मनिषा, मिनेन्द्र र मिडिया तरङ्ग
यो पटकको चर्चामा मनिषा, मिनेन्द्र र मिडिया सबै देशका लागि बन्न सकुन । मनिषा र मिनेन्द्र देशको लागि देखिए, कतै मिडिया नदेखिएको हो कि ? मिडिया पनि एकतावद्द भएर देशको विरुद्द भएको षड्यन्त्र कुप्रचार र अन्यायका विरुद्द समधारणा, सम विचार सहित एकै पटक सबैले सम्पादकीय कहिले लेख्छन ? कहिले बोल्छन ? जनता उत्सुकतापूर्वक मिडियाको एकताबद्द आवाज पढ्न आँतुर छन् ।

राजनीति चलायमान छ । चलायमान हुनु आफैमा तरंग हो । नेपाल भारत नक्शा प्रकाशनको प्रतिस्पर्धाले दुई देश बिचको सम्बन्धमा खटपट पैदा गरेको छ । नेपाल भारत बिचको सम्बन्धमा खटपट लुकामारी झैँ देखिएको छ । सदा भारत हावी हुन्थ्यो यो पटक हावी हुन सक्ला नसक्ला, समयले साथ देला नदेला नेपालले ह्याउ देखाएको छ । तिम्रो थिचोमिचो जहिल्यै सहन्न्नौ भन्ने संदेश दिनु पनि साहसिक कदम र निर्णयको रुपमा दर्ज गरिएको विश्लेषकहरुको मत छ । नेपाललले आफ्नो भूमि भन्दै दावी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको थियो नै अब अतिक्रमणलाई बैध गराउन आफ्नो राजनतिक तथा प्रशासनिक नक्शामा उक्त भूभाग समेटेर कार्तिक १६, २०७६ मा प्रकाशन गरे पछि नेपाली रगत उम्लेको थियो।
झन् तिब्बतको मानसरोवर जाने बाटोको रुपमा नेपाली अतिक्रमित भूमि प्रयोग गरेर मोटरेबल सडक नै उदघाटन गरे पश्चात गोर्खे रगत अरु उम्लियो । देशभर नेपाली खून उम्लिएको संकेत र लक्षणहरु देखिए । लक डाउनमा बन्द सडक एकाएक तात्न थाल्यो, भारतीय विस्तारवाद मुर्दावाद, मिचाहा भारत फिर्ता जा जस्ता नाराहरुको यतिधेरै पुनरावृति भयो कि संसदमा समेत पार्टीहरु सांसदहरु भारतको हेपाहा, लुटाहा र जिराहा स्वभावको विरुद्द आवाज बुलन्द गर्न थाले । सामाजिक संजालका भित्ताहरु ‘गो ब्याक’ इन्डियाको नाराले रंगिए । तरंगहरु यसरी तरंगित भए कि राष्ट्रवादी छवि र परिचय बनाएका ओलीलाई दवाव यथेस्ट प्राप्त भयो एक्सनमा जाने कि आलोचना र नक्कली राष्ट्रवादीको बिल्ला भिर्ने ? अन्तवगत्वा प्रधानमन्त्री आफ्नो तर्फबाट पनि काउन्टरमा नेपालले पनि आफ्नो राजनीतिक र प्रशासनिक नयाँ संसोधित नक्शा जारी गर्ने निचोडमा पुगे र नक्शा जारी गरियो । जुन ऐतिहासिक र साहसिक निर्णय हो जसमा जनताको अपार साथ र समर्थन रहेको छ ।
सर्वदलीय बैठकले प्रधानमन्त्रीले चाल्ने निर्णयमा काँध थाप्ने प्रतिबद्दता व्यक्त गरेको छ । भीमसेन थापा, जंग बहादुर, जुद्द समशेरपछि नेपालको राजकाजमा सबैभन्दा शक्तिशाली र बलिया प्रधानमन्त्रीको रुपमा ओली छन । आन्तरिक किचलो, अन्तर पार्टी संघर्स, सबै, सबै थाती राखेर देश ओलीको सिमा सम्बन्धि अडानमा होस्टेमा हैंसे भन्दैछ । नेपालीहरुको देशभक्तिपूर्ण अडान, एकता र अभूतपूर्व सहासले भारत तिल्मिलाएको देखिन्छ । नेपालले आफ्नो तर्फबाट जारी नक्शामा उसको गम्भीर आपत्ति र कृतिम बिस्तारको संज्ञा दिएको छ । नेकपा नेता टंक कार्कीले भने झैँ दुई भारतमा एक भारत बहुलाएको छ जुन बाबुसाहेब भारत ।
