कर्तव्य पालना नगर्नेले अधिकार खोज्न मिल्दैन : डा. रामकण्ठ माकजू श्रेष्ठ


काठमाडौँ विश्वविद्यालय सिनेटको आजको बैठक विशेष प्रकृतिको रहेको छ ’cause आजको बैठकले गर्ने निर्णयले काठमाडौँ विश्वविद्यालयको र नेपालकै शिक्षा क्षेत्रको भविष्यमा दूरगामी असर पर्नेछ । हामीले आज गर्ने निर्णयको प्रभाव हेरेर भविष्यमा हाम्रो मूल्याङ्कन गरिने भएकाले यो बैठक हाम्रा लागि चुनौतीपूर्ण पनि छ ।

काठमाडौँ विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी, बन्द र हड्ताल भइरहेको छ । केही प्राध्यापक र कर्मचारीहरूले विभिन्न माग राखी ४० दिनसम्म उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गर्नुभयो । उहाँहरूसँग कार्यकारी परिषद्बाट गठित वार्ता समितिले सम्झौता ग¥यो । त्यही सम्झौताअनुसार धेरै कार्यहरू अघि बढाइए । तर सम्झौताको पूर्ण रूपमा कार्यान्वयन भएन भनेर फेरि अन्य कार्यालयहरू पनि बन्द गराइयो ।

अहिले पनि विश्वविद्यालय बन्द नै छ । विद्यार्थीहरूको पढाइ रोकिएको छ । यही कारणले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर खल्बलिन लागेको छ । सेमेस्टर प्रणाली धरासायी भएर समयमा पढाइ नसिद्धिने, परीक्षा नहुने, नतिजा ननिस्कने र समयमा दीक्षान्त समारोह नहुने समस्या आउन लागेको छ । त्यसबाट विश्वविद्यालयको विश्वसनीयतामा नै असर पर्नेछ । आजको सभामा यिनै विषयहरूमा छलफल गर्नुपर्नेछ ।

विश्वविद्यालय बन्द गराएपछि मैले यस विषयमा गम्भीरतापूर्वक निकै विचार गरेँ । हामीले कस्तो संस्था बनाउन खोजेका छौँ त ? यस विषयमा धेरै चिन्तन र मन्थन गरेँ । छलफलमा प्रवेश गर्नुअघि म यहाँ मेरो भनाइ तीन बुँदामा भन्न चाहन्छु ।

बुँदा नम्बर १ : संस्था

पहिलो हो– संस्था । केही नभएको धुलिखेलको नाङ्गो डाँडोमा डा. सुरेशराज शर्माको प्राज्ञिक समूहको अतुलनीय परिश्रमबाट विभिन्न समुदायको सहयोगमा भिन्न तरिकाको विश्वविद्यालय बन्यो । आवश्यक भौतिक संरचना खडा भए ।

म अस्ट्रियाबाट फर्केपछि हामी पनि त्यसैको नजिक धुलिखेल अस्पतालको निर्माण गर्नतिर लाग्यौँ । हामीसँग इच्छाशक्ति मात्रै थियो, त्यसैको बलमा काम सुरु ग¥यौँ ।

काठमाडौँ विश्वविद्यालय समुदायको आस्था र विश्वास बोकेको संस्था हो । सुरुदेखि नै यस संस्थाले सरकारको अभिभावकत्व पायो । नयाँ काम गर्न खोजेको छ भनेर सहयोग पनि पायो । यो विश्वविद्यालय राम्रो भयो भने सहयोगी सबैको इच्छा साकार हुन्छ । बिग्रियो भने सहयोगी दाताहरूमाथि ठूलो धोका दिएको ठहरिन्छ ।

काठमाडौँ विश्वविद्यालय फरक ढङ्गले स्थापना र सञ्चालन भएको विश्वविद्यालय हो । यो स्थापनाको उद्देश्य थियो–
– प्राविधिक क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्न,
– नयाँ–नयाँ विषय सिर्जना गरेर पाठ्यक्रममा समावेश गराई सम्बन्धित विषयका प्राध्यापक तयार पार्न,
– सेमेस्टर प्रणालीलाई दुरुस्त लागू गर्न,
– विकसित देशमा रहेका विश्वविद्यालयहरूको समकक्षता प्राप्त गरी विदेशी संस्थाहरूसँग सम्बन्ध र सहकार्य गर्न, र
– सरकारसँग मात्र निर्भर नभई आफैँले स्रोत–साधन जुटाउन

