मन्त्रीको दौरामा लागेको दाग

पहिलो पटक लगाएको दौराको कालो दाग मेटाउने हो कि गृहमन्त्री ज्यू ? दागी हुनलाई त केही मेहनत नै गर्नु पर्दैन तर बेदागी बन्नलाई ठूलो मेहनत, परिश्रम, अनुशासन र धैर्यता जरुरि हुन्छ ।

यो पटक दौरा सुरुवाल फेरि चर्चामा छ । चर्चा हुनुको कारण कहिल्यै दौरा सुरुवाल नलगाउने महान क्रान्तिकारी नेता राम बहादुर थापा दौरा सुरुवालमा साग गेम उदघाटन समारोहमा भाग लिन पुगे । राज्यको औपचारिक पोशाक दौरा सुरुवाललाई सामन्तवादको प्रतीक र द्योतक सम्झने कम्युनिस्टहरुमा दौरा सुरुवाल तिरस्कार र मोह दुवै अचम्मको छ । कोही कम्युनिस्ट दौरा सुरुवालबिना आफ्नो रास्ट्रिय अडान फितलो ठान्छन भने कोही कम्युनिस्ट दौरा सुरुवाल लगायत विगत देखि राज्यले औपचारिक रुपमा घोषणा गरेको पोशाक बहिष्कारलाई क्रान्तिकारीता देख्छन ।

विरोधाभाषपूर्ण स्वतन्त्रता अबलम्बन गरेर कम्युनिस्टहरु चलेका छन् जसको उदाहरण हो प्रचण्ड दुई पटक प्रधानमन्त्री बन्दा र बाबुराम प्रधानमन्त्री हुदा राज्यको औपचारिक पोशाकमा सजिन चाहेनन् । जैसा गुरु उइसा चेला भने झैँ, त्यस्तै पात्र हुन् रामबहादुर थापा पनि । गृहमन्त्रीको पद बहाली गर्दा पनि दौरासुरुवाल लगाउन नमानेका थापाले, चिनिया रास्ट्रपतिको नेपाल भ्रमणमा सबै मन्त्रीले प्रधानमन्त्रीको आदेश सिरोपर गर्दा दौरासुरुवाल लगाउन इन्कार गरेर राम बहादुर थापाले आफ्नो क्रान्तिकारीता जोगाएका थिए तर साग खेलकुदको उदघाटन समारोहमा भने दौरा सुरुवालमा ठाटिएर राज्यको औपचारिक पोशाकलाई पहिलोपटक सम्मान गरे । राज्यको औपचारिक पोशाकलाई गरिएको सम्मान अन्यथा होइन तर त्यो पोशाक खेलकुद रकमबाट, भनौ खेलकुदका खेलाडीको भाग मोसिएर किनिएको कारण चै यसले चर्चाको शिखर छोयो ।

राम बहादुर थापाले पहिरेको दौरा सुरुवालमा खेलाडीहरुको रगत, पसिना र आँसुको दाग थियो, उनले लगाएको दौरा सफेद देखिन्थ्यो तर त्यहाँ खेलाडीहरुका दुखका बाछिटाले त्यो भिजेको थियो । त्यसैले चर्चा र निन्दा त्यतिबेला चुलियो जतिबेला राज्यले दिने पोशाकबाट खेलाडी बन्चित बने, समयमा खेलाडीहरुको पोशाक तयार भएन, खेलकुद सामग्री उपलब्ध भएन, कतिपय खेलाडीहरु अनौपचारिक पोशाकमा मार्च पास गर्न जानु पर्यो, कतिपय खेलाडीले, साथीको थोत्रो पोशाक मागेर स्पर्धामा होमिनु पर्यो, शुटिंग राइफल पडकिएनन ? भारतीय र पाकिस्तानी खेलाडीसँग मागेर चलाउनु पर्यो । साइक्लिंग गर्न थोत्रो साइकल प्रयोग गर्नु पर्यो । तर उच्च पदस्तमन्त्री सहितका पदाधिकारीहरुलाई नीतिगत निर्णय भनेर चालीस जनालाई राज्यकोष अर्थात् खेलकुद रकमको दुरुपयोग गर्दै दौरा सुरुवाल, कालो कोट, कालो टोपी, जुत्तामोजा समयमै उपलब्ध गराइयो । यो निन्दनीय यस कारण भयो कि रास्ट्रको लागि खेल्ने खेलाडीहरु भोकै नांगै थिए र पनि अघाएको सन्तुस्ट आत्मवल देखाएर खेलकुदमा भिडे  । तर शक्ति र सत्ताको मोज मार्नेहरु ढाडिएर पनि भोकै देखिए । लज्जास्पद भएर प्रकट भए ।

