को होला नयाँ सभामुख: नेम्वाङ,गुरुङ कि सापकोटा ?

काठमाडौं । हिउँदे अधिवेशनको सुरुदिनमै प्रतिनिधि सभाले नयाँ नेतृत्व पाउने कुरा निश्चित भए पनि नेतृत्वमा को आउने भन्ने चैं स्पष्ट भैसकेको छैन । जननिर्वाचित संसद्को महत्वपूर्ण सदनको नेतृत्व आफैंमा शक्तिको केन्द्र मानिन्छ । अहिले त्यो सम्मानित नेतृत्वमा आशन जमाउन सत्तारुढ दलभित्र ठूलै दौडधुप भैरहेको बुझिन्छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र नै सभामुखमा चयन हुने एकथरी बताउँछन् भने भर्खरै कार्यकारी अध्यक्षको भूमिका सुरु गरेका पुष्पकमल दाहालले पूर्व माओवादीबाट आफू निकटस्थ नेतालाई सभामुख चयन गर्न प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको अर्काथरीको भनाई छ ।
सत्तारुढ दलभित्रको दौडमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ अग्रपंक्तिमा रहेको बताईन्छ । दुइ–दुइ पटक संविधान सभाको अध्यक्ष र सभामुखको समेत भूमिकाको अनुभव सँगालिसकेका नेम्बाङ प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिन्छन् । पूर्व एमालेभित्र नेम्बाङको विकल्पमा अरु नेता अग्रसर भएको देखिँदैन पनि ।
दोस्रो संविधान सभाको अध्यक्षको निर्वाचनपछि नेम्बाङ चुनिएपछि वधाई दिँदै गर्दा प्रचण्डल सशर्त वधाई दिँदैे– ‘सुवासजी तपाईंलाई सतर्कतापूर्वक समर्थन गर्दै वधाई दिईरहेको छु’ भनेर असन्तुष्टि प्रकट गरेको सम्झन्छन् केही पूर्व माओवादी नेताहरु । उनीहरुका अनुसार, नेम्बाङलाई फेरि संसदको नेतृत्वमा पठाउन प्रचण्ड सितिमिति तयार हुने छैनन् । आन्तरिक सत्तामा हुने पावर शेयरिङमा सहमति जुटेमात्र नत्र प्रचण्डले देव गुरुङ या अग्नि सापकोटाको पक्ष लिनेछन् । तर सभामुख चयनको बिषयमा ओली नै निर्णायक हुने एक नेताले दावी गरे ।
हिउँदे अधिवेशन आव्हान भैसकेको छ । अब यो अधिवेशनको पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय हुनेछ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको आज केन्द्रीय समितिको बैठक बस्दैछ । कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने’boutमा पनि छलफल गरी एउटा निर्णयमा पुग्ने सम्भावना रहेको बताईन्छ ।
यता, उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि आफैंलाई सभामुखमा समर्थन जुटाउन कम्मर कसेर दौडधुमा छिन् । उनको सक्रियताले कति काम गर्छ त्यो नेतृत्वको निर्णयमा भर पर्ने कुरा हो । उपसभामुखमा प्रमुख प्रतिपक्षलाई स्थान दिनुपर्छ भन्ने सिध्दान्तलाई नेकपा नेतृत्वले आत्मसात गर्यो भने तुम्बाहाम्फेलाई अरु नै अवसर दिएर सभामुखमा नयाँ नेतालाई चुन्ने सम्भावना पनि देखिन्छ ।
तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजिनामा नगराई नेकपाले सभामुखको उम्मेदवारी दिन पाउने छैन । संविधानको धारा ९१ (२) ले सभामुख पुरुष भए उपसभामुख महिला, सभामुख जुन पार्टीको छ उपसभामुख फरक दलको हुनुपर्छ भन्ने व्यवस्था गरेको छ । उपसभामुख तुम्बाहाम्फेले पहिलो बैठक संचालन गर्ने हो भने उनको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु पर्ने हुन्छ । संसद्को इतिहासमा कार्यव्यवस्था समितिको अध्यक्षता उपसभामुखले गरेको रेकर्ड छैन ।
पुस ४ गते संसद् बैठक बस्ने भएपछि पुस ३ गते वा ४ गते बिहान कार्यसूची तय गर्न कार्यव्यवस्था बोलाउनुपर्ने हुन्छ । यसमा भएको सहमतिबमोजिम बैठकको कार्यसूची तय हुनेछ । सभामुखको पद रिक्त रहेको अवस्थामा सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले पहिलो बैठकमै सभामुखको निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्नुपर्नेछ र अर्कोदिन निर्वाचन अधिकृतले निर्वाचनका कार्यक्रम प्रकाशित गर्नेछन् ।
निवर्तमान सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पदमुक्त भएर अहिले कारागारमा छन् । उनी दण्डित भएपछि संसदको अधिवेशन पनि भएको छैन ।सरल पत्रिका
