विपना नै सपना जस्तो
शहर कयौ गुणा दुःखदायी छ गाउँ भन्दा तर पनि मानिसले शहर नै रोजेको छ । विश्वका जुन सुकै मुलुकमा हेर्न हो भने पनि मानव भिड शहरमा नै देखिन्छ । आज त्यही शहरको भिडमा कोरोनारुपी भाइरसले सवैलाई तितर वितर वनाइदिएको छ ।

पाँच महिना पहिले चीनको वुहान प्रान्तबाट सुरुभएको कोभिड १९ नामको भाइरस आज विश्वका २१५ देशको गाउँ टोल, घर, आँगन, पिडी हुँदै कोठा कोठा भित्र छिरीसक्यो । न यसलाई टक्टक्यार जान्छ न कन्याएर सन्चो हुन्छ, न आगोले डढाएर मार्न सकिन्छ , न हावाले उढाएर लैजान्छ न टिपेर फ्याक्न सकिन्छ, न कुनै विष हालेर मार्न सकिन्छ , न आँखाले देख्न सकिन्छ, आयो आयो भन्छन् कता आयो देख्न सकिन्न, सँुग्दा गन्धपनि आउँदैन, न कुनै स्वाद छ । के हो ? के हो ? मंगलग्रह र चन्द्रमा पुग्न सफल मान्छेले आज एउटा झाइरस भगाउने वा दवाउने औषधी पत्तालगाउन सकेको छैन । हालसम्म ३ लाख ४४ हजार मान्छे मरिसके । एक जनाको मृत्युले मान्छेलाई कति मर्माहत वनाउँछ यहाँ त लाखौं मरेका छन् । ती मर्नेका आफन्तलाई कति सकस परेको छ । संक्रमित पनि ५४ लाख भन्दा माथि पगेका छन् ।
उनीहरुहरुलाई कति त्रास होला । हामी जो कोहिलाई कोरोनाले भित्र भित्रै खाईरहेको छ कि केही पत्तो छैन । भूसको आगो जस्तो भित्र भित्रै सल्किने यो रोग , वाहिर हेर्दा फर्सि सल्लक पाकेको देखिन्छ तर सवै कुहि सकेपछि कुनै एक ठाउँमा छोयो भने पुरै छताछुल्ल भएर झोल हुन्छ मानौ आज विश्वका मानिसहरुलाई कतै यो भाइरसले भित्र भित्रै कुटु कुटु खाँदै छ कि के थाहा छ र । केही न भएकाहरुलाई पनि मनको अन्तरमा कोभिडले वास गरेको छ ’cause जतिवेला पनि त्यसको याद आउँछ । जे कुरा देखि हामीलाई डरलाग्छ त्यो झन जता जतै देख्न थालिन्छ । आँखा चिम्लिएर के गर्नु भित्र देख्न थालिन्छ । कि त सुन्ने नपाएको भए हुने थियो । अव सुनेपछि, आफ्नै आँखा अगाडी हिजो सम्म सँगै हिडेको साथी डलेपछि कसरी विश्वास नगर्नु । सपनामा यस्तो डर हुँदा त झल्याँस व्यूजीपछि सवै ठिक ठाक हुन्छ तर विपना नै सपना भएपछि चाही के गर्ने ?
