सरकारको दुई वर्ष
एउटा चिया पसलमा दुई जना व्यक्तिहरु ठूलो ठूलो श्वरले बादविवाद गरिरहेका थिए । एक जना भन्दै थिए, देबिलाई बली चढाउनु भनेको उनलाई खुशी तुल्याइनु हो ’cause देबिले रगत मन पराउँछिन् । त्यसरी बली चढाउँदा उक्त बली चढाइएको पशु वा पंक्षीलाई काट्दा पनि दुख्दैन । अर्को व्यक्ति भन्दै थिए, देबिको अगाडी सबै प्राणी आफ्ना सन्तान सरह छन् । आफ्नै सन्तानको रगत खाँदा कुन चाहिँ आमा खुशी हुन्छिन् होला ? फेरि त्यो पशुपंक्षी काट्दा दुख्दैन भनेर तपाईंलाई कसरी थाहा भयो ?
यी दुई व्यक्तिको बादविवाद दुई घण्टा चल्दा पनि हार जीत नभई मध्यस्तकर्ताको अगुवाईमा अधुरै रुपमा समाप्त भयो । यसको अन्त्य किन भएन भने, एकजना मांशाहारी थिए अर्को शाकाहारी थिए ।
सन्दर्भ कहाँ जोड्न चाहन्छु भने वर्तमान नेकपा नेतृत्वको केपि वली सरकारले दुई वर्ष पुरा गर्यो । दुई वर्ष पुगेको उपलक्ष्यमा उनले संसदमा संबोधन गरे । उनले गरेको कार्य प्रगतीको पक्ष र विपक्षमा वहश चल्न थालिसक्यो । सबैलाई थाहा भएकै विषय हो सरकारी पक्षको चश्मा लगाउनेले सबै राम्रो देख्छ, बिरोधी पक्षको चश्मा लगाउनेले सबै नराम्रै देख्छ ।
राम्रो पक्षको वकालत गर्दा वली स्वयंले भने, दुई वर्ष सम्म आफ्नो नेतृत्वमा सरकार टिक्नु नै एउटा सफलता हो । हुनत यसलाई चुट्किलाको रुपमा लिनेहरु पनि छन् तर म यसलाई गम्भिर विषय मान्छु । देश साँच्चीकै सरकार परिवर्तनले थिलथिलो भइसकेको थियो । आठ, नौ महिनामा फेरिने सरकारको अनुहारमा पालैपालो प्रधानमन्त्री र मन्त्रीहरु फेरिए । राज्यको ढुकुटी त्यहि केहि महिने भुतपुर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, मन्त्री जस्ता व्यक्तिहरुले आजीवन उपयोग गरिरहेका छन् । जसको मुल्य हामी जस्ता जनताले गाँस काटेर तिरेको करबाट उपलब्ध गराइ रहिएको छ । सुनिंदैछ, कती प्रहरीहरुले पुलिसिङ नै बिर्सिसके रे, प्रहरीमा जागिर खाएर के के न गर्छु भनेर आएका थिए होलान, घरेलु नोकरको रुपमा वषौं देखि दलाई राखिएको छ ।
हुनत, त्यतीबेला वलीको पार्टीको घोषणा पत्र अहिले पल्टाउने हो भने अहिले सम्म हामी संसारको विकसित मुलुकको जीवनयापन गरिरहेको भेट्नु पर्ने हो । गरिबी, अशिक्षा, कालो बजारी, भ्रष्टाचार, स्वास्थ्य, सुशासन, सरसफाई, नियम, कानून जस्ता अनगिन्ती शब्दहरु कुन चराको नाम हो हामीलाई थाहै नहुनु पर्ने हो । ’cause घोषणापत्र मात्र होइन उनले गरेको भाषण सुन्ने हो भने पनि रातारात कायापलट हुने प्रशस्तै आश्वासनका पोकाहरु पल्टाउन सकिन्छ ।
त्यसैले जनतालाई असम्भव हुने आश्वासन बाँडेर कुर्सिमा चढिसकेपछि त्यसको सबै नभएपनि केहि प्रतिशत प्रत्याभुति दिन नसक्दा जनस्तरमा निराशा फैलिनु स्वाभाविकै हो । कम्युनिष्टको सरकारले भुईमान्छेको सुखदुख नबुझिदिंदा कागलाई बेल पाक्यो हर्ष न विश्मात भइरहेको छ । जनताले कुनै ठूला कुराको आश गरेकै थिएनन् । कमसेकम भइरहेकै काममा वा सरकारले दिने सेवा सुविधामा सहजता मात्रै प्राप्त होस् वा सुधार होस् त भनिरहेका छन् नी ।
