दोलखाको शैलुङमा हिउँको मज्जा
शव्द/तस्विरः शम्भु गौतम
दोलखा, माघ ११
हिमपात भएको एक सातापछि पनि दोलखाको शैलुङमा उत्तिकै हिउँ छ र हिउँमा रमाउनेहरुको घुइँचो पनि ।
एक सयभन्दा बढी अग्ला थुम्काहरुले बनेको सुन्दर शैलुङ हिमपात भएपछि झनै मनमोहक देखिन्छ । झण्डै १८० डिग्रीमा देखिने हिमलहरले त्यहाँ पुग्ने जोसुकैलाई लोभ्याउने गर्दछ ।
पहिलोपटक शैलुङ पुगेका ललितपुर गोदावरीका मोहनबहादुर बस्नेत शैलुङको सौन्दर्यले लठ्ठै पारेको बताउँछन् । प्राकृतिक सौन्दर्यका हिसाबले नेपालकै महत्वपूर्ण पर्यटकीयस्थल बन्न सक्ने शैलुङमा पूर्वाधारहरुको व्यवस्था गर्नुपर्ने उनको धारणा छ । शैलुङको आधारबस्ती ढुङ्गे र कालापानीसम्म राम्रो मोटरबाटो र होटलहरुको व्यवस्था गरिदिए मात्रै पनि शैलुङ दोलखाको उत्कृष्ट गन्तव्य बन्ने उनी बताउँछन् ।
भिजिट नेपाल २०२० का लागि प्राकृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण गन्तव्य शैलुङ हुनसक्ने दोलखाका प्रहरी प्रमुख रेवतीरमण पोखरेल बताउँछन् । आफू पहिलोपटक शैलुङ पुगेको र यहाँको सौन्दर्यले मन छोएको उनले बताए ।
सत्यश्वर मावि पवटीका विद्यार्थीहरुको टोली लिएर शैलुङमा हिउँ खेल्न गएका शिक्षक शैलुङ ८ का बद्री खत्री पनि हिउँ खेल्न पाउँदा निकै रमाइलो भएको बताउँछन् । विद्यार्थीहरुले पहिलोपटक शैलुङमा हिउँ खेल्न पाउँ अत्यन्त खुशी लागेको बताए ।
शैलुङ पुग्नका लागि राजधानीबाट काठमाडौँ–जिरी सडकको मुडे बजारबाट बाघखोर हुँदै एक सय २५ किलोमिटरको मोटरयात्रा तय गरी कालापानी पुग्न सकिन्छ । कालापानीबाट करिब ४५ मिनेटको हिँडाइमा शैलुङ पुग्न सकिन्छ । त्यसैगरी दोलखा सदरमुकाम चरिकोटबाट महाङ्काली मन्दिर हुँदै ४३ किलोमिटरको यात्रा गरी डेढ घण्टामा कालापानी पुग्न सकिन्छ । कालापानीबाट शैलुङ जानका लागि सिँढी बनाइएको छ ।
सुन्दर शैलुङको टाकुरामा अहिले भ्युटावर र छोर्तेन निर्माण गरिएको छ । शैलुङ टाकुरो आफैँमा भ्युटावर भएकोले यहाँ बनेको टावरले सौन्दर्य भन्दा कुरुपता थपेको त्यहाँ पुग्ने पर्यटकहरुको समेत धारणा छ । त्यसमा पनि पानीको स्रोत विना टावरमा बनाइएको शौचालयले दुर्गन्ध समेत थपेको छ ।