दोलखामा भ्रमण वर्षको आकर्षण किवी महोत्सव (फोटो फिचर)
नेपाल भ्रमण वर्ष २०२० लाई आकर्षक बनाउन दोलखामा किवी महोत्सवको आयोजना गरिएको छ । नेपालमा पहिलोपटक किवीफल खेती गरिएको दोलखामा आयोजित यो महोत्सव पनि पहिलो हो ।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले किवीको विरुवामा मल र पानी हालेर महोत्सवको उद्घाटन गरेका हुन् । एक हप्तासम्म चल्ने महोत्सवमा जिल्लाभरिका किसानहरुले किवीफलका स्टलहरु राखेका छन् ।
नेपाल मै पहिलो पटक दोलखा जिल्लामा व्यवसायिक रुपमा खेती गरिएको किवी फललाई पहिचान दिन किवी महोत्सवको आयोजना गरिएको हो । भीमेश्वर नगरपालिकाले भ्रमण वर्षलाई स्वागत गर्न दोलखा सदरमुकाम चरिकोटमा किवी महोत्सवको आयोजना गरिएको बताएको छ । दोलखालाई पर्यटकीय जिल्लाको रुपमा चिनाउने उद्दश्यले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर किवी महोत्सवको आयोजना गरिएको हो ।
दोलखा जिल्लाभरका किवी कृषकहरुले स्टलमा किवी फलका साथै किवीबाट बनेका जुस, जाम तथा लस्सीहरु राखेका छन् । महोत्सवमा आएका आगन्तुकहरुलाई उनीहरु किवी फल, जुस, जाम तथा लस्सी चखाउने गरेका छन् ।
किवी फलका साथै महोत्सवमा अन्य स्थानीय फलहरु पनि राखिएका छन् । दुई दर्जनबढी स्टलहरुमा जिल्लाका विभिन्न घरेलु उत्पादनहरुसमेत राखिएका छन् ।
दोलखा जिल्लामा पहिलोपटक २०४३ सालताका लामोसाँगु जिरी सडक निर्माणको क्रममा आएका स्विस नागरिक इन्जिनियर जेएफ मेस्सीले किवी फल ल्याएका थिए । सदरमुकाम चरिकोटस्थित श्याम खड्काको घरमा लगाइएको किवीको बोट नै नेपालको पहिलो हो । त्यही किवीबाट खड्काले २०५८ सालदेखि व्यवसायिक खेती गर्न थालेका हुन् । दोलखामा मुख्यगरी हेवार्ड, एलिसन तथा मोन्टी जातका किवी लगाउने गरिएको छ ।
अहिले दोलखा जिल्लामा करिब ४५० हेक्टरमा किवी खेती गरिएको छ । जिल्लामा यो वर्ष करिब ४५० मेट्रिकटन किवी उत्पादन भएको र ३०० मेट्रिकटन बढी किवी बजारीकरण भएको किवी जोन दोलखाका प्रमुख मोहनप्रसाद खतिवडाले जानकारी दिए । – शव्द÷तस्विरः शम्भु गौतम