हुनत मन्त्रीहरु सुकिला दौरा सुरुवाल लगाउछ्न, टल्किने कालो जुत्ता र त्यस्तै टोपीमा ठाटीन्छन तर त्यो सुकुमार छविमा कालो धब्बा र लोभलालचको गन्ध स्पस्ट देखिन्छ । त्यो यस पटक पनि देखियो । सवाल मन्त्री खेल पदाधिकारीहरुले सहुलियत लिनु हुन्न होइन, सबाल हो खेलाडीलाई अत्यावश्यक खेलकुद सामग्री, पोशाक, डाइट, न्युनतम जीवन निर्वाह भत्ता नदिएर, भोकै प्यासै खेलाएर आफूमात्रै मोजमस्ती गर्नु र राज्य धनलाई, राज्य श्रोत र साधनलाई आफ्नो पेवा सम्झेर लज्जास्पद, हास्यास्पद देखिनु । खेल र खेलाडीको लागि अत्यावश्यक सामग्रीको अभाव हुन नदिएर राज्य श्रोतबाट सम्बन्धित पदाधिकारीहरुले दौरा सुरुवाल लगाउदा खासै ठूलो क्षति र हानी राज्यलाई हुन्थेन, सामान्य आलोचना र व्यक्तिको नैतिकताको प्रश्न मात्रै हुन्थ्यो तर खेलाडीलाई पिडित बनाएर जाबो दौरा सुरुवालको रकममा र्याल काढ्नु चै अपराध र राज्य माथिको पापकै रुपमा लिन सकिन्छ । खराब नियत र गलत मानसिक प्रवृतिको रुपमा बुझ्न सकिन्छ ।

 मन्त्रीहरुले लिएको दौरासुरुवाल ’bout सामाजिक संजाल लगायत पत्र पत्रिकामा लामो फेहरिस्त अनि आलोचनाको पारो यति बढ्यो यो जाडोमा खेलाडीहरु मात्रै तातेनन सर्वसाधारण मन्त्री र पदाधिकारी माथि बेस्कन खनिए। जसको कारण दुई मन्त्रीहरु, पररास्ट्र मन्त्री प्रदीप ज्ञवाली र सन्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले आफुले दौरासुरुवाल नलिएको र लिएको भए प्रमाण पेश गर्न चुनौती दिएको पढ्न पाइयो तर एक दुई जनाले लिए लिएनन, त्यो व्यक्तिको नैतिकता र इमानको कुरा रह्यो, तर राज्यले नीतिगत रुपमा नै निर्णय गरेर खेलाडी भन्दा पदाधिकारीलाई चै सुबिधा सम्पन्न बनाउने नीति नियम, पद्दति र प्रचलन गलत हो त्यो निन्दनीय हुनुपर्छ, सुधारिनु पर्छ ।

यहाँ व्यक्तिको कुरा गौण र राज्यले लिएको नीति प्रमुख भएर आयो । नीतिगत बन्दोबस्त्ती गलत देखियो ।राज्यलाई अत्याधिक भार दिएर उच्च पदस्त सुशोभित हुने तर रास्ट्रका वास्तविक गहना चै खालि खुट्टा, खाली शरीर  र खाली पेट बस्नुपर्ने यो कस्तो समता र सभ्यता हो ? राज्यश्रोतलाई आधिकारिकता दिएर नीतिगत निर्णय गराएर भ्रस्टाचार गर्ने अखडा बनाउन मन्त्री, उच्च पदस्त कर्मचारी सबैको रङ्गीन एकता हुन्छ । अनाधिकृत काम गर्न नैतिकता बाधा बन्दैन, नैतिकता इमान र जवाफदेहिता कतै कुनामा बन्धकी राखेर राज्यश्रोतको दोहन गर्न हाम्रा पदाधिकारीहरु तँछाड, मछाड गरेर दौडन्छन जब कुरा बिग्रीसक्छ दुनियाँले सब बेलिबिस्तार थाह पाउछन तब झस्कन्छन र भन्ने गर्छन अन्जानमा भयो, जानाजान होइन त्यस्तै उदाहरण एक वर्ष पहिले नेकपाका चर्चित यूवा नेता योगेसले दिए । योगेस काठमाडौँमा घर भएका सर्वहारा पार्टीको राजनीति गर्ने यूवा नेता हुन् तर संसद सदस्यलाई दिएको घरभाडा यिनले पनि लिए र विवादमा आए, जब विवाद आयो तव बच्ने उपाय खोजे बैंक ब्यालेन्स आफुलाई थाह छैन, संसद सचिवालयका कर्मचारीले घरभाडा पनि हालिदिएछ्न अब थाह भयो फिर्ता गर्छु । कति सजिलो उपाय छ आफू बच्ने ? कर्मचारीलाई दोष दियो उम्कियो । आफ्नो व्यक्तिगत बैंक खातामा कति रकम छ कसले राखिदियो किन राखिदियो त्यो ’bout अनभिज्ञता के योगेशहरुलाई सुहाउने योग्यता हो ? कुनै ब्यापारी, भ्रस्टाचारमा संलग्न व्यक्तिले योगेशहरुको खातामा पैसा, नजरानाको रुपमा राखिदिए भने त्यो आफूलाई थाह नभएको बहाना गरेर छुटकारा लिन मिल्छ ?

