शंकाको घेरामा ‘ओली राष्ट्रबाद’

–कुसुम भट्टराई

कोही भारतको चर्को बिरोध गर्ने र दरबारको ताबेदारी गर्ने, अनी कोही दरबारको विरोध गर्ने र भारत सामु लम्पसार पर्ने । यी दुई अतीवादी सोचका कारण नेपाली राष्ट्रियताको जग बलीयो हुन पाएन । राष्ट्रियताको एउटा साझा सोचको विकास हुन पाएन । नेपाली जनतालाई भोकै रुवाएर राष्ट्रियताको दुहाइ दिने मण्डले राष्ट्रवाद पनि काम लागेन । अनी लोकतन्त्रका नाममा राष्ट्रिय आत्मसमर्पणवादी नीतिले पनि मुलुकको भलो गरेन ।


–कुसुम भट्टराई

नेपाली राजनीतिमा राष्ट्रियता एउटा भुलभुलैयामा परिणत हुँदै आएको छ । भारतको लखउनमा राजा आसफउद्दौलाल बनाएको स्मारकभित्र धेरै गुप्त गल्लीहरु छन् । आपसमा जेरी झैं जेलीएका सयौं बाटाहरुमा पर्यटक प्रवेश गर्नासाथ हराउँछ । त्यो भुलभुलैयामा हराएका पर्यटकलाई गाइडले मात्र बाहिर निकाल्न सक्छन् ।

नेपालका कम्युनिष्ट र पंच शासकहरुले धेरै पटक जनतालाई राष्ट्रियताको भुलभुलैयामा अलमल्याउँदै आए । जनताको राष्ट्रबादी संबेदनालाई भजाएर आफ्नो दुनो सोझ्याउने काम २०४६ को परिवर्तनपछि तात्कालीन नेकपा एमाले र हालको नेकपाले बारम्बार गर्दै आएको देखिन्छ । त्यसैले यतिबेला लिपुलेकसहितको नक्सा सार्वजनिक गरेर वाहवाही बटुलीरहेको केपी ओली नेतृत्वको नेकपा सरकारको राष्ट्रबादी अडानलाई पनि जनताले शँकाकै दृष्टिले हेर्नुपर्ने अवस्था छ । केही दिनयता भारतका पूर्व विदेशसचिव श्यामशरण काठमाडौंमा चलखेल गरिरहेका छन् र नेपालका नेताहरु भित्रभित्रै राजनीतिक मोलमोलाई र स्वार्थको व्यूहमा फँस्दै जान थालेको देखिन्छ । लिपुलेक प्रकरणमा जागेको नेपाली जनताको राष्ट्रबादी आवेगलाई भजाएर सत्ताको मोलमोलाई गर्न कतिपय नेताहरु बडो कम्मर कसेर लागेको पनि सँकेत मिलेको छ । तर, यही कारण फेरी पनि जनता मच्चियो मच्चियो थच्चीयो हुने हो कि भन्ने चिन्ता छ

नेपालमा पंचहरुले मण्डले राष्ट्रबादलाई प्रश्रय दिए । यो राष्ट्रबाद कस्तो भने जनतालाई निरंकुशताको जाँतोमा पिल्सने, राष्ट्रबादको नाममा तानाशाही लादने । जनताका पीरमर्काप्रति राज्य निश्पृह रहने, तर देशभक्तीका गीत रेडियोमा घन्काउने । यस्तो राष्ट्रबाद काम लागेन । पंचहरु राष्ट्रबादी थिए भन्ने एकथरीको दलील रहने गरेको छ । तर, इतिहासको तथ्य अर्कै छ ।

विपी कोइराला प्रधानमन्त्री हुँदा उनका सहायक रहेका कुमारमणि दिक्षितले आफ्नो संस्मरणमा उल्लेख गरे अनुसार भारतीय सेना प्रमुखकै सल्लाहमा राजा महेन्द्रले २०१७ सालमा लोकतन्त्रको घाँटी निमोठेर कू गरेका थिए । विपी कोइराला सरकारले इजरायलसँग द्वौत्य सम्बन्ध राखेपछि तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु रुष्ट भएका थिए । त्योबेलासम्म भारतले इजरायललाई मान्यता दिएको थिएन । तर, एउटा स्वतन्त्र राष्ट्र नेपालले आफ्नो अधिकार प्रयोग गरेर इजरायललाई मान्यता दिएको नेहरुलाई पटक्कै मन परेन ।

नेहरु र राजा महेन्द्रकै मिलेमतोमा २०१७ सालको काण्ड रचाइएको तथ्य विपी पुत्र डा. शसाँक कोइरालाले बारम्बार बताउँदै आएका छन् । भारतकै आडमा जनताको प्रजातान्त्रिक अधिकार खोसेका महेन्द्रले सन् १९६५ मा भारतसँग गोप्य हतियार सम्झौता गरे । सोही कारण भारतले नेपाली सेनालाई हतियार र फौजी तालिम दिने एकलौटी हैकम कायम ग¥यो । सन् १९७० अक्टोबरमा टाइम्स अफ इन्डीयामा अन्तर्वार्ता दिदै राजा महेन्द्रले दुइ देशविच सूचना आदान प्रदान गर्ने र भारतीय दृुताबासमा एक उच्च सैनिक अधिकृत राख्ने सहमती व्यक्त गरेका थिए । भारतलाई खुशी पारी आफ्नो शासन टिकाउने सिलसिलामै महेन्द्रले नेपालको कालापानीमा भारतीय सेनाको तैनाथीलाई नजर अन्दाज गरिदिए, मौनता साँधीदिए । जुन घाउ यतिबेला टनक टनक दुःखीरहेको छ र जनता त्यो घाउलाई खिलसहित निको पार्न जुर्मुराएका छन् । तर, आशँका के छ भने कतै यो राष्ट्रबादी आवेगलाई नेकपा एवं ओली नेतृत्वले सत्ता टिकाउने अस्त्र त बनाउने हैन ?

एमाले र हालको नेकपाको रवैया सँधै बाहिर राष्ट्रबादको चर्को नारा दिने, भित्रभित्र राष्ट्रहित विपरीतका काम गर्न पछि नपर्ने खालको देखिदै आएको छ । वर्तमान प्रम ओली तिनै हुन् जसले कुनैबेला भारतको स्वार्थ बमोजिम महाकाली सन्धी पारीत गराउन अनेक तिकडम रचेका थिए । अहिले आएर स्वयं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक रुपमा भनिसकेका छन् कि महाकालीको मुहान पहिचान नगरी सन्धि गरिनु गल्ती थियो र राष्ट्रघात थियो भनेर । आफ्नै नेताले यसो भनिसकेपछि अब त्यो सन्धी गर्न अग्रपँक्तीमा उत्रिएका ओलीमाथि नैतिक प्रश्न उठयो कि उठेन ?

हामी अहिले पनि ९० प्रतिशतभन्दा बढी विदेशमै निर्भर छौं । हामी अहिलेसम्म आत्मनिर्भर हुन नसक्नुको पछाडि राष्ट्रियताको आवेगात्मक बुझाई र चिन्तन नै मुल कारण हो । हामी कस्ता भने, भारतीय सँस्कृतिबाट प्रभावित भएर घर–घरमा रँगोली सजाउँछौ । तिहारको साटो ‘दिवाली’ भन्छौं । देउसी भैलो खेल्न जाँदा उतैको लेहेँगा चोली ढल्काएर ‘पायो रे प्रेम रतन धन पायो’ भन्दै आफुलाई नायिकका सोनम कपुर नै हुँ की झैँ गरेर उस्तै पारामा नाच्छौं । साना पटाकादेखि झिरझिरेसम्म उतैको पडकाउँछौं । मैनबत्तीदेखि अगरबत्तीसम्म उतैको बाल्छौं । उतैबाट आयात गरिएका मिठाई, टिका र फलफूल प्रयोग गर्छौ । कुरकुरे र चिप्स खाँदै राती अबेरसम्म हिन्दी सिरियल हेर्ने बानीका कारण हाम्रा शहरीया गृहणी मोटाएर रोगी हुन थालीसके । ओखतीमुलो गर्न दिल्ली नगइ हुन्न, हाम्रा नेताहरुलाई । राजदूतले भेटन बोलाएमा मानौं खाँदा खाँदैको गास छोडेर मुख पनि राम्ररी नधोई दुताबासतीर दौडने प्रवृत्ति छ हाम्रो ।

अनि हामी राष्ट्रियताको मुद्दालाई यति हल्का बनाइदिन्छौं कि त्यसलाई जहिले पनि उरालीदिन्छौं । राष्ट्रियताको पाखण्ड प्रदर्शन गर्छौं । तर परेको बेलामा, मौका पर्दा केही बोल्न सक्दैनौं । एमाले नेता माधव नेपालले महाकाली सन्धी पारीत हुँदाताका प्रयोगमा ल्याएको शब्द ‘सेनाइल नेसनालिज्म’ (रुग्ण राष्ट्रवाद) नै हो यो । अबको युगमा यस्तो राष्ट्रवाद काम छैन । तर हाम्रा नेताहरुमा राष्ट्रवादको दोहोरा मापदण्ड अझै हटन सकेको छैन । राष्ट्रियताका सन्दर्भमा साझा सोचको विकास हुन अझै सकिरहेको छैन । लिपुलेकका सन्दर्भमा सिँगो देश एकढिक्का भए पनि सत्तारुढ दलका अध्यक्ष प्रचण्ड अझै यसमामिलामा खुल्न सकेका छैनन् । उनी अझै मौन छन् र भित्रभित्र मोलमोलाईका अनेक चलखेल गरिरहेकै छन् । प्रम ओली पनि राष्ट्रियताप्रतिको अडानबाट प्राप्त ख्याती भजाएर आफ्ना अन्य सारा अक्षमता र नालायकी ढाक्ने दाउमा छन् । सरकारको पर्फमेन्स पूर्णत फेलियर भइरहेको बेला उनी नक्सा कार्ड प्रयोग गर्र्दै जनताको सेन्टीमेन्ट आफुतिर तान्ने तिकडममा छन् ।

नेकपा नेताहरुको कुनै भर र ठेगान छैन । उनीहरु कुनै पनि बेला यूटर्न गर्नसक्छन् । २०५४ सालतीर भारतसँग भएको महाकाली सन्धीको विरोध गर्दै एमाले नेता बामदेव गौतमले पार्टी नै फुटाए । नेकपा मालेको गठनपछि गौतमले भनेका थिए, ‘हामी सत्तामा आयौं भने महाकाली सन्धी रद्द गरिनेछ ।’ त्यति मात्र हैन, भारत अतिक्रमित नेपाली भुभाग कालापानीमा मार्चपास गर्ने उद्घोष पनि गरे । कालापानीसम्म त उनी पुगेनन्, तर केही किलोमिटर वरै गएर कार्यकर्तालाई उफारे । त्यसको केही महिना नबित्दै बामदेव उपप्रधानमन्त्री भए । त्यसबेला पत्रकारले सोधे, ‘महाकाली सन्धी अब रद्द गर्ने हैन त कमरेड ?’ पत्रकारलाई गौतमको जवाफ थियो, ‘महाकाली सन्धी भनेको दुई देशवीच भएको सन्धी हो । यस’boutमा दुबै देशको सहमती आवश्यक छ । नेपाल र भारतवीच यस्ता धेरै मुद्दा छन्, अब कुटनीतिक पहलबाट तिनको हल खोजीनुपर्छ ।’

गौतमको यो प्रसँग एउटा सानो दृष्टान्त मात्र हो । राष्ट्रियताका सन्दर्भमा नेपालका राजनीतिक नेताहरुमा यस्तो द्वैध मनस्थिति र व्यवहार बारम्बार देख्न पाइन्छ । राष्ट्रियताको मुद्दालाई राजनीतिक शक्ति आर्जनका लागि भारतसँग ‘बार्गेनीङ’को रुपमा अघि सार्नेहरुको बिगबिगी बढेकै कारण राष्ट्रियता कमजोर भइरहेको हो । सडकमा हुँदा भारतसँग भएका असमान सन्धी, सुस्ता र कालापानी अतिक्रमण, सीमा विवादलगायतका मुद्दा चर्को स्वरमा उराल्ने । लैनचौरस्थित भारतीय दुतावासको मुलद्वारमा धर्ना पनि दिने र नारावाजी पनि गर्ने । अनी मौका पर्दा उतै लम्पसार पर्ने । यस्ता उदाहरण प्रशस्त छन् ।

कुनैैबेला मुलुकभर हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने अभियान छेड्ने कतिपय नेताहरु कालान्तरमा राजधानीका मल्टीप्लेक्स हलहरुमा गएर हिन्दी चलचित्र हेरेको र ति चलचित्रको प्रशंसा गर्दै त्यसको प्रवर्धनमा लागेको पनि देखियो । पुराना पत्रकार जनार्दन आचार्य भन्ने गर्थे, ‘राष्ट्रघातीहरु बरु चिनिन्छन्, उनीहरुसँग बरु लडन सकीएला । तर हाम्रो राष्ट्रियताका लागि उनीहरुभन्दा खतरनाक त दौरा सुरुवाल लगाएका नक्कली राष्ट्रवादी पो भए ।

नक्कली राष्ट्रवादीहरु सुरुमा भारतको चर्को विरोध गर्छन् । अनी ‘हरियो बत्ती’ देखेपछि १२० डिग्री कोणमा आफुलाई परिवर्तन गर्छन् र ‘प्रभु’ सामु लम्पसार पर्छन् । जव कुनै दिन आफ्नो दुनो सोझीदैन वा राजनीतिमा आफु कर्नरमा परेको महसुस गर्छन्, तब फेरि असमान सन्धी सम्झौताका कुरा गर्न थाल्छन् । सारा मुलुक ‘रअ’ले चलाएको भन्दै भाषण गर्न थाल्छन् । सत्तामा हुँदा विप्पालगायतका सम्झौता गर्न पछि नपर्ने अनी सडकमा आएपछि असमान सन्धी सम्झौताको चर्चा थाल्ने । यो द्वैध प्रवृत्ती रहेसम्म हाम्रो राष्ट्रियता कसरी बलीयो होला र ? हाम्रा नेताहरुमा जवसम्म राष्ट्रियताको सवालमा अवसरवादी चरीत्र रहन्छ, तवसम्म साझा राष्ट्रिय एजेन्डाको पक्षमा मलुक कसरी एकढिक्का हुनसक्छ ?

मधेशका नेता हृदयेश त्रिपाठीले एकपटक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रियतालाई नेपाली नेताहरुले ‘गाँजरको बाँसुरी’ बनाएको टिप्पणी गरेका थिए । अर्थात मन लागेमा बजाउने, मन नलागे चपाएर निल्ने । अर्थात ‘प्रभु’सँग चोंचोमोंचो मिल्दासम्म राष्ट्रिय हितको उपेक्षा गर्ने अनी उसले वास्ता गर्न छाडेपछि चर्को राष्ट्रियताको नारादिने । राष्ट्रियता गाँजरको बाँसुरी पक्कै हैन ।

नेपालका कम्युनिष्टहरुवीच स्थापनाकालदेखी मुख्य दुश्मन कसलाई बनाउने भन्ने विषयमा विवाद चल्दै आयो । पंचायत कालमा पुष्पलाल श्रेष्ठलगायतका कम्युनिष्ट नेताहरु मुख्य दुश्मन दरबार भएकाले काँग्रेससँग मिलेर आन्दोलन गरी दरबारलाई परास्त गर्नुपर्ने पक्षमा थिए । सोही कारण पुष्पलाललाई नेपालