निस्सासिएर मर्ने क्रमलाई रोक्नु पर्दैन ?

कोरोना भाइरसको त कुरै छाडौं, के यसरी प्रत्येक हिउँदमा आगोले निस्सासिएर मान्छे मर्न रोक्ने तयारी के छ भनेर कसैले सरकारलाई सोधेको छ ? हामी सुन्छौं, विश्वका धेरै विकसित मुलुकमा, विशेष गरी अमेरिकामा घरबाट धुवाँ आउने बित्तिकै प्रहरीहरु साईरन बजाउँदै आइपुग्छन्, यदि घरका मानिसले घरभित्र यस्तो धुवाँ आउने केहि बालेको छ भने आवश्यक कानूनी कार्वाहि गरिहाल्छन् ।

विश्वमा जती ठूलो ठूलो रोगले मानिसको ज्यान गईरहेको छ, कहिले बर्डफ्ल्यु, कहिले स्वाईनफ्ल्यु, कहिले इबोला, कहिले कोरोना, त्यो भन्दा बढ्ता ज्यान त नेपालमा स–साना गल्तीले गईरहेको छ । दिनदिनै सडक दुर्घटनाका खबरमा कतै न कतै कोहि न कोहिको मृत्यु भईरहेकै हु्न्छ । कहिले काहिँत गाउँनै सखाप भएको छ भने कहिले सन्तानै सखाप भएका छन् । अहिले आएर कोठाभित्र निस्सासिएर मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

जाडो महिना छ । देशै भरी कतै हिउँ त कतै शित लहरले आ–आफ्नै तरिकाका जाडो भइरहेका छन् । यसबाट बच्न मानिसहरू तातोको खोजीमा लाग्ने नै भए । तर, सानो लापरवाहीले ज्यानै गइरहेको छ । कीर्तिपुरमा सुत्केरी आमा र सानो बच्चा मकल तापेर सु्त्दा निस्सासिएर ज्यानै गमाउन पुगेको खबर बाट शुरु भएको यस पटकको हिउँदमा होस्टलमा ग्याँस गिजरमा नुहाउने क्रममा एक छात्राको मृ्त्यु सहित दामनको पानोरमा रिसोर्टमा भएको आठ जना भारतीय पर्यटकको एकै चिहानले स्तब्ध बनायो । झन भर्खरै,साउना मा बस्दा समेत एक दम्पतीको अकालमा मृत्यु भयो, ललितपुरको हेल्थ क्लबमा स्वस्थ हुन भनेर गरेको विधीले आखिर ज्यानै लियो ।

व्यक्तिगत रुपले भन्ने हो भने, म पनि साउनामा बस्ने गर्छु, त्यहाँ अत्यधिक तापक्रम बढाएर पसिना आउने गरेर कोठालाई तातो बनाइन्छ, जब तापक्रम बढ्दै शरिरबाट पसिना निस्कन थाल्छ, त्यती बेला आनन्दीत बनाउनुका साथै शरिर बाट विष वा नचाहिने तत्वकोे मात्रा निकालीरहेको हु्न्छ, अब त डर लागेर आइरहेको छ ।

मैले कतै पढे अनुसार, यसपालीको हिउँदमा अहिले सम्म यसरी निस्सासिएर ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । के यो अनाहकमा ज्यान गुमाउनेको संख्या अत्याधिक होइन ? मृत्यु आफैंमा अती पिडादायी र निर्दयी हुन्छ । झन त्यसमाथी अकालमा ज्यान गुमाउँदा आफन्तको पिडा कसले महसुस गरिदेला ? अकालमा मृत्यु हुनु भनेको उसले गर्दा गर्दैका सारा काम अधुरो छोडेर अचानक पूर्णबिराम लगाएर जानु हो ।

भारत देखि आएका आठ जना, त्यसमा पनि चार जना त नाबालक, कती रमाइलो भइरहेको थियो होला ? नेपालका डाँडाकाँडाका फोटोहरु, मनभित्र असंख्या तरंगहरु, आफन्त र साथीभाइका बीचमा बाँड्नु भन्दा पहिले नै यो संसारबाट बिदा लिनु पर्यो । फोटोमा समेत हेर्न नसक्ने हृदयबिदारक दृश्य थियो ।