कोरोनाको कारण आज प्रत्येक मानिसलाई रोग, भोक र शोकले एकैचोटी समाउँदै छ । कत्तै उम्किन पाउने अवस्थामा छैन । एउटा लस्करमा हिडेका कमिलाहरुलाई बाटोमा अवरोध आउँदा तितर वितर भएर वीचैमा यात्रा रोकिए झै आज सारा मानिसहरुको यात्रा ठप्प भएको छ । कमिलाको लस्कर जस्तै हजारौको भिड आज शहरबाट गाउँमा वा एकान्तमा भाग्दा भाग्दै विचैमा अलमत्र परेको छ । पछाडि फिरौं कोरानाले लखेटदैछ । अगाडि जाउँ आफन्त भनेकाहरु नै डरले लाठि लिएर वसेका छन् । एक पाइला अगाडि सार्यो भने वाँच्नै नदिने स्थिति छ । न घरको न घाटको भएको छ मानिस आज । मानिस मात्र हैन धर्तीका सवै प्राणीहरुले वाँच्नको लागि खाना, वासस्थान, सुरक्षा र प्रेम चाहन्छन् ।
कोरोनाका कारण मानिसले न खाना पाएको छ, वस्ने वास पाएको छ, न सुरक्षा नै छ , प्रेम त पाउनु कता हो कता ? जहाँ सहज हुन्छ त्यही मानिस वस्न चाहन्छ । हिजो गाउँमा रमाएर वसेको थियो तर साहूको जग्गा जोतेर खान नपुगेपछि, जनयुद्धमा मर्नु पर्ने डरले, वाढी, पहिरो, खडेरीले, भूकम्पले वस्ने घर भत्काएपछि, शिक्षा, स्वास्थ्यको पहुँच नभएकोले, मिठो मसिनो खान, राम्रा लुगा लगाउन नपाएकोले, ठूला घरमा वस्ने रहर जागेकोले, उसले शहर रोजेको थियो । त्यही शहरको भिडमा पनि जीवन त त्यही सहज थिएन तथापी गाउँमा भन्दा स्वतन्त्रता थियो । अर्कोेतिर सामाजिक प्रतिष्ठा, गाउँको भन्दा केही मात्रामा सुख, सुविधा र तुलनात्मक गाउँमा भन्दा कम श्रम गरेर पनि जीवन चल्ने भएकोले शहर रोजेको थियो । मानिसले गाउँ भन्दा शहर रोज्नुको अरु पनि थुप्रै कारण होलान् । शहरमा जति दुःख भएपनि किन हो किन मानिस गाउँ फिर्ने इच्छामा थिएन र छैन पनि । शहर जहाँ सानो कोठा रुपी गुँढमा वसेर दिनभरी चारो खोज्ने र त्यहि चारो विहान खाएर पुन साँझको लागि चारोको खोजी गर्न निस्कने मानिस गाउँमा भन्दा धेरै रमाएको छ, भुलेको छ शहरमा ।
शहरको गरिवी कयौ गुणा दुःखदायी छ गाउँको भन्दा तर पनि मानिसले शहर नै रोजेको छ । विश्वका जुन सुकै मुलुकमा हेर्न हो भने पनि मानव भिड शहरमा नै देखिन्छ । आज त्यही शहरको भिडमा कोरोनारुपी भाइरसले सवैलाई तितर वितर वनाइदिएको छ । वर्ग, वर्गका हुलहरु पालैपालो शहरको कोठरीबाट गाउँका फाँटतिर लस्कर लाग्न थालेका छन् । आफ्नै थाकथलोमा वाँच्न सजिलो होला भनेर भाईरस छल्नको लागि गाउँ फिरेको यो भिड के अव शहर न आउला त ? यो विपना मा नै सपना देखेजस्तो भएको छ । सारा मानिसहरु पर्ख र हेरको अवस्थामा छ । आधावर्ष हुन लाग्यो समस्या झनझन गाह्रो हुँदैछ । अव यहि गाह्रो भित्र सहजिलो खोज्न सवैले आ आफ्नै जुक्त्ति लगाउने दिन आएका छन् । कसैको भर पर्ने समय छैन । सवैलाई परेको पीडा एउटै छ । यहि सकसलाई सहज वनाउने मान्छे नै महान कलाकार हो । सहजतामा त जो पनि वाँच्न सक्छ तर असहजतामा पनि खुसी हुन सक्ने नै महान हो । हाम्रा ज्ञानेन्द्रिय, कर्मेन्द्रियलाई होसपूर्वक प्रयोग गर्दै वर्तमानमा रमाउने र उज्वल अभिष्यको सपना देख्दै उक्त सपनालाई साकार वनाउन तिर लाग्नु नै हामी सवैको कर्तव्य हो ।
