डम्फु बजाउनेहरुको देश

भानुभक्तले अलकापुरी कान्तिपुरी नगरी देखेको मुलुकलाई देवकोटाले सुन्दर, शान्त र विशाल देखे । त्यतिखेर अलकापुरी थियो र त त्यही देखे, त्यही लेखे । सुन्दर, शान्त र बिशाल पनि थियो र त्यही लेखे । गलत र फट्याइँ गरेनन् । तर अब एकाइसौं शताब्दीमा त्यस्तो कहाँ देख्न पाउनु र नदेखेको कुरा लेख्ने जाँगर कसरी चल्नु ?


अहिले त्यही मुलुक विल्कुलै अर्को भा छ । फरक । पृथक । अलग्ग । अब न अलकापुरी रह्यो न त सुन्दर, शान्त र विशाल नै । त्यसको सट्टामा चिन्नै नसकिने, बुझ्नै नसकिने र बनाउनै नसकिने हेर्नै नसकिने र बस्नै नसकिने मुलुक पो बन्यो । त्यसो त जो पनि आउँछन् बनाउँछु भनेर आउँछन् र जानेबेलामा आफू मजासँग बनेर जान्छन् । बनाउँछु भनेर आएका मध्ये कोही सिंगापुर बनाउँछु भन्छन् कोही जापान र बेलायत बनाउँछु भन्छन् । शायद कोही त सिक्किम र भुटान बनाउँछु भनेर मनमनै अठोट पनि गर्दा हुन् । सबैभन्दा पछि आउनेले त अमेरिकाको पेन्टागन बनाउँछु समेत भने । अमेरिका बनाउँछू भन्नलाई त्यो आँट र क्षमता भएन होला अनि पेन्टागन भए पनि बनाउँछु भने । आखिर बनाउँछु भनेर पनि त पुग्ने हो नि । कसले बनाएको नबनाएको हिसाब राखेको छ र ?
आहा ! कति राम्रा विचारहरु हुँदा रहेछन् नेपालीहरुका । राम्रै हो, बिगार्छु भनेर अहिलेसम्म कोही आएका छैनन् । बनाउँदिनँ भनेर झन कोही आएकै छैन । जो आएका छन् वा जो आउँछन् बनाउँछु भनेर नै आएका छन् । बनाउँछु भन्नेको लर्को देख्दा धन्य छ नेपाल भन्न मनलाग्छ ।
अलकापुरीमा अचेल अलका छ छैनन् बरु अलकत्रै अलबत्राले भरिएको छ । सिमेन्टै सिमेन्टले जोडिएको छ । धूलैधूलो र धुँवैधुँवाले पोतिएको छ । कोलाहल र होहल्लाले भरिएको छ । कान्तिपुरी भ्रान्तिपुरी भएको छ । सुन्दर नगरी सुरसा भएको छ । शान्त शहर र गाउँ कुरुक्षेत्र बनेको छ । विशाल ठाउँमा त्यसका पाप्राहरु मात्र छन् ।


एकातिर हत्या र हिंसा मच्चिरहेछ । अर्कोतिर शान्ति र सुरक्षाको लागि वादविवाद चलिरहेछ । शान्ति र सुरक्षाको भने कहीँ अत्तोपत्तो छैन र त बहादुर नेपालीहरु त्यसका लागि काटाकाट गरिरहेछन् । अखबारहरुमा बलात्कार, लूट हत्या आतङ्कको खबर भने छरपष्ट छ । मानवअधिकारको कुरा कतै उठाइएको छ भने कतै त्यसलाई बडो गौरवका साथ खुलेआम कुल्चिएको छ ।


सुन्दर देश हिंसाले छियाछिया भएको छ । शान्त देश हत्या र अपहरणले आतङ्कित बनेको छ । बलात्कारले चिथोरिएको छ । तस्करीले निचोरिएको छ । अलकापुरीमा अलकाहरुको बेचविखन किनबेच छ । देशभक्तहरु पाखा लागिरहेछन् । विदेशभक्तहरु काखा भइरहेछन् ।