‘म देशमा प्रतिपक्ष बेन्चको सांसद र नेता हुँ तर देशको सिमा र राष्ट्रियताको सबालमा प्रधानमन्त्री जहाँ उभिन्छन म र हाम्रो दल अनि सिङ्गो देश त्यही उभिन्छ ।’

आदर्श भारत नेपालको हित यसको सार्वभौम मुल्य र आस्थाको कदर गर्छ तर बाबु साहेब भारत नेपाललाई आफ्नो मुठीमा राख्न खोज्छ । उस्तै परे आफ्नो प्रान्तको रुपमा ब्याख्या गर्छ, सिक्कम बनाउन चाहन्छ । आज नेपाली साहसले त्यो बाबुसाहेब भारतको निन्द्रा खल्बलिएको छ तसर्थ ‘चाइना यूजेज नेपाल’ भनेर प्रोपोगान्डा गरिरहेछ । भारतले उसको पक्षमा पृष्टपोषण स्वाभाविक धर्म हो यद्दपि तथ्य, तर्क, एतिहासिक दस्ताबेज, प्रमाण र आधारमा दावी प्रस्तुत गर्नु पर्थ्यो तर त्यो सकिरहेको छैन केवल हैकमी पारा र ठुल्दाई प्रवृतिमा ठूलो स्वर झिकिरहेछ । बार्ता, सम्बाद र दस्तावेज परिक्षण विश्लेश तर्क र विमर्श नै विवाद सामाधानको मूल मिलन बिन्दु हो तर भारत थर्काउने, गलाउने र भुलाउने, फुटाउने रणनीतिमा ठूलो स्वरमा प्रकट छ, हप्काउने शैलीमा देखिएको छ ।
त्यस्तै ठूलो स्वर भारतको रिपक्लीक टिभीका पत्रकार अर्णब गोस्वामीले नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालसँग गरेका थिए जसको जबाफ मिनेन्द्रले दर्होसंग फर्काएर सिमा र देशको पक्षमा ओलीको बोलि नै आफ्नो बोली भनेर विपक्षी पार्टीलाई खेल्ने र फुटाउने राष्ट्रियताको मुद्दा कम्जोर बनाउने भारतीय प्रपंचको प्रतिबाद गरेका छन । रिजाल भन्छन ‘म देशमा प्रतिपक्ष बेन्चको सांसद र नेता हुँ तर देशको सिमा र राष्ट्रियताको सबालमा प्रधानमन्त्री जहाँ उभिन्छन म र हाम्रो दल अनि सिङ्गो देश त्यही उभिन्छ ।’ मिनेन्द्रको सुझबुझपूर्ण उत्तरले प्रशंशा पाएको छ । मिडियाबाट संधै लेखेट्याई भोगेका रिजालले सम्भवत जिन्दगीमा सबैभन्दा बढी र धेरै प्रशंशा पाएको पहिलोपटक हो ।
मिनेन्द्रको प्रशंसामा देशको माटोको सुगन्ध छ व्यक्ति मिनेन्द्र होइन देश बोलेकोमा उनी प्रशंसित छन् । मिनेन्द्र को प्रशंसा गर्न पार्टी हेरिएको छैन देशको स्वाभिमान हेरिएको छ । नेपालीलाई देश कति प्यारो छ भन्ने उदाहरण पनि हो मिनेन्द्रको ख्याती । मिनेन्द्रले पटक पटक प्रधानमन्त्रीबाट संसदमा व्यंग पाएका थिए । प्रतिपक्षी बेन्चबाट प्रधानमन्त्रीलाई राजनीतिक आक्रमण गर्ने रिजालको भारतीय मिडिया सामु प्रधानमन्त्री कै बोली आफ्नो लोली मिलाउनु उच्च राजनीतिक संस्कार र नवीन संस्कृतिको प्रतीक हो । व्यंग मै सही प्रधानमन्त्री मिनेन्द्रलाई संकेत गर्दै भन्नु हुन्थ्यो डाक्टर भनेको डाक्टर नै हो विद्द्वान भनेको विद्द्वान नै हो ।