यस विश्वविद्यालयले स्थापनाकालदेखि नै गरेको प्रयत्न र पाएको सफलता नेपाल र नेपालबाहिरका लागि पनि उदाहरण बनेको छ । प्राविधिक क्षेत्रको मध्यमस्तरीय जनशक्ति उत्पादन गर्नका लागि पनि यसले योगदान पु¥याइरहेको छ । पछिल्लो चरणमा यस विश्वविद्यालयले विज्ञान–प्रविधिसम्बन्धी ज्ञान र त्यसको कार्यान्वयनका क्षेत्रमा झन् ठूलो फड्को मारेको छ । विश्वविद्यालयमा हुनुपर्ने गुणहरू यस संस्थाले देखाइरहेको छ ।

हामीले संस्थालाई दिगो राख्नु, गतिशील बनाइराख्नु र यसको उचाइ थप्दै लैजानु आवश्यक छ । काठमाडौँ विश्वविद्यालयलाई विश्वस्तरको संस्था बनाउने हाम्रो अभिलाषा हो । हाम्रा अहिलेसम्मका क्रियाकलापहरूबाट त्यो सम्भव हुन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

विगत एक वर्षको मात्रै लेखाजोखा गर्ने हो भने पनि– गत वर्ष विद्यार्थी भर्नाको दर विश्वविद्यालयकै इतिहासमा उच्च रहेको थियो । स्नातकोत्तर तहका धेरैवटा नयाँ कार्यक्रमहरू सुरु गरिएको छ ।
झन्डै ३ हजार सीट क्षमताको कन्भेन्सन हलको निर्माण कार्य यसै वर्ष पूरा हुनेछ । त्यसमा राष्ट्रिय स्तरकै कार्यक्रमहरू गर्न सकिनेछ । नाम चलेका विश्वस्तरीय विश्वविद्यालयसँग प्रशस्त सहकार्य भइरहेको छ ।

पुरातात्विक सम्पदाको जगेर्ना गर्ने क्रममा त्रिपुरासुन्दरी मन्दिरको पुनर्निर्माण गरिँदैछ । त्यो कार्य अन्तिम चरणमा पुगेको छ । ऊर्जा क्षेत्रमा हाइड्रोपावरमा पनि यो संस्था संलग्न भएको छ । कोइकासँगको सहकार्यमा नेसनल टेक्नोलोजी इनोभेसन सेन्टर नामको राष्ट्रिय केन्द्रको शिलान्यास केही हप्तापछि नै हुँदैछ । कोरियाको आर्थिक सहयोगमा विभिन्न ल्याबहरूको निर्माण र केही ल्याबहरूको स्तरोन्नति गरिँदैछ ।

बेल्जियमको ब्रिजिन फाउन्डेसनसँग १२ करोड अमेरिकी डलर बराबरको सहयोगका लागि हालसालै सहमति भएको छ । मानव संसाधनमा क्रमिक सुधारहरू गर्दैछौँ । गत वर्ष मात्रै ५० जनाजति शिक्षकलाई पदोन्नति गरिएको छ भने ३ दर्जनजति कर्मचारीलाई पदोन्नति र स्थायी गरिएको छ । हालै मात्र पनि आन्तरिक खुला प्रतिस्पर्धा गराइँदैछ । प्राध्यापक र कर्मचारीको मोबिलिटी बढेको छ ।

नाट्यसम्राट बालकृष्ण समको निवासलाई केयू—सम सेन्टरका रूपमा विकसित गर्ने सम्झौता भई छिटै नै काम सुरु हुन लागेको छ । पाँचखाल नगरपालिकामा ५ सय रोपनी जग्गा प्राप्त गर्ने कार्य झन्डै अन्तिम चरणमा पुगिसकेको छ ।

