यन्त्रको प्रयोगमा अत्याधीक अरुची

भर्खरै दशैं तिहार सकिएको छ । त्यसैले कुरा तासकै गरौं । हामी नेपालीहरू विशेष गरी साथी भाई वा आफन्त सँग जमघट हुँदा स्वस्थ मनोरञ्जनको लागि तास खेल्छौं । पिकनिक जाने भन्योकि तास खेलाडीको टिम खडा भइसक्छ, त्यसैगरी दशैं तिहारको कुरा चल्योकि कत्तिको खेलियो भनेर सोधिहालिन्छ । यस्तो बिशुद्ध मनोरञ्जन सँग जोडिएको खेललाई बिभिन्न मानिसहरूले जुवाको रुपमा बाह्रै महिना बिभिन्न प्रकारका अखडाहरूमा दिनभरी रातभरी गैरकानूनी रुपमा खेल्ने र खेलाउने धन्दा एकातिर छँदै छ भने अर्को तिर बिभिन्न तारे होटल देखि अन्य ससाना मनोरञ्जन स्थल सम्मले स्वीकृती नै लिएर क्यासिनोको रुपमा खेलाउँदै आएका छन् ।


यसै प्रसंगमा हालै नेपाली बजारमा चिनियाँ तास भेटिएको खबर सनसनी पूर्ण रुपमा आयो । उक्त तास एक किसिमले भन्ने हो भने कुन बिरोधीको हातमा कुन पत्ती छ र कसले जीत्दै छ भन्ने ज्ञान आफू सँग भएको अतीनै सुक्ष्म आकारको यन्त्र मार्फत थाहा पाउन सकिने प्रकारको रहेछ । सुरक्षाको दृष्टिकोणले अहिले आएर यो अतीनै संवेदनशील विषय बन्न पुगेको छ । नेपाल प्रहरीलेनै यस प्रकारको तास र यसलाई भित्र्याउने व्यक्तिलाई समातेर प्रदर्शन गरिसकेको छ ।
चिनियाँ ह्याकरहरूले एटिएम लुटेको घटना घटेको ताजा रहेकै अवस्थामा अब चिनियाँ तासको नयाँ लफडाले सुरक्षा चुनौती थप प्रश्न चिन्ह खडा भएको छ ।


विश्व अहिले ठूला मिसाइलबाट हुने हानी भन्दा यस्ता ससाना डिजिटल डिभाइस वा साईबर आतंक मार्फत हुने हानीको जोखिम रोक्न असमर्थ भइरहेको छ । अमेरिकी चुनावताका डोनाल्ड ट्रम्पलाई जिताउन रसियाको यस्तै प्रकारको डिजिटल वा साईबर सम्बन्धी कारणलाई औंल्याउनेहरू पनि प्रशस्त छन् ।


खैर, अब हामी विश्वको चिन्ता गर्न छाडेर आफ्नो देशको चिन्ता गर्न थालौं । चिनियाँ ह्याकरहरूले पैसा लुटिसकेका थिए खाली लान मात्र सकेनन् । यदि लगेको भए ? अझ सतहमा नआएको ससाना रकम त कति विदेशी र नेपालीहरूले नै लुटेर लगिसकेका होलान्, कति लाँदै होलान्, कति लाने योजनामापनि हुन सक्छन् । अब हाम्रो ध्यान यसरी हुने हरेक प्रकारका अनैतिक कार्य वा गैर कानूनी कार्यलाई असफल बनाउने र त्यस्ता अपराधीहरूलाई समात्न मद्दत पुर्याउने खालको हुनु पर्छ ।


हाम्रो मुलुक सानो र गरिब छ । हामी सँग लँडाई गर्ने हतियार र सवारी साधन चाहे ती जमिनमा गुड्ने हुन् वा आकाशमा उड्ने हुन् ती सबै कि त विदेशीले चन्दा स्वरुप दिएका छन् वा केहि रकम खर्च गरेर सिमित सँख्यामा मात्र खरिद गरेका छौं । परिणाम स्वरुप आज भारतले आँखै अगाडी सिमा मिच्दा, लिपुलेक, कालापानी, लिम्पियाधुरामा सैनिक राख्दा समेत पनि हामी भने न त त्यहाँ सैनिक पठाएर युद्ध गर्न सक्छौं न त विज्ञानका कुनै चमत्कार गरेर उनीहरू सँग लड्न नै सक्छौं । काठमाण्डौ र देशका केहि भुभागमा बसेर बिरोध सभा गर्नु बाहेक तत्काल प्रतिरोध गर्न सकिरहेका छैनौं । यसको सहि समाधान वार्ता र कुटनैतिक तहमा मात्र समाधान सम्भव छ भनेर आकाशको फल ताकेर बस्न बाध्य छौं ।


यी सबैको तात्पर्य हामीले अब आफ्नो ध्यान साईबर सुरक्षातीर केन्द्रित गर्नै पर्छ । यो भनेको अहिलेको विज्ञान तथा प्रविधिको युगमा बैज्ञानिक तरिकाका ससाना विद्युतीय डिभाइसहरू वा चिप्स लेवलका साधनहरूको निर्माण गरेर आफ्नो देशलाई हर प्रकारका चुनौती सँग सामना गर्न सक्ने बनाउँदै विश्व बजारमा पनि यसको मागलाई आपूर्ति गर्नतिर लाग्नु ढिलो गर्नु हुँदैन ।