आज आफ्नो विद्द्वता, विवेक मिनेन्द्रले देश भक्तिको अडानमा प्रधानमन्त्रीकै हारमा राखेर फराकिलो छातीको नमुना देखाएका छन् । निश्चित समयमा लिएको अडान र देखाएको निष्ठा प्रदर्शन गरेको ठूलो छातीको मूल्य कस्तो हुन्छ मिनेन्द्रले पक्कै महशुश गरे होला जस्तो यस अघि नाकाबन्दी र अहिले भारतसँग प्रतिवाद गरेर ओलीले पनि सुखद महशुस गरेका छन्, पार्टीको नेताभन्दा देशको नेता बन्ने सौभाग्य पाएका छन् । देशभित्र पक्ष विपक्ष तर अरु परायाको मामलामा सबै पक्ष मात्रै विपक्ष कोही हुन सक्दैन जुन चरित्र अहिले प्रदर्शन भएको छ जसको कारण हाम्रो बार्गेनिङ पावर पक्कै बढी छ झन् पूर्व राजा ज्ञानेन्द्र समेत उदारतापूर्वक ओली निर्णयको हिस्सामा आफ्नो पक्षधरता देखाइ रहेका छन् ।
“भारतलाई मैले आफ्नो कला बेचेकी हुँ । मेरो देश नेपाल आमालाई होइन । मैले श्रम, सीप र पसिना बेचेको हुँ स्वाभिमान, अस्मिता र देशभक्ति होइन । “मैले मेरो जन्म भूमिको लाम्टा चुसेको छु त्यो लाम्टामा लात हान्ने मेरो संस्कार र संस्कृति छैन ।”

बाबुसाहेब भारत तिल्मिलाएको अर्को कारण पनि छ मनिषा कोइरालाले जन्म भूमिको समर्थनमा गरेको ट्वीटले भारतीय मिडिया रुष्ट र आक्रोशित छ । ‘खाते भारतका गाते चीनका’ भनेर मनिषाप्रति तीव्र रोष प्रकट गरिरहेछ भारत । आफ्नो मातृभूमि नेपालप्रति निष्ठा र ममता देखाउनु नै मनीषाको दोष हो त ? भारतमा कलाकारिता गर्नुको मतलव भारतीय हैकम र हुकुम सिरोधार्य गर्नु पर्छ र ? मनिषा आफ्नो खुवी र प्रतिभाले जमेकी हुन कसैको विशेस निगाहा र अनुकम्पाले होइन । मनिषाले भारतमा आफ्नो कला बेचेकी हुन्, श्रम गरेकी हुन्, पसिना बेचेकी हुन लाग्दैछ उनले देश नै बेचेको झैँ आरोप ।
एउटा पुरानो प्रसंग छ मनीषाको लागि जतिबेला उनि भारतमा ख्यातिको चुलीमा रहेकी थिइन् । मनिषा एकपटक आफ्ना बुबा प्रकाश कोइरालालाई भोट माग्न रौतहट पुगेकी थिइन् त्यतिबेला तत्कालीन एमालेका महासचिव माधव नेपालले आफ्नो हैसियत बिर्सेर चुनावी खुराकको लागि घटीया र तुच्छ शव्दले उनको देश भक्ति, कलाकरिता अनि चरित्रमा छुद्र टिप्पणी गरेका थिए । आज आफ्नो देश भक्ति उनले यसरी बोलिन यो भाव हरकोही परदेशी नेपालीको हो ।
“भारतलाई मैले आफ्नो कला बेचेकी हुँ । मेरो देश नेपाल आमालाई होइन । मैले श्रम, सीप र पसिना बेचेको हुँ स्वाभिमान, अस्मिता र देशभक्ति होइन । “मैले मेरो जन्म भूमिको लाम्टा चुसेको छु त्यो लाम्टामा लात हान्ने मेरो संस्कार र संस्कृति छैन ।”