अचेल मुलुकमा भानुभक्तहरु छैनन् । देवकोटाहरु छैनन् । सिद्धिचरणहरु छैनन् । सिद्धिदासहरु, चित्तधरहरु माधव घिमिरेहरुलाई अचेल सम्झंदैनन् । तिनलाई भन्दा बढी गिरिजाप्रसाहरुलाई सम्झन्छन् कृष्णप्रसाद शेरबहादुरहरुलाई सम्झछन् । ओली, माधव नेपाल, बामदेव, प्रचण्ड र बाबुरामहरुलाई सम्झन्छन् । अहिले मुलुकमा यिनीहरुकै त जगजगी छ । तर यी मध्ये कसैका हातमा पनि कलम छैन । भएको भए मुलुक भानुभक्तले देखेका भन्दा अझ सौम्य, स्निग्ध, र आल्हादकारी नगरी बन्थ्यो होला अलकापुरी । देवकोटाले सोचेको भन्दा अझ बढी सुन्दर, शान्त र विशाल हुन्थ्यो होला मुलुक । तर दुर्भाग्य ! यिनीहरुको हातमा कलम छैन । ती कलमको भाषा बुझ्दैनन् र त्यसको कदर पनि गर्दैनन् ।


यस्ता महान् नेताहरुको हातमा अहिले मुलुक छ । मुलुकको बागडोर छ , मुलुकको ढुकुटी छ । मुलुकको आरएनसी छ, खोलानालाहरु छन् । ’emको हातमा भानुभक्त र देवकोटाका झैं कलम नभएर के भो ! अरनिकोको झैं सुन्दर शिल्प बुन्ने ज्यावल नभएर के भो ! किसान र ज्यामीहरुले बोक्ने हलो–कोदालो, खर्पन, डोको र नाम्लो नभएर के भो ! सबभन्दा महत्वपूर्ण कुरा त तिनका हातमा कमिशन र तस्करीका अनेकन बाटाहरु छन् । सुटकेश र ब्रिफकेशका चाङहरु छन् । साथमा चारण, भाट र टट्टुहरु छन् ।


रोम जलिरहँदा त्यहाँको शासक मज्जाले बाँसुरी बजाइरहेथ्यो रे ! अब नेपालीहरुले घरि घरि त्यो उदाहरण सम्झिरहनु परेन । यहीँं पनि थुप्रै नीरोहरु भइसके एकसेएक सम्झनलायक । जो मज्जासँग बाँसुरी मात्र होइन, तबला, हारमोनियम, मादल, धिमे, मेच टेबुल माइक जे जे भेटियो त्यही बजाउन खप्पिस छन् र बजाइरहेका पनि छन् । देश हत्या र हिंसाको आगोमा जलिरहेछ । यहाँका नीरोहरु भने आ– आफ्नै डम्फु बजाइरहेछन् । कोही गणतन्त्रको राग अलापिरहेछन् कोही एकतन्त्रको जप गरिरहेछन् । कोही संविधान खारेजीको मन्त्र फुकिरहेछन्, कोही राजालाई फर्काउन लागि परिरहेकाछन् ।


अब गा¥हो छ मुलुक बुद्धको देश भनेर चिनिन । अब कठिन छ हिमाल र खोलानालाहरुको देश भनेर चिनिन । पशुपति र मन्दरहरुको देश भनेर चिनिन । के थाहा भोलिपर्सिदेखि यो मुलुक बुद्धको होइन, बन्दुक र बारुदको हो भनेर चिनिएला ! सुन्दरता र सभ्यताको शहर होइन जंगल र जंगलीहरुको हो भनेर नचिनिएला भन्ने के छ !


अहिले भानुभक्त र देवकोटाहरु नभएको ठीकै भयो । कम्तीमा तिनले अलकापुरीको दुर्गति र सुन्दर, शान्त र विशाल मुलुकको दुर्गति र विकृति भोग्नु परेन , हेर्नुपरेन । नीरोहरुको नयाँ संस्करणलाई बेहोर्नु परेन ।