भएका स्वास्थय चौकिमा चिकित्सक भेटियोस् । सार्वजनिक शिक्षालयमा गुणस्तरीय शिक्षा प्राप्त होस् । सार्वजनिक यातायातका साधन व्यवस्थित होस् । सुरक्षित यात्रा होस् । चालक, सहचालकको व्यवहारमा छुद्रता प्रदर्शन नहोस् । ट्याक्सीले मिटरमा र भनेको स्थानमा जान मानोस् । सरकारी सेवा प्रदायक कार्यालयका कर्मचारीले नम्र भएर गर्नु पर्ने प्रकृया सम्झाएर बुझाइदियोस् । प्रहरी र सरकारी कर्मचारी पनि हाँसिदियोस् । बाटोभरी सोकेसमा रक्सिको बोतल सजाएर खोलिएका भट्टी पसलहरु बन्द गराइयिोस् । जथाभावी पार्किंग गर्न प्रतिबन्ध लगाइयिोस् । फुटपाथमा पसलले ओगट्ने, निर्माण सामग्री थुपार्ने, सवारीसाधन तेस्र्याइने कार्य बन्द गरिदियोस् । वर्षौ देखि धुलो उडेर अलपत्र छोडेको बाटो पिच गरिदियोस् । राजमार्गका होटलमा गुणस्तरीय र मुल्यमा एकरुपता कायम गरिदियोस् । जस्ता ससाना र खुद्रा मसिना कार्यहरु मात्रै गरिदिए पनि यो सरकारनै नेपालको एकमात्र जनसरोकारको पक्षमा लागेको भनेर मुख थाक्ने गरी बयान गर्थे होलान् ।
हुनत यो वडा सदस्यले मन लाएर गरे पनि सकिने कार्य हो । प्रधानमन्त्रीको सफलता र असफलता भनेकै भएका सम्पूर्ण सरकारी संयन्त्रको समन्वयात्मक भूमिकाले मात्र सम्भव छ । तर यहाँ वडा अध्यक्ष र सदस्यलाई पनि भोली कसरी सांसद बन्नु छ भनेर अनावश्यक सभा, समारोह, विवाह, भोज, रक्तदान, नेताको अगिपछि, व्यापारीको रेखदेख, प्रहरीको ब्यानरमा प्रभातफेरि, विद्यालयको वार्षिक उत्सव जस्ता अनुत्पादक काममा हिंड्दै फुर्सदै हुँदो रहेनछ ।
प्रधानमन्त्री स्वयंले पुष चौध नभए पन्ध्र सम्ममा सप्तकोशी बाट कलकत्ता सम्म पानीजहाज जान्छ भनेर तिथी मिती तोकिदिएर आफ्नो बोलीको वजन घटाइरहेको अवस्थामा मेलम्चीको पानीमा सचिव मात्र होइन विभागिय मन्त्री समेतले झुटो बोलेको कतिऔं पटक हो भनेर जनताले गन्न छाडिसके । बदनाम कमाईसकेका ठेकेदार शारदाप्रसादकै घरमा बस्नु पर्ने कारण के हो ? घरमा बसेपनि उनलाई कारवाही गर्नुको सट्टा झन मेलम्चीकै ठेक्का दिनु पर्ने कारण के हो ? दुर्गा प्रसाईं र बसरुद्दिन अन्सारीकै सल्लाह मान्दै मेडिकल शिक्षा जस्तो अति आवश्यकिय शिक्षा प्रदान गर्ने पवित्र शिक्षालयलाई जनताको अगाडी कालोबजारीयाको अखडा जस्तो देखाउन किन मद्दत पुर्याइरहेको होला ? यी र यस्ता कार्यहरु बन्द गरिदिए जनताको आँखामा अर्को चुनावमा पनि भोट आउँछ भन्नेमा ढुक्क हुन सकिन्थ्यो होलानी ?
हुनत सरकार र अख्तियार फरक निकाय हो । हामी सोझा र साधारण जनताले के बुज्छौं भने सरकारले अख्तियारलाई निर्देशन दिंदैन । त्यसैले माधव नेपाल, बाबुराम भट्टराई, विष्णु पौडेल, कुमार रेग्मी, नविन पौडेल जस्ता व्यक्तिलाई उक्त निकायले कार्वाहि गर्न नैतिकताले नदिएता पनि कमसेकम सचेत सम्म त गर्न सक्थ्यो । यी व्यक्तिलाई छुँदै नछुनु भनेको भोली मुद्दा चल्दा अहिलेका आरोपिहरुको मुद्दा पनि कमजोर होस् भन्ने चाल हो । ’cause उस्तै प्रकृतीको विषयमा एउटाले उन्मुक्ति पाइसकेपछि अरु पनि सरासर उन्मुक्तिको पक्षमा गइहाल्छन् । केहि लाख वा त्यसमा अप्ठेरो भए केहि करोडको धरौटीमा सबै जना छुट्ने पक्का छ ।
अन्तमा, दिल्लीमा आमआदमी पार्टी सँग धेरै इतिहास बोकेका र करोडौं जनताले भोट हालेको पार्टीहरुले गर्नु परिरहेको प्रतिस्पर्धाले नेपालका पञ्चायतमा यती वर्ष जेल परें, गणतन्त्रको लागि ज्यानको बाजी थापियो, स्वतन्त्रताको लँडाईमा जीवननै सकाइयो भनेर सुनाउँदैमा अब जनताले सुनिमात्र नरहने पक्का छ । भाजपाले सात सिट, काँग्रेस आईले एक सिट पनि जित्न नसक्नु भनेको दिल्लीका जनताहरु ती पार्टीहरु सँग कती सम्म रुष्ट रहेछन् भन्ने बुझ्नु अपरिहार्य छ । सरकार, दुई वर्षिय कार्यकाल पुरा हुनु भनेको अब तीन वर्ष मात्र बाँकी छ भन्ने पनि हो, बिचार गरौं ।