 नेताको योग्यता आफू के हु, कहाँ छु, मेरो हैसियत के छ ? आफ्ना आयश्रोत र आर्जनका माध्यम के हुन ? बैंक ब्यालेन्स सहि छ या छैन त्यो जान्ने बुझ्ने हो कि होइन ? छ कि छैन ? राज्यको मूल नीति बनाउने थलोमा बसेर संसद सदस्यको सेवा सुविधा’bout मलाई थाह छैन, जान्दिन भन्नु कति लाजमर्दो विषय हो । हामीले अति भरोशा र आशा गरेका, बिद्यार्थी कालदेखि राजनीति गरेर लोकप्रिय भएका उच्च पठित  व्यक्तिको यो परिस्थिति र अवस्था छ भने अरु संसदको के हाल होला यो उदाहरणको लागि हो व्यक्तिगत आग्रह र बदनाम अभिस्ट होइन ।  हेक्का नराख्नु पर्ने कुराको ठेक्का लिएर हिड्दै गर्दा हेक्का राख्नुपर्ने विषयको खासै हेक्का राख्दैनन हाम्रा पदाधिकारीहरु त्यसैले पल पल खवरदारी र सचेतता अनि अनुरोध आवश्यक पर्दछ ।

खेलाडीहरु राष्ट्र जोडने सेतु हुन्, भावनाका समथर भूभाग हुन, रास्ट्रिय एकता र सद्भाव अनि अनुशासनका प्रतीक हुन ।हिम्मतका अग्ला अग्ला पहाड हुन् । आस्था र विश्वासका स्निग्ध सेता हिमालय हुन् । राज्यका उन्नत गहना हुन, साहस ,उर्जा र सौर्यका अटल बिम्ब हुन देसको माया छातीमा राखेर देसको लागि खेल्ने वीर योद्दा हुन । खेलाडीहरुको विशेस सम्मान, देखभाल , वृति विकास यथोचित प्रबन्ध राज्यको कर्तव्य हो । खेलाडी रुवाएर, यिनलाई भोकै नांगै राखेर, रास्ट्रको लागि योगदान दिन लगाउन सकिन्न । रास्ट्रको श्रीवृद्दीको लागि पनि खेलाडीलाई निर्भयताका साथ खेल खेल्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व पनि हो । रास्ट्रका लागि खेल, खेलका लागि जीवन समर्पण गर्ने थुप्रै प्रतिभा देशमा छन तिनलाई खोजी खोजी सम्मान गरेर खेलकुदले राष्ट्रलाई दिने सानको कदर गर्नुपर्छ ।

देशको औपचारिक पोशाक दाग रहित हुनुपर्छ, हिलोमैलो र दाग लागेको पोशाक मन्त्रीले जान अन्जान लगाउन मिल्दैन । दौरा सुरुवालको इज्जत देशको अस्मिता र मर्यादासँग जोडिएको हुन्छ । राष्ट्रको औपचारिक पोशाकको सम्मान यसलाई धारण गरेर मात्र हैन यसको गरिमा अनुसारको चरित्र र ब्यबहार प्रदर्शन गरेर गर्नुपर्छ । चरित्र च्युत बनेर पोशाक धारण गरेर मात्रै हुदैन, व्यक्तिको चरित्र राष्ट्रका उच्च पदस्त कर्मचारी प्रशासक खेल प्रेमी पदाधिकारी सबैको उत्तिकै हुनुपर्छ तब मात्र देशको इज्जत उज्यालो हुन्छ । पहिलो पटक लगाएको दौराको कालो दाग मेटाउने हो कि गृहमन्त्री ज्यू ? दागी हुनलाई मेहनत गर्नु पर्दैन तर बेदागी बन्नलाई ठूलो मेहनत, परिश्रम, अनुशासन र धैर्यता जरुरि हुन्छ । दागी पोशाक लगाउनेहरुले दाग रहित इज्जत देखाउन अथक मेहनत परिश्रम र योगदान गरेर दाग हटाउन प्रयत्न गरुन ।