जुनबाटो बाट सुख, शान्ति र समृद्धिको सपना देखेको थियो अव त्यो बाटोलाई कोभिडले पूर्नविचार गर्न वाध्य वनाएको छ । कोभिडभन्दा पहिले वनाएका जीवनका सपनाहरु पुरा गर्न अव बाटो फेर्नु पर्ने समय आएको छ । पहिलो तरिका त आत्म संयमता नै हो । दोस्रो भनेका मित्यव्ययीता हुने हो । हिजोजस्तो उपभोगवादी जीवन शैलीलाई फेर्नु नै पर्छ । फजुल खर्चलाई रोक्नु पर्छ, निरोगी हुने जीवन शैली अपनाउनु पर्दछ । हिजोका दिनमा हामी खाना भन्दा वढि छाना र नानाको खोजीमा लाग्यौ । खानालाई कम प्राथमिकता दिएका थियौं । अव खानाको जो गर्दै शिक्षा, स्वस्थ्य, संचार, यातायातमा वढि खर्च गर्नेवानी परेको थियो त्यसलाई पनि मित्यव्ययि वन्नतिर लाग्नु जरुरी छ ।
अर्को विषय भनेको देखासेखी, तडक भडकपूर्ण व्यवहारहरुको न्यूनीकरण गर्नु जरुरी छ जसमा राज्यको माथिल्लो तहमा वस्ने जो प्रधानमन्त्री, मन्त्रि, उच्च पदस्त कर्मचारीहरुबाट नै दुनियालाई देखाउने आडम्वर रुपी व्यवहार त्याग्न सिक्नु पर्ने दिन आए । साधा जीवन, उच्च विचार, आफ्नो काम कर्तव्य प्रति वफादार, थोरै खर्चमा धेरै काम गर्ने तौरतरिका, उत्पादनमूलक काममा लगानी, आत्मनिर्भरमूखी काम, शीप र सिर्जनालाई प्राथमिकता, व्यवहारिक शिक्षा, समयको सदुपयोग, सानो आकारको मन्त्रि मण्डल, गुणस्तरीय सरकारी सेवा (जुन सस्तो र सुलभ होस्) विदेशी समानको कम प्रयोग, स्वदेशी वस्तुको उच्च सम्मान, जल, जंगल र जमिनको सदुपयोग गर्नेतिर सवैको ध्यान जानु जरुरी रहेको पाठ कोरोनाले सिकाएको छ । हुन त यो विषय पहिलेबाट नै उठ्दै आएको हो तर कार्यान्वयनमा हामी कोही लागेनौं ।
पानीको मुहान सफा भएपनि ट्यांकी र धारा सफा गर्नु त्यति जरुरत न होला । आज हामी सवैजना अर्ति र उपदेश दिेने कुरामा माहिर छौ तर व्यवहारमा सिन्को उठाउँदैनौ । जसले जे सक्यो त्यसले त्यही काम गर्दा के विर्गन्छ । हामी त एउटा ले कमाएकोमा ५ जना निर्भर हुन्छौ । काम गर्नुलाई दुःख सम्झन्छौ । कर्ममा रमाउने कला कहिल्यै सिकेनौ । आफैदेखेर काम गरेनौं, काम गर्यौ त कि कसैको डरले, कि लोभले, कि अहंकारले कहिल्यै ज्ञान आएन हामीलाई जे आउँछ खुसीले स्वीकार्छु भन्ने, केवल जान्यौ ठगठाक, अरुको आँखा छल्ने, मागेर जिवन विताउने, अरुको भर पर्ने, विदेशीको दास हुने । अवका दिनमा नैतिक वल, आत्मवल र मनोवल वढाउने व्यवहार तिर लागौं । हाम्रा पुर्खाहरुले विश्व सामू जुन पहिचान वनाएका थिए त्यसलाई अक्ष्यूण वनाउन सकियो भने आगामी दिन उज्वल छन् । जे हुनु भयो अव सवैको सद्विचार, सद्वुद्धि र सद्कर्मतिर लाग्नेबाटो दिनप्रतिदिन कोरोनाले सिकाई रहेको छ । डरले हैन रहरले जीवन जिउन तिर लागौं ।