कोरोना भाइरसको त कुरै छाडौं, के यसरी प्रत्येक हिउँदमा आगोले निस्सासिएर मान्छे मर्न रोक्ने तयारी के छ भनेर कसैले सरकारलाई सोधेको छ ? हामी सुन्छौं, विश्वका धेरै विकसित मुलुकमा, विशेष गरी अमेरिकामा घरबाट धुवाँ आउने बित्तिकै प्रहरीहरु साईरन बजाउँदै आइपुग्छन्, यदि घरका मानिसले घरभित्र यस्तो धुवाँ आउने केहि बालेको छ भने आवश्यक कानूनी कार्वाहि गरिहाल्छन् । उनीहरुले घर भित्र अगरबत्ती पनि बाल्न बर्जित गरेको त्यसै होइन रहेछ । पहिले पहिले सुनिन्थ्यो, यसरी धुप बाल्दा हिन्दु धर्मको बिरोधमा कृश्चियनहरुले हेपेर गरेको होला तर गहिरिएर सोचेर ल्याउँदात यो आफ्नै हितमा पो रहेछ ।

हामी कहाँ यसरी घरै भित्र धुप बाल्न प्रतिबन्ध त लगाउन नसकिएला तर कमसेकम घरको हालत कस्तो छ भनेर कुनै सरकारी निकायले कहिल्यै निरिक्षण गरेको छ ? अरु ठाउँको त कुरै छाडौं देशको राजधानी काठमाण्डौ जस्तो ठाउँमा यसरी बाथरुममा निस्सासिएर मरेको घटना सुनिसकेपछि प्रत्येक घरको बाथरुमको अनुगमन गर्नु पर्ने होइन ? विशेष गरी ग्याँस गिजर भएको बाथरुमको अवस्था कस्तो छ ? झ्याल तथा भेन्टिलेसन छ कि छैन ? छ भने खुल्ला गर्ने गरेको छ कि छैन ? वा उक्त बाथरुममा सहज रुपले हावा ओहोर दोहोर गर्न सक्छ कि सक्दैन भनेर हेर्नु पर्दैन ? यदि सहज छैन भने ग्याँस गिजर तुरुन्त झिक्न लगाउनु पर्छ अन्यथा कारवाहीको भागिदार बनाउँदा जनताकै हित हुने हो ।

बाथरुम मात्रै होइन अन्य कोठाहरुको अवस्था पनि कस्तो छ ? सामान्य बेला र ग्याँस वा आगो बाल्दा त्यसमा हावा निस्कने र पस्ने वातावरण छ कि छैन भनेर अनुगमन गर्ने गरेमा नागरिकको तर्फबाट राज्यलाई कती धन्यवाद दिन्थे होलान् ?
प्रश्न उठ्ला, अनुगमन कसले गर्ने, यो अशम्भव छ ? त्यो पनि सहि हो । तर, वडा पिच्छे वडा अध्यक्ष र वडा सदस्यले यो काम सजिलै गर्न सक्छन् अझ त्यसमा टोलमा भएका विभिन्न प्रकारका सामाजिक सञ्जालहरु, जस्तैः आमा समुह, क्लब, मन्दिर, योग, वाचनालय, सहकारी, उपभोक्ता समिती जस्ता अनेर्कौ समुदाय छन्, अझ राम्रो त्यसमा सामुदायीक प्रहरी लाई पनि साथै लिएर हिंडे के असम्भव छ र ? एकै हप्तामा सकिन्छ ।

यसको लागि ब्यानर बोकेर सडकमा प्रभातफेरी गरेर हुँदैन । प्रत्येक घर, चाहे त्यो आलिशान महल होस् वा सुकुम्बासी टोलका टहराहरु हुन् बराबर रुपमा कोठाचोटा, विशेष गरेर बाथरुम र सुत्ने कोठामा टोली पुग्नै पर्दछ, अनि मात्र उक्त घरमा आगोको ज्वाला आउने ग्याँस हिटर, गिजर, कोइला, दाउरा वा मकल जस्ता आगोे बालेर न्यानो गर्ने बिधी कस्तो छ र विशेष गरी नुहाउने र सुत्ने कोठामा प्रशस्त मात्रामा अक्सिजन आपुर्ति हु््न्छ कि हु्ँदैन भनेर अनुगमन गरिकन सम्झाई बुझाई गराउन सके कती राम्रो हु्न्थ्यो होला ।

