दोलखामा हिमपातसँगै पर्यटकको चहलपहल सुरु

दोलखा : दोलखा जिल्लाका डाँडाकाँडाहरुमा हल्का वर्षासँगै भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
जिल्लाका कालिन्चोक क्षेत्र, शैलुङ, खरिढुङ्गा, चेर्दुङ लगायतका क्षेत्रमा हिमपात भएपछि सदरमुकाम चरिकोटमा निकै चिसो बढेको छ । दोलखा सदरमुकाम चरिकोटमा पनि हल्का वर्षा भएसँगै चिसो बढेपछि मानिसहरु चोकचोकमा आगो बालेर बस्न बाध्य भएका छन् ।
पर्यटकीय क्षेत्र कालिन्चोकमा भारी हिउँ परेपछि पर्यटकहरु उत्साही भएका छन् । हिउँ पर्दै गर्दा पर्यटकहरु पनि आउने क्रम बढेको कालिन्चोकस्थित होटल सुनापातीका सञ्चालक हरि ओलीले जानकारी दिए । उनले कालिन्चोकका होटलहरु प्याक हुन थालेको बताए ।
कालिन्चोकमा हिउँ पर्दापर्दै पुगेका काठमाडौँ निवासी राजेश्वर नकर्मीले हिमपातको लाइभ दृश्य देख्न पाउँदा रमाइलो भएको बताउँछन् ।
दोलखा भएको यो हिमपात यो वर्षको दोस्रोपटक हो । काठमाडौँ–चरिकोट सडकमा केही सुधार भएपछि दोलखा आउने पर्यटकहरुको संख्या केही बढेको छ । कालिन्चोक लगायत दोलखाका डाँडाकाँडाहरुमा हिमपात सुरु भएपछि काठमाडौँ लगायतका स्थानहरुबाट हिउँ खेल्न आउनेहरुको संख्या पछिल्लो वर्षदेखि निकै बढ्न थालेको छ । कालिन्चोक भगवती मन्दिरको आधार शिविर कुरीमा निकै सुविधाजन होटलहरु बनेकोले त्यस क्षेत्रमा जाने पर्यटकहरुको संख्या बढ्न थालेको हो । – सम्भु गौतम








