मानव – कोरोना संवाद
मानव :
तँ होस् घाती दुरात्मा जन मन दुखाई लहु पिने
तँ संक्रामक् पिचासी जगत भयदाता सुख लिने
तँ पापी होस् धरामा परजिवि फिंजाई दुख दिने
तँ होस् दूषित लुटेरा लुकिलुकि पसी जीवन लिने
कोरोना :
म हूँ सानो सानो पतित परमाणु स्थिर म हूँ
म चल्दै चल्दीन मकन पर नसारी जड म हूँ
न मेरा हातखुट्टा नत पर पंखेटा हिन म हूँ
न मेरा कान आँखा न त म बलशाली कति कहूँ
मानव :
तँ होस् पीडक् अटेरी मलिन हिन रोगी मुढ मती
तँ क्रोधी दुस्शासन् परम खति दायक बलवती
आ सक्छस् रु युद्धमा आ असली रुप देखा यस घडी
गुप्तमा घात गर्छस् विरूप रुप छिपाई तन चढी
कोरोना :
के मिथ्या बात गर्छस् तँ छुसि मनुवा झन् हरघडी
तँ आफै रोग बोक्छस नजिक बसि खोक्छस् घरीघरी
तैं बोक्ने तैं ओसार्ने वन वन जिव मारी खुसी हुँदै
खाने काँचै कचिलै मकन अनि सार्ने जनजनै
तैं चुम्मा चुम्मि गर्ने नसकि दिन केही परखनै
तैं होस् संसार् घुम्ने नबसि दुरि राखी पर परै
म यात्रा गर्दीन नलगि कहिं जाँदीन नि बरै
तँ नै होस् घाती आफ्नै अलगिन नसक्ने घरघरै
तँ एक्लो दुस्खमा छस् अरु सब खुसी बुझ् तँ विरही
ठूला बाटा खुसी छन् रनबन पखेरा मन भरी
खुला गगन् खुसीमा सलल नदि वायू झन खुसी
वन्मा प्राणी खुसी छन् मनुज दुलो छिर्दा छक परी
मानव :
तँ तुच्छ छी १ विषालू एक दिन अहंकार हरुँला
बन्नेछ खोप छिट्टै पिडित जनको शोक हरुँला
तँ जस्ता नै जिवाणु निहु झिकि कति आए कति गए
ती निन्दित् पर पिराहा समन समुल नीर्मुल भए
कोरोना :
हे मानव् जान छिर्छू जनजनबिच छैन विसमता
को राजा को रङ्क सबबिच म राख्छु नि समता
जहाँ लान्छस् जान्छू जसबिच समागम् त्यहिं छु म
म खान्छु प्राण वायू खतम जन आयू खुसि छु म
तँ आफै रोगसारा मतिहिन गतिछाडा जग भरी
कलुषित् मित्रहन्ता अतिअति स्वहन्ता खति गरी
तँ स्वयं जीवमारा शरमहिन कुरौटे तँ फजिती
बैठके मूखजोडा जुलुसगरि सारा पशु सरी
जहिलेसम्म मानव् नियम र सदाचार नभनी
अनुशासन् तोडी हिंडनेकन छाड्दीन म पनी
आऊला खोप बन्ला ठिक छ म मरुँला तर पनी
आउँला झन् विषालू नविन रुप धारी घरी घरी
नोट – यसमा छन्दमा पढ्ने सहजतालाई विचार गरी ह्रस्व र दीर्घ सम्बन्धी सामान्य नियम लागू गरिएको छैन