कला, श्रम, सीप र पसिना बेच्न गएकाहरुमा पनि देशप्रेम हुन्छ । विश्वको जुन सुकै कुनामा बसेर नङ्रा खियाए पनि देश भक्ति हराउदैन, मर्दैन । देश छोडेर जानु बाध्यता हो । स्वदेशमा बस्दैमा देश भक्ति अनि परदेश जाँदैमा देशद्रोही हुन सक्तैन । देश भित्र बसेर नै सालनाल र नाभी दिल्लीमा गाडिएकाहरु पनि उतैको गीत गाउछ्न, उतैको सिता खान्छन । तसर्थ देशभक्ति देशभित्र रहनु नरहनुले निर्धारण गर्दैन । कोइरालाहरुको कांग्रेसमा उसै पनि आकर्षण छ त्यसमा मनिषाको आकर्षण अरु थपिएको छ भलै मनिषा कांग्रेस राजनीतिमा सक्रिय छैनन् । यदि राजनीति मनिषाको रहर हुन्छ भने कांग्रेस भित्र मनीषाको लागि स्पेश नबन्ला भन्न सकिन्न्न । दृढ आत्मविश्वासको कारण क्यान्सर जितेकी मनिषा बौद्दिक, बोल्ड र विवेकी सिनेकर्मी हुन । दक्षिण एशियाको राजनीतिमा बिरासत र पैत्रिक पेवाको रुपमा रहेको राजनीतिमा हामफाल्ने साइत यही बेला जुरेको त होइन ?
भारत अहिले मूलतः ‘चाइना यूजेज नेपाल’ भनेर हाम्रो बुता ह्याउ र हिम्मतको पछाडि चाइनाको धाप , उक्साहट र भूमिका देखिरहेछ जुन नितान्त गलत छ । हामीले आफ्नै बुता र ह्याउमा प्रतिबाद गरेका हौ । नेपाल भारत दौंत्य सम्बन्ध चाहन्छौं दैत्य सम्बन्ध खारेज र प्रतिवाद गर्छौं । त्यसैले हामीलाई कसैले उचाल्ने पछार्ने, थर्चारने कुनै पनि गतिबिधि मान्य छैन । हामी कसैका पनि युज अन्ड थ्रो हुने निकम्मा शक्ति र पत्रु माल होइनौ । हेक्का रहोस।
आम संचारको मर्यादा आचरण र आचार संहिता बिरुद्द गएर नेपाल बिरुद्द भारतीय मिडियाको आक्रमण, कुप्रचार र प्रपोगन्डा अनि दुष्प्रचारको धैर्य र सालिनता पुर्वक तथ्य र तर्क संगत खण्डन गर्नु आवश्यक छ । माटो प्रतिको बफादारिता नेपाली मिडियाले पनि धैर्य नगुमाई गर्नु पर्ने देखिन्छ । पत्रकारिता देशका लागि कि आफ्नै रोजीरोटीको लागि मात्रै भन्ने अहम प्रश्न पनि कतिपय मिडियाको मौनता र कतिपयको छुद्र्ताले खडा भएको छ । पत्रकारिता, देशको लागि, जनताको लागि याँहाको माटो र पानीको लागि भन्ने पुष्टी र पुनर्पुस्टि गर्नु आजका पत्रकारहरुको पनि गहन दायित्व हो कतै हामी चुकेका त छैनौ ?
आम संचार जगतले गम्भीर भएर सोच्ने र देश मिसनमा सहभागी हुने अवसरमा सरिक हुन ढिला नगर्ने कि ? यो पटकको चर्चामा मनिषा, मिनेन्द्र र मिडिया सबै देशका लागि बन्न सकुन । मनिषा र मिनेन्द्र देशको लागि देखिए कतै मिडिया नदेखिएको हो कि ? मिडिया पनि एकतावद्द भएर देशको विरुद्द भएको सड्यन्त्र कुप्रचार र अन्यायका विरुद्द समधारणा, सम विचार सहित एकै पटक सबैले सम्पादकीय कहिले लेख्छन ? कहिले बोल्छन ? जनता उत्सुकतापूर्वक मिडियाको एकताबद्द आवाज पढ्न आँतुर छन् । मनिषा, मिनेन्द्र र मिडियाको तहल्काले संकट मोचनमा योगदान गरोस । संकट मोचनको उत्तम विकल्प केवल संवाद, संवाद र फेरि पनि संवाद । निरन्तर संवाद ।