एक वर्षभित्रका यी केही उदाहरणहरूबाट पनि विश्वविद्यालय कुन गतिमा अघि बढिरहेको छ भन्ने कुरा प्रस्ट हुन्छ । काठमाडौँ विश्वविद्यालयको गरिमा र इज्जतसँग हाम्रो देशको गरिमा र इज्जत गाँसिएको छ । विश्वविद्यालय बलियो भयो भने मात्रै हामी पनि बलियो बन्न सक्छौँ ।

बुँदा नम्बर २ : संस्कार

दोस्रो कुरा हो– संस्कार । विश्वविद्यालय संस्कार बसाउने र सिकाउने थलो पनि हो । हामीले सिकाएका कुरा नै विद्यार्थीहरू सिक्छन् । उनीहरूलाई असल संस्कार सिकाउन हामीले पनि असल चरित्र बोक्नैपर्छ । हामीले आफूभन्दा पछिल्ला पुस्तालाई असल संस्कार सिकाए मात्रै उनीहरू देशका लागि सुयोग्य नागरिक बन्नेछन् ।

काठमाडौँ विश्वविद्यालयबाट के लिने भन्ने कुराले होइन, काठमाडौँ विश्वविद्यालयलाई के दिने भन्ने कुराले हाम्रो आचरणलाई प्रस्ट्याउँछ । आफू र आफ्नो स्वार्थभन्दा माथि राखेर संस्थाका विषयमा सोच्ने संस्कार पनि हामीलाई चाहिएको छ । मैले यसलाई मेरो मूल मन्त्र नै ठानेको छु ।

कुनै पनि प्राज्ञिक वर्गले अवसर खोज्ने होइन, अवसर त आफैँले सिर्जना गर्ने हो । विश्वविद्यालयलाई कर्मकर्ताको थलो बनाउन लाग्नुपर्ने हो । यस विश्वविद्यालयका संस्थापकहरूले पनि आफैँले अवसर सिर्जना गर्नुभएको हो । लिन मात्रै खोजेर देशलाई केही दिन नखोजेको भए यी संस्थाहरू बन्ने थिएनन् ।

बुँदा नम्बर ३ : सोच

अब म मैले सोचेको तेस्रो बुँदामा आउँछु । तेस्रो बुँदा हो– स्वयम् आफैं । म कस्तो छु, मेरो कर्तव्य के हो, मेरो अधिकार कति हो, मैले संस्थाको हितका लागि काम गरेको छु कि आफ्नो हितमा संस्थालाई प्रयोग गरेको छु, यस कुरामा पनि हामी प्रष्ट हुनैपर्छ ।

संस्थामा बस्ने हो भने संस्थाको हित हुने काम गर्नैपर्छ । संस्कार सिकाउने हो भने आफू पनि संस्कारवान हुनैपर्छ । संस्थामा बसेर संस्कार सिकाउन खोज्ने हो भने कर्तव्य पालन गर्नमा ध्यान दिनैपर्छ ।
कर्तव्य र अधिकार आपसमा जोडिएका हुन्छन् । कर्तव्यले अधिकार जन्माउँछ । कर्तव्य पालन नगर्ने व्यक्तिसँग अधिकार खोज्ने नैतिकता नै रहँदैन । अधिकार मात्रै खोज्ने तर कर्तव्यको वास्ता नगर्ने प्रवृत्ति विश्वविद्यालय र विद्यार्थीका लागि घातक हुन्छ । यस्तो प्रवृत्ति बढ्दै गयो भने देशले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

सबैले आ–आफ्नो ठाउँमा बस्नुपर्छ र आफ्नो क्षेत्रको कर्तव्य पालना गर्न चुक्न हुँदैन भनेर सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यूले पनि हामीलाई बारम्बार भन्नुभएको छ । हो, डाक्टरहरू बिरामीकै साथमा हुनुपर्छ । प्राध्यापकहरू विद्यार्थीहरूकै साथमा बस्नुपर्छ । कर्मचारी वर्गले पनि सेवाग्राहीलाई सेवा दिनैपर्छ । यो उनीहरूको कर्तव्य हो ।

