तस्विरमा राष्ट्रिय गौरवको आयोजना


शव्द/तस्विर : शम्भु गौतम
दोलखा : बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ९७ काम प्रतिशत सम्पन्न भएको पनि झण्डै २ वर्ष बितिसकेको छ । पेनस्टक पाइप जडानको कार्यमा भएको ढिलाइले गर्दा समग्र आयोजना सम्पन्न हुन नसकेको हो ।

स्वदशी लगानीको यो आयोजनाको काम ४ लटमा विभाजन गरी निर्माण भैरहेको छ । लट २ को हाइड्रोमेकानिकल अन्तर्गतको पेनस्टक पाइप जडानको काममा आएको व्यवधानले सम्पूर्ण आयोजना नै प्रभावित बनेको हो । आयोजनामा माथिल्लो र तल्लो दुईवटा ठाडो सुरुङहरु छन् । ३७३ मिटरको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको कार्यमा तुलनात्मक रुपमा प्रगति देखिए पनि ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यमा अझै सन्तोषजनक कार्य हुन सकेको छैन ।

करिब १ वर्षको लगातारको प्रयासपछि दुबै ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम गत असार १ गतेबाट सुरु भएको हो । माथिल्लो र तल्लो ठाडो सुरुङमा सँगै काम सुरु भए पनि तल्लो सुरुङमा १७० मिटर पाइप जडान गरिसक्दा माथिल्लो सुरुङमा ७२ दशमलव ५ मिटर मात्रै पाइप जडान सकिएको छ । तल्लो ठाडो सुरुङमा एउटा पाइप जडान गर्न औसत ७ दिन लागेको छ भने माथिल्लो सुरुङमा एउटा पाइप जडानमा औसत ९ दिन लागेको छ । तल्लो पेनस्टक साफ्टको काम तुलनात्मक रुपमा कठिन मानिन्छ । तल्लो पेनस्टकमा ५ मिटर लम्बाइका २८ टनका पाइप झारेर जोड्नुपर्छ भने माथिल्लो पेनस्टकमा राखिने पाइपको तौल १८ टन मात्रै छ । पछिल्लो समयमा माथिल्लो पेनस्टकको काममा केही सुधार आएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।



तल्लो पेनस्टकको काम एन्ड्रिज हाइड्रोले गरिरहेको छ भने माथिल्लो पेनस्टकको काम भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले गरिरहेको छ । दुबै पेनस्टकको काम टेक्सम्याकोको जिम्मेवारी भए पनि उस्ले काममा ढिलाइ गरेपछि तल्लो पेनस्टकको काम सहमतीमै एन्ड्रिज हाइड्रोलाई दिइएको हो ।

आयोजनाको सुरुङ, विद्युत्गृह र बाँधस्थलको काम करिब सम्पन्न भएको छ । प्रसारण लाइन र सवस्टेसनको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाको अन्य सबै काम करिब सम्पन्न भए पनि पेनस्टकको कामका कारण आयोजना ढिला भएको प्रवक्ता न्यौपानेले बताए । आगामी असार मसान्तसम्म पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने आयोजनाको लक्ष्य रहेको पनि उनले बताए । तर आगामी पुस मसान्ततिर मात्रै आयोजनाले पहिलो युनिटबाट विजुली बाल्न सक्ने आयोजनाका एक अधिकारी बताउँछन् ।



आयोजना सकेसम्म चाँडो सकाउन नेपाल विद्युत प्राधिकरण र प्रधानमन्त्री कार्यालय समेत लागिपरेको छ । आयोजनामा प्राधिकरणका एमडी कुलमान घिसिङले अनुगमत गरिरहेका छन् भने प्रधानमन्त्री कार्यालयले आयोजनाको कामको निरीक्षणको लागि आयोजनाको गोँगरस्थित कार्यालयमा र बाँधस्थलमा सीसी क्यामेरा नै राखेको छ । यसबाट प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने गरेको छ ।

२०६७ भदौबाट आयोजना निर्माण कार्य सुरु भएको र २०७२ जेठ मसान्तमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने सुरु लक्ष्य रहे पनि विभिन्न कारणले निर्माण ढिलाइ भएको थियो । २०७२ सालको विनासकारी भूकम्प र भारतीय नाकाबन्दीले आयोजना निर्माणलाई झनै पछाडि धकेलिदियो ।

दोलखा जिल्ला विगु गाउँपालिका १ को लामाबगरमा निर्माण भैरहेको राष्ट्रिय गौरवको यो आयोजनाको जडित क्षमता ४५६ मेगावाट छ । सुरु लागत ३५ अर्व २९ करोड भनिए पनि निर्माण अवधिको व्याज बाहेकको लागत ४९ अर्व २९ करोड पुग्ने प्रक्षेपण छ ।