यस्तो आगोको धुवाँले निस्सासिने काम सर्धै आफुले गर्दा मात्र हु््ँदैन, कहिले काहिँ छिमेकीले आगो ताप्दा, ’roundको खेतबारीमा पुरानो बाली काटेर नयाँ बाली लगाउँदा, कारखाना वा अरुले फोहोर बाल्दा पनि आफूलाई असर गर्दछ । आफ्नो कोठा भित्र धुवाँ छिरेर निस्सासिँदा पनि यदि ती आगो बाल्ने व्यक्तिलाई भन्न गएमा आफ्नो आँगनमा, बारीमा वा अगाडी बाल्न किन नपाउने भनेर जवाफ फर्काई हाल्छन् । यस्तो अवस्थामा सरकारी निकाय, विदेशमा जस्तै सम्बन्धीत ठाउँमा गएर आवश्यक कार्वाहि गरिदिएमा छिमेकि बीचमा मनमुटाव त हुँदैन थियो ।

निस्सासिनु भनेको आगोले मात्र होइन हाम्रो जस्तो देशमा अहिले प्राय सबै जसोले गाडी किन्ने गरेका छन् । तर, राख्ने ठाउँ हुँदैन, अनि बाटोलाईनै ग्यारेज बनाइ दिएको यत्रतत्र देख्न पाइन्छ । बाटोलाई ग्यारेज बनाइदिंदा पछाडिको घरलाई एम्बुलेन्स, दमकल, शववाहन, अपांगता भएका व्यक्ति कता बाट लान्छन् भन्ने सोचाई होला ? यदि बहत्तर सालको भुकम्प जस्तै अर्को भुकम्प आयो भने कताबाट भाग्ने होला ? आठ दश फिटको बाटोमा ढसमस्स आफ्नो गाडी पार्किङ गरिदिँदा बाँकी रहेको डेढ दुई फिट को बाटोमा छाता ओढेर समेत हिंड्न मुश्किल पर्छ, अझ भुकम्प आएर एकापट्टिको पर्खाल ढल्यो भने भएको त्यहि बाटो पनि बन्द हु्न्छ । राजधानीमा सभ्य भनेर कहलिएका महान जनताहरुले यस्तो कुरा नबुझेको होइन, बुझ पचाएको हो । साँघुरो बाटोलाई ठूलो बनाउने अभियान देशै भरी जारी छ तर कतैै भने भएको बाटो पनि खुम्च्याइदिएको छ ।

यस्ता बाटोहरु खाली गराएर हावा जत्तीकै मानिस र सवारी साधनको आवतजावत सहज बनाइदिनु पर्ने कर्तव्य पनि राज्यकै होइन र ? राज्यका विभिन्न निकायमा बसेका निर्वाचित वडा, प्रदेश र केन्द्रका जनप्रतिनिधी र गृहमन्त्रालय, सडक विभाग सबैको दायित्व हो नी, तर खै हामीले खोजेको सुविधा दिने यस्ता निकायको कानमा वतास कहिले आउने होला ?
त्यसैले पानोरमा रिसोर्टबाट एउटा शिक्षा सिकौं, उसले पनि जानेर मान्छे मारेको होइन, तर अब ऊ सधैंको लागि ज्यानमारा नै ठहरिन्छ ।

हुनत हाम्रो देशमा सरकारी संयन्त्रले यस्तो काम गर्लान भनेर आश त के गर्न सकिन्छ र हामी आफैं सजग बनौं । सकेसम्म ज्वाला बनेर आगो निस्कने कुनैपनि प्रकारको न्यानो बनाउने संयन्त्र प्रयोग गर्दा अती नै चनाखो बनौं । एकै छिनको लागि त हो भनेर नभनौं, यो कार्बनमोनोअक्साइड भन्ने ज्यानमारा ग्याँसको न गन्ध, न स्वाद न रङ्ग नै हुने रहेछ । थाहा नपाइकनै ज्यानै लिइसक्दो रहेछ । अमुल्य जीवनलाई बचाऊँ र बचौं ।