यसको लागि न हामीलाई एकडका एकड जमिन चाहिन्छ, न हजारौं संख्यामा कामदार चाहिन्छ, न त त्यतीधेरै पुँजीको नै आवश्यकता पर्दछ । हामीले पहिले देखि सुन्दै आएको शब्द हो सफ्ट्वेयर, हो यो सफ्ट्वेयर लाई हार्डवेयरमा हालेर गरिने कामनै साईबर सम्बन्धी वा इन्टरनेट सम्बन्धी वा चिप्स सम्बन्धी काम हो । जसको मद्दतले आज विश्वमा जती पनि चुनौतीहरू छन् त्यसको सामना गर्न सक्छौं भने विभिन्न प्रकारका उपकरणहरूको निर्माण पनि गर्न सक्दछौं ।


एउटा सानो कोठामा एक वा एकजना भन्दा बढ्ता जनशक्ति बसेर कम्प्युटरको माध्यमद्धारा गर्न सकिन्छ । अहिले नेपाली विद्यार्थीहरू विश्वभर अध्ययन गर्न भनेर जाने गरेका छन् । विशेष गरेर भारत, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरिया, चाइना, युरोपका विभिन्न मुलुक लगायत संसारभरीनै फैलिएका छन् । उनीहरू मध्ये अधिकांश आईटि पढ्न भनेर गएका छन् । नेपालमै पनि यो विषय पढ्नेको कमी छैन । आईटिको यस्तो थामिनसक्नु मोहलाई हामीले कहाँ प्रयोग गरेका छौं ? कहिले सोचेका छौं ? केहि सफ्ट्वेयर कम्पनी, बैंक, सुरक्षा निकाय जस्ता सिमित क्षेत्रमा जागिर दिनु बाहेक ती व्यक्तिहरू बाट प्राप्त गर्न सक्ने असिमित क्षमतालाई उपयोग गर्नु पर्ने होइन ? खैत जागिर भन्दा अनुसन्धानमा लगाउन सकेको ?


हाम्रो आँखै अगाडी कसैले दुर्घटना गराउँछ र ऊ भाग्न सक्यो भने समाउनै सकिंदैन । प्रहरी कार्यालयले भन्छ सिसिटिभी नभएकोले खै थाहा पाउनै गाह्रो भएको छ । अहिलेको युगमा पनि प्रहरी व्यक्ति वा अपराधीको पछाडी भागरे समाउने चलन छ देशमा खै प्रविधिको प्रयोग ? ठूलो श्वरमा नागबेली पारेर आएको बाइकले अरुलाई आतंकित पारेर सुँइकुच्चा ठोकिरहेको हुन्छ, नजिकको ट्राफिक प्रहरी हेरेको हेरेई हुन्छ अगाडीको स्टेशनलाई त्यती कुराको जानकारी पनि दिन असमर्थ हुन्छ । किन ? ’cause ऊ सँग मोबाइलफोन बाहेक अर्को कुनै बिकल्प हातमा हुँदैन । मोइबाइल फोनमा अगाडीको स्टेशनमा बस्नेको नम्बर पनि त नहोला ? हो यस्तै प्रयोजनको लागि हो नयाँ र सजिलो प्रविधिहरूको उत्पादन र प्रयोग ।


यहाँका संस्थाहरू पनि किनहो यस्ता प्रविधि प्रति आकर्षित नै छैनन् । अरु ठूलो र नयाँ कुराको त के कल्पना गर्नु ट्राफिक लाईट बिग्रेर राजधानी जस्तो ठाउँमा जताततै हातको इशाराले सवारी साधनलाई बाटो देखाईरहेका ट्राफिक प्रहरी हेर्दा सम्बन्धीत निकाय वा नेपाल कती पछाडी परेको छ प्रविधीमा भन्ने कुराको कल्पना गरौंन । म प्राय गइरहने बैंक इन्भेष्टमेण्ट बैंक पनि हो । यहि बैंकमा हो पहिले पनि चाइनिज ह्याकर भन्दा पहिले काला र गोरा ह्याकरहरूले एटिएम लुटेका थिए ।

अहिले यसको लाजिम्पाट शाखा बाहेक कतै पनि एउटा टोकन मेशिन पनि राखेको देखेको छैन । नयाँबानेश्वरमा जानुस् घण्टौं उभिएर लाईन लाग्नुस्, बत्तिसपुतली जानुस् त्यस्तै हालत, पुतली सडक जानुस् त्यहि नियम । कसरी जाबो त्यती पुरानो टोकन सिस्टम को एउटा मेशिन समेत जडान गर्न नसक्ने बैंकले फेरि वर्षै पिच्छे नम्बर एकको अवार्ड पाउँछ ? अचम्म छ । हिमालय बैंकको बानेश्वर शाखामा भएको मेशिन पनि बिगारेर त्यहि तरिका अपनाएको देख्न सकिन्छ ।


बिरामी, जसको अंगभंग भएको त देख्न सकिन्छ तर प्रेशर, सुगर वा ज्वरो जिउ दुख्ने, हातगोडा दुख्ने जस्ता अथाह रोग लागेका व्यक्तिले कसरी त्यो लाईनमा बसेर आफ्नो कारोबार गरेर उक्त बैंकलाई धनी बनाइरहेका छन् भन्ने दृष्टान्त मात्र दिएको हुँ । यो त हरेक निकायमा छ, अब कुरा गरेर साध्य छैन ।


अन्तमाः आँखै अगाडी चाइनिजले आफुले जित्ने तास बनाइसक्दा पनि हामी चाहिं त्यो सुनेर वा देखेर हाँसेर मात्र कहिले सम्म बस्ने ? प्रविधि, त्यसमा पनि सूचना प्रविधिको अत्यधिक निर्माण र प्रयोग गरौं । देशलाई सुरक्षित पनि बनाऔं, सहज पनि बनाऔं अनि धनी पनि बनाऔं । नेपाल सरकार र सम्पूर्ण सम्बन्धीत निकायले यतातिर ध्यान दिन किन कञ्जुस्याँइ गरिरहने ?