हामी काठमाडौँ विश्वविद्यालयभित्र संस्थाका लागि दिन खोज्नेहरूको जमात बढाउन खोजिरहेका छौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालका बीचमा बलियो साझेदारी गरेर उदाहरणीय कार्य गर्न हामीले खोजेका थियौँ । यी दुई संस्थाको साझेदारीलाई नमुना नै मानिएको छ । यस्तो सहकार्यको मूल मर्मलाई अझ बलियो बनाउन पनि हामी कस्सिएका छौँ ।

हाम्रा पनि कमजोरीहरू होलान् । ती कमजोरीहरूलाई संस्थागत विकास गर्ने क्रममा सुधार्दै जानुपर्छ र नमिलेका कुरालाई मिलाउँदै जानुपर्छ । कसैको सानो कमजोरी छ भने त्यसैलाई समातेर चुनौती दिन मिल्दैन । कैयौँ मान्छेहरूको आस्था, विश्वास र भरोसा हामीले बोकेका छौँ, त्यसलाई भत्काउन हुँदैन । हामी पारदर्शिताका लागि कटिबद्ध छौँ, पारदर्शी छौँ र जुनसुकै निकायबाट छानबिन गरिए पनि सहयोग गर्न तत्पर छौँ ।

काठमाडौँ विश्वविद्यालय शैक्षिक गुणस्तरलाई उच्च प्राथमिकता दिएर सबैको पहुँचमा गुणस्तरीय शिक्षा पु¥याउन र अनुसन्धानमुखी कार्यक्रमका माध्यमबाट शिक्षा क्षेत्रमा लगानी जुटाउन प्रयत्नशील छ । हालसम्मका हाम्रा क्रियाकलाप र अनुभवबाट सिकेर हामीले हाम्रो संस्था एवं देशलाई विश्वमा चिनाउनुपरेको छ ।

काठमाडौँ विश्वविद्यालयलाई नमुना बनाउन सक्यौँ भने मात्र यस्ता विश्वविद्यालय अरू पनि बन्नेछन् । यो संस्था असफल भयो भने भविष्यमा नयाँ संस्था बनाउने आँट गर्न कठिन पर्छ । विभिन्न अवरोधका कारणबाट यो विश्वविद्यालय असफल भयो भने विश्वविद्यालय मात्रै असफल भएको मानिदैन, देश नै असफल भएको मानिन्छ ।

हरेक समस्यामा लचकता अपनाउने काम गरेर हामीले ठीक गरिरहेका रहेनछौँ भन्ने कुरा विगतको अनुभवले देखाइसकेको छ । जहिलेसुकै पनि तत्कालीन समस्यालाई मात्रै सम्बोधन गर्ने बानी परिसकेकाले दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने परिपाटी हामीले विकसित गराउन नसकेका हौँ । समस्यालाई टालटुल पार्ने हाम्रो व्यवहार हाम्रै लागि घातक छ ।

हामीले समस्यालाई जरैदेखि उखेलेर फाल्नुपर्छ र फेरि–फेरि तिनै समस्याहरू दोहोरिरहने वातावरणको अन्त्य गर्नुपर्छ । त्यसका लागि हामीले तत्कालीन समस्यालाई पनि समाधान गर्दै दीर्घकालीन समाधानको बाटो बनाउनुपर्छ ।

भीडतन्त्र हावी भएर डर र धम्कीको संस्कार बसाउने परिपाटीले सबै प्रकारका भौतिक, शैक्षिक र सामाजिक संरचनाहरू भत्किन जान्छन् । लोकतान्त्रिक ढङ्गले, विधिसम्मत रूपमा, प्रक्रिया पूर्ण गरेर मात्रै कुनै पनि समस्याको समाधान गर्न सकिन्छ ।

(काठमाडौँ विश्वविद्यालय सभाको प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार बसेको विशेष बैठकमा उपकुलपति प्रा. डा. माकजू श्रेष्ठको स्वागत मन्तव्यको सम्पादित अंश ।)