खेस्माल्नी भगवतीको पुजा आराधना

मुगु जिल्लाको खत्याड गाँउ पालिकास्थित गम्थामा पर्ने प्रशिद्द धार्मिक तिर्थस्थल खेस्माल्नी देवीको हरेक बर्ष जनै पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । करिव ३ हजार ७ सय मिटरको उचार्इमा अवस्थित सो तिर्थस्थलमा जुम्ला, कालीकोट, बाजुरा‚ हुम्ला र मुगु जिल्लाका थुप्रै तिर्थालु भक्तजनहरु निकै कष्ट सहेर मेलामा सहभागि हुने गर्छन् ।

  मुल थान गम्थाको डुङ्ग्री गाँउ बाट धामी डाँग्री र पुजारी सहितको टोली जनै पुर्णिमा अर्थात साउन पुनिको अघिल्लो दिन त्यस तर्फ जाने परम्परागत प्रचलन रहेको छ । मागेको वर मिल्ले धार्मिक जनविश्वासका कारण हरेक बर्ष तिर्थालुहरु कठिन र ठाडो उकालो बाटो हिडेर पवित्र तिर्थस्थल खेस्म पुग्ने गर्छन ।

स्थानिय भाषामा खेती नामले चिनिने धान रोपेको खेत जस्तै देखिने प्राकृतिक दृश्य र पुजारीको टोलीले शंख घण्ट लगायतका बाजा बजाए पछि निष्किने धरम पानीका कारण खेस्माल्नी भगवतीलार्इ अलौकिक शक्ति भएकी देवीका रुपमा चिन्ने गरिन्छ । खेस्माल्नी भगवतीलार्इ बाजुरा स्थित बढीमालीका देवीकी बहिनीका रुपमा लिनुका साथै नव दुर्गा भवानी मध्येकी एक बहिनी समेत भएको धार्मिक किम्वदन्ति छ ।

तिर्थ जाँदा पुजारी लगाएत धामी डाँग्रीहरु खाली खुट्टा हिडनु पर्ने र कतिपय टाँउहरुमा दौडिनु पर्ने परम्परागत प्रचलन रहेको छ । तिर्थालुहरु इच्छित वर प्राप्त हुने आषा र जन विश्वासका कारण लेकलाग्ने समस्या र असहज यात्रा लार्इ पनि सहज रुपमा लिने गरेका छन् ।

खेस्मालीका भगवतीको जति धेरै शक्ति र महत्व छ त्यतिनै यीनको प्रचार प्रसार हुन नसकेको   स्थानियवासी थुर्व बुढथापा बताउछन् ।

 खेस्मालीका भगवतीको दर्शन र मेला भर्न आएका तिर्थालुहरु रातभर स्थानिय देउडा खेल पुजा पाठ लगाएत धार्मीक क्रिया कलाप गरि सके पछि टाढा टाढा बाट आएका यात्रुहरु पुर्णिमाको दिन उज्यालो नहुदै पुजारीको टोलि भन्दा अगाडि नै फर्कने प्रचलन रहेको छ ।

खेस्माल्नी देवीको महत्व विस्तारै फेलिदै गए पछि बर्षेनी तिर्थालुहरु बढदै जान थालेकाले  धर्मशाला अपुग हुनुका साथै पशु चौपायाहरुले मन्दिर आसपासका रंगी विरंगी लेकाली फूल नोक्सान पुर्याए पछि  वरिपरीको सुन्दरतामा कमी आएकाले यस तर्फ सम्बन्धित पक्षले ध्यान पुर्याउनु पर्ने तिर्थयात्रीहरुको गुनासो रहेको छ ।