौठा र मनमोहक लेकाली फूल हेर्न र रमाउन आन्तरिक तथा वाह्य पर्यटकहरुको समेत भिड लाग्ने देखिन्छ ।
मुगु जिल्लाका यार्सा पाउने पाटनहरु र ऋणमोक्ष लगाएतका विभिन्न तिर्थस्थलहरुमा हिजोआज यत्र तत्र रंगी वीरंगी लेकाली फूलहरु मनग्य हेर्न पाइन्छ ।
भुतकेस‚ पदमचाल‚ पासनभेद‚ जटामसी लगाएत हजारौ जडिबुटीहरुका रंगी विरंगी फुलको सुन्दरताले यतिबेला पाटनमै हराउन मनलाग्छ ।
यीनिहरुको गहन अनुसन्धान गरी औषधीजन्य गुण भएका लेकाली वनस्पतिहरुको संरक्षण गर्न जरुरी भएको बुद्दिजिविहरुको राय छ ।
कविराज कार्की / मुगु ।

















