ब्यूह

ध्रुव मधिकर्मी

त्यहाँ केही खासखुस कुरा चलिरहेको थियो । बाहिर भित्तासँग कान जोडेर एकजना मान्छे भित्रको कुरा सुन्ने तरखर गर्दै थियो । राम्रोसँग सुनिएन क्यारे । ऊ अझ कानलाई तिखार्नेतर्फ लाग्यो । भेद पाउनको लागि भित्ता चढ्ने प्रयास गर्न थाल्यो ।


उसलाई शंका थियो कि कुरा उसैको ’boutमा भइरहेको हुनुपर्छ । हुनसक्छ कुनै प्रपञ्च रचिरहेको होस् ।


यस्तैमा कतैबाट एउटा काग आएर उसको कान थुत्यो र भाग्यो । शुरुमा त उसले कुनै चाल पाएन । जब कहीँबाट पनि एक थोपा आवाज सुनिएन तब मात्र उसले कान लगेको कुरा चाल पायो । यस कुरामा उसलाई धेरै आश्चर्य लाग्यो किन कसैले पनि यो भनेन कि कागले कान लग्यो ।

जब उसले कागको पछि पछि दगुर्ने सुरसार कस्यो । तबसम्म काग निकै पर पुगेर बेपत्ता भइसकेको थियो ।

तैपनि उसले कागलाई चिनेरै छोड्यो ।