यसपालीको दशैं यस्तै भयो
हरेक वर्ष दशैंमा व्यापारीहरुले अन्तवार्तामा भनिरहेका हुन्छन्, यसपाली त सुख्खा छ, पोहोर यती बेला सम्म अहिलेको भन्दा डब्बल हुन्थ्यो । हुनत यो वर्षको दशैंमा खसीको भाउ घट्यो भनेर पनि आयो । ब्यापारीलाई घाटा भयो रे । तर आफन्तको निधनले दशैंभरी नुन बिनाको भात खाएर बिताउनु पर्ने अवस्थाले गर्दा आफूलाई त सिंत्तैमा दिए पनि के काम र ?
जे भएपनि यो वर्षको दशैं चाहिं कृष्ण वहादुर महरा मय भएर बित्यो । महराले दशैं प्रहरी हिरासतमै मनाए । केहि दिन अगाडी सम्म सर्वोच्च अदालतका प्रधान न्यायाधिश पछिको राष्ट्रको पाँचौं तहमा आसिन व्यक्ति रातारात आरोपितको रुपमा उपस्थित हुनु पर्दाको अवस्थामा बिताउनु पर्यो ।
उता यतीनै बेला चिनियाँ राष्ट्रपती सि जिन पिङको भ्रमण भयो । महरा स्वयंमलाई चिनतिर बढ्ता चासो राख्ने व्यक्ति भनेर चिनिन्थ्यो । केहि समय अगाडी चिनियाँ ब्यापारी सँगको टेलिफोन वार्ता निक्कै चर्चामा रहेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सि जिन पिङलाई स्वागत गर्न प्रधानमन्त्री सँगै त्रिभुवन विमानस्थलको मञ्चमा हात मिलाएर मुस्कान दिन पाउँदा महराको मनमा के बित्यो होला कसैले अनुमान गर्न सक्ला ?
महरालाई आरोपित गर्ने महिला रोशनी शाही र महरा बीचको सम्बन्ध त्यस दिनको मात्र होइन भन्ने कुरा घाम जत्तीकै छर्लंगै भइसक्यो । केहि दिन भित्रका रोशनी शाहीको बोली, ब्यवहार, भनाई, बयान इत्यादिलाई मनन गर्ने हो भने उनी एकदमै बिचलित अवस्थामा छिन् भन्ने चाहिँ पक्का छ । हिजो आइतबार मात्र पनि उनले उक्त जाहेरी प्रहरीको करले दिएको भनेर अर्को विवादास्पद निवेदन पेश गरिसकेकी छिन् ।
उनी साँच्चीकै बिरामी छिन् । पटक पटकको उनको बोली परिवर्तनले उनी ठूलो दवावमा छिन् भन्ने पनि पक्का छ । त्यसैले अब उनलाई राष्ट्रिय मानव अधिकारको संरक्षणमा कतै सुरक्षित स्थानमा अनावश्यक भेटघाट बन्द गराएर राखिनु पर्ने एकदमै जरुरी छ साथै उनको उपचार पनि सँगसँगै गरिनु पर्ने पनि उत्तीकै टड्कारो देखिन्छ ।
महरा प्रकरण पछि यस प्रकारको सम्बन्ध भएका अधिकांश नेतागण, प्रशासक, प्रहरी, सेना, ब्यापारी वा सर्वसाधारणले चाहिं अवश्य पनि यस्तो अवैध सम्बन्ध बाहिर आउन नदिन सतर्क भएर व्यवस्थापनमा विशेष ध्यान दिई रहेका होलान् । मानिसमा पावर र पैसा भए पछि के गरौं के गरौं हुँदो रहेछ अनि अवैध कामहरू गर्न प्रेरित हुँदा रहेछन् ।
रोशनी जती तनावमा छिन् महरा पनि केहि समय देखि तनावमै थिए जस्तो देखिन्छ । ’cause उनले संसद भवनमै अल्छि लाग्दो तवरले कार्यक्रम चलाउँथे । बोल्दा पनि स्पष्ट सँग बोल्न नसकेको जस्तो गर्दथे । माननीय सांसद भन्ने शब्द नै प्रष्ट भन्न नसकेको भनेर युटुवमा समेत राखिएको छ । त्यसैले एक प्रकारले भन्नु पर्दा उनलाई यो काण्ड पछाडी निर्दोष या दोषी जे देखाए पनि जनस्तरबाट यस भन्दा अगाडीको जस्तो मानसम्मान त मिल्दैन नै तर उनको निजी जीवनबाट भने टाउको दुखाई वा तनाव भने अवश्य पनि हट्ने छ ।
दशैं अगाडी पक्राउ परेका महरालाई कती मलाई मात्र देखाउँछौ भन्ने लागिरहेको थियो होला । नेकपाका कार्यकर्तालाई पनि आफूहरूको मात्र खेदो खनेको लागि रहेको थियो होला । तर, हाल आएर रौतहट प्रहरीले काँग्रेस सांसद मोहम्मद आफताव आलमलाई बाह्र वर्ष अगाडी जिउँदै दर्जनौं मानिसलाई इंटाभट्टामा लगेर जलाएर मारेको आरोपमा पक्राउ गर्यो ।
सुन्दा पनि आङै सिरिंग हुने घटनामा संलग्नताको आरोप खेपिरहेका सांसदको ’boutमा त्यतीबेलापनि आवाज नउठेको होइन तर त्यतीकै त्यसलाई ढिसमिस पारियो । अहिले आएर बिभिन्न सञ्चार माध्यमबाट आएको जानकारी अनुसार आलमको राजनीति भारतीय चलचित्रमा देखाइने खलनायक पात्रको चरित्र सँग ठ्याक्कै मिल्ने देखिन्छ । उनको गाउँमा प्रहरी समेत जान डराउने भने पछि सम्झनुस् त्यो तहको परिस्थितीको निर्माण गराउन सक्नु भनेको चानचुने कुरा होइन ।
समाजसेवा गर्ने राजनीतिज्ञमा यस्तो अपराधीपनलाई ढाकछोप गर्न शेरवहादुर देउवा र कृष्ण सिटौलाले अति हतार गरेर मुखै खोलिदिए । विश्व प्रकाश शर्माले जती पटक पार्टीको लिखित धारणा नै आधिकारीक धारणा हो भनेतापनि नेपाली जनता त्यती मुर्ख छैनन् पहिलेको जस्तो सबै कुरा हुबहु पत्याउने । आखिर लिखीत जे भएता पनि उनको मुख बाट निस्केको बोली नै मनको बोली हो । मनमा त अर्कै रहेछ नी ।
यी एक दुई वटा घटना होइन, नेपाल अधिराज्यभरीमा कमसेकम एक हजारवटा यस्ता नकारात्मक, जघन्य र कानूनले बर्खिलाप गरेका घटनाहरूलाई बाहिर ल्याएर दोषि जत्ती सबैलाई कानूनको कठघरामा ल्याउने कोशिष गरौं अनिपो तपाईंहरुको जय जयकार हुन्छ, र तपाईंहरुले राजनीति गरेको पनि सुहाउँथ्यो ।
बरु यदि यो घटना टुँगोमा पुर्याउन सफल भइदियो भने अहिले सम्म कसैले हात हाल्न नसकिरहेको अवस्थामा रौतहट प्रहरीका एसपी भुपेन्द्र खत्री जनतामाझ नेता भन्दा ज्यादा लोकप्रिय हुने पक्का छ । यदि उनले खुट्टा कमाएरनन् भने र कसैको दवाव मा परेनन् भने उनी प्रहरी भित्रको कुलमान हुने छन् । गृहमन्त्री र प्रधानमन्त्री पनि यसमा अवश्य जानकार हुनु भएकै होला, उनीहरूको स्वीकृत पाएर नै प्रहरीले हात हालेको हुनु पर्छ । कृपया यो केश चलुन्जेल, जताबाट जती नै दबाव आएता पनि, कमसेकम रौतहटका प्रहरीहरूलाई सरुवा गर्नतिर नलागिदिनु होला । यातायातका महानिर्देशक लाई त रघुबीर महासेटले कति फेर्नु भयो भयो । सिण्डिकेट हटाउन अहोरात्र खट्ने महाप्रबन्धकलाई समेत सरुवा गराउनु भयो ।
सबै पार्टी, तह र तप्काका नेताजीहरू तपाईहरू मान्नुस् तपाईहरुको गलत आचरणका कारणले सायद इतिहासमै नेताहरूको छवी अती नै तल्लो तहमा झरेको छ । तपाईहरूलाई विश्वास नलागे देखि यो भ्रम चिर्न कसैले पनि नचिनिने गरेर मास्क र चुच्चे टोपी लगाएर एकछिन काठमाण्डौको सडकमा जानुस्, मिनेट मिनेटमा लखर लखर यताउता भौंतारिरहेका नेताहरु साईरन बजाउँदै दौडिरहेको देखिहाल्नु हुन्छ, त्यतीबेला उसलाई त्यहाँ गाली नगर्ने व्यक्ति कोहि हुँदैनन्, गाली गर्न मुखै खोलेको हुनु पर्दैन, आँखा र भावभंगिले पनि जनाउँछ, घृणा र तिरस्कारले पनि जनाउँछ, मनमनै पनि अभिव्यक्त गरिरहेको हुन्छ, भलै उसैलाई भोट दिने भोटर नै किन नहोस् ?
अन्तमा, नेतालाई त हामी गाली गर्न माहिर छौं । हामी जनतापनि किन सुध्रिन नसकेको होला ? सि जिन पिङ आउँदा काठमाण्डौमा केहि दुबो टाँसियो, केहि फूल रोपियो, केहि गमला सिंगारियो, बिभिन्न जनावरका आकृती भएका माटोका मुर्तिहरू राखियो, शहरलाई रातारात आकर्षक बनाइयो । तर बिडम्बना, त्यसलाई स्याहार संभार गर्नु पर्ने राजधानीका चेतनशिल व्यक्ति भएर पनि जोगाउन प्रहरी नै खटिनु पर्ने ? धिक्कार छ त्यस्ता नागरिकलाई, आखिर ती संरचनाहरूमा लागेको खर्च तपाईं हाम्रै करबाट तिरिएको पैसाबाट गरिएको हो भन्ने किन नबुझ्नु भएको होला ? जसरी हामी शहर स्वच्छ, शुन्दर, सफा भनेर सम्बन्धित निकायलाई गुहारि रहेका छौं भने रातारात भएको यस प्रकारको कार्यलाई सक्दो जोगाउनु पर्नेमा उल्टो पहरेदारको आँखा छलेर भएपनि बिगार्नै पर्ने कस्तो अनौठो अभ्यास गर्दै छौं ? देश हाम्रो हो भन्ने बुझौं ।