रैथाने बाली लगाइयो, अब फसलको प्रतीक्षा

काभ्रेपलाञ्चोक, १ कात्तिक : परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दैआएको रैथाने बालीको प्रवद्र्धन एवं संरक्षण गर्ने हेतुले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका खेतबारीमा अहिले त्यस्ता बाली लगाइएका छन् ।

कृषि विभागमार्फत कृषि ज्ञान केन्द्र धुलिखेलले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी रैथाने बाली विकास प्रबद्र्धन–संरक्षण कार्यक्रम सञ्चालन गरेको हो । दुवै जिल्लाको पकेट क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको रैथाने बाली जिल्ला सङ्घका अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “दुई जिल्लामा रैथाने बालीमध्ये कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको छ । हामी अब उत्पादनको प्रतीक्षामा छौँ र यिनका बजारको खोजीमा छौँ ।” उहाँका अनुसार खेतबारीमा जौ छर्न कात्तिक महिना उत्तम रहेकाले पकेट क्षेत्रका कृषकका खेतबारीमा जौ छर्ने तयारी हुँदैछ ।

पोषणका दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमी लगायतका बाली पर्दछन् । काभ्रेपलाञ्चोकमा दुई कृषक समूह तथा सिन्धुपाल्चोकमा एक कृषक समूहले तोकिएको पकेट क्षेत्रमा रैथाने बाली लगाएका हुन् । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ र चौंरी देउराली गाउँपालिका–८ तथा सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका–६ मा रैथाने बाली विकास प्रवद्र्धन कार्यक्रम शुरु गरिएको केन्द्रका बाली संरक्षण अधिकृत थर्क जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि स्थानीय कृषि प्रविधिज्ञलाई समेत आवश्यक तालीम दिइएको छ ।

रैथाने बाली प्रवद्र्धन एवं संरक्षण कार्यक्रमअन्तर्गत रैथाने बालीको बीउ निःशुल्क कृषकलाई वितरण गरिएको छ । रैथाने बाली अनुसार ८५ प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराइन्छ । उहाँका अनुसार अन्य क्षेत्रका कृषकलाई यसप्रति आकर्षण गर्न कृषि ज्ञान केन्द्र र क्लष्टरमा रैथाने बाली विकास कार्यक्रमको जानकारी बोर्ड समेत राखिनेछ ।

पोषणको दृष्टिले महत्वपूर्ण मानिएको तर, अहिले नेपाली भान्छामा कमै प्रयोग हुने गरेकाले रैथाले बालीलाई प्रवद्र्धन एवं संरक्षण गर्न यस्तो कार्यक्रम लागू गरिएको बताउनुहुन्छ, कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख डा जनार्दन खड्का । उहाँले भन्नुभयो – “लोपोन्मुख अवस्थाका रैथाने बालीलाई नयाँ कृषि कार्यक्रममार्फत प्रवद्र्धन गर्नेछौँ । यसले कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्दछ ।”

डा खड्काका अनुसार रैथाने बालीको उत्पादन बढाई बजारीकरणमा कृषकलाई सहयोग गर्न यस वर्ष कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक संरक्षण केन्द्र स्थापना गरिएको हो । यसैको माध्यमबाट लोपोन्मुख रैथाने बाली प्रबद्र्धन–संरक्षण गर्ने कार्यक्रम बनाइएको छ ।

काभ्रेपलाञ्चोकमा मात्रै मकै वार्षिक ४० हजार ८०८ मेट्रिक टन, धान १८ हजार ६८३ मेट्रिक टन, गहुँ १६ हजार ५६८ मेट्रिक टन, कोदो दुई हजार ६७३ मेट्रिक टन र फापर ५४६ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । काभ्रेपलाञ्चोक खाद्यान्नबाट आत्मनिर्भर भएको तथा खाद्यान्न स्थिति सन्तलुनमा तीन हजार ४१ मेट्रिक टन बढी उत्पादन हुने गरेको केन्द्रका प्रमुख खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रैथाने बाली प्रवद्र्धन गर्दा खाद्यान्न सन्तलुन स्थिति बढ्दै जानेछ ।

कृषि विभागले प्राङ्गारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रमअन्तर्गत रैथाने बाली प्रवद्र्धन तथा संरक्षण कार्यक्रम लागू गरेको हो । अनुसन्धान र प्रसारमा कम जोड दिइएका यस्ता बालीलाई मध्य तथा उच्च पहाडी क्षेत्रहरुमा खाद्य तथा पोषण सुरक्षाको आधार बनाउने लक्ष्य लिइएको केन्द्र प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार जलवायु अनुकूलित बाली, पौष्टिकताले भरिपूर्ण, उच्च प्रतिष्पर्धी क्षमता, मूल्य अभिवृद्धि तथा विविधीकरणको सम्भावना, बेजोड स्वाद, गुणस्तर उच्च, कृषि पर्यटन, कम लगानी, सिमान्त जमीनमा गर्न सकिने तथा ‘क्लाइमेट स्मार्ट भिलेज’ बन्ने जस्ता विशेषता रहेकाले यसको प्रवद्र्धन–संरक्षण गर्न खोजिएका हो ।

रैथाने बालीमा धान र गहुँको तुलनामा प्रोटिन र फलाम तत्व बढी हुने भएकाले यसप्रति कृषकलाई आकर्षण गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ । केन्द्र प्रमुख खड्काले भन्नुभयो – “रैथाने बाली रोपेपछि रेखदेखको खासै जरुरत पर्दैन, सजिलो छ । जुनसुकै हावापानीमा कम लागतमा पनि उत्पादन गर्न सकिन्छ ।”

कृषि विभागको तथ्याङ्क अनुसार कोदोमा २८८ मिलिग्राम क्याल्सियम तथा ४९ दशमलव २ प्रतिशत फलाम पाइन्छ भने फापरमा ६४ मिलिग्राम क्याल्सियम पाइन्छ । यस्तै, चामलमा १० मिलिग्राम क्याल्सियम र जिरो दशमलव सात प्रतिशत मात्र फलाम पाइन्छ ।

रैथाने बाली विकास कार्यक्रमलाई निरन्तरता दिन काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका अन्य स्थानीय तहसँग समन्वय गर्दै जाने योजना बनाइएको छ । विशेष गरी गाउँमा सञ्चालित होमस्टेमा रैथाने बालीको परिकार पस्कन सकिने भएकाले उनीहरुलाई कार्यक्रम समेटिने बाली संरक्षण अधिकृत जिसीले बताउनुभयो । उहाँले भन्नुभयो – “गाउँमा रैथाने बाली प्रबद्र्धन गर्न सजिलैसँग सकिन्छ । यसका लागि चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ ।”

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रैथाने बाली उत्पादन भएपछि बजारीकरण गर्न युवा कृषि मञ्च तथा समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारी संस्थाले चासो देखाउँदै आएको छ । मञ्चका अध्यक्ष जयराम सिग्देल जिल्लामा स्वस्थ एवं प्राङ्गारिक रुपमा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरण गर्न तयार रहेको बताउनुहुन्छ ।

दुई जिल्लामा रैथाने बाली प्रवद्र्धन एवं संरक्षणका लागि व्यावसायिक कृषक होमस्टे खोल्न प्रविधिज्ञको सहभागितामा केही महिनाअघि अगुवा कृषक माधवप्रसाद तिमल्सिनाको संयोजकत्वमा एक समिति पनि बनाइएको छ ।– राजकुमार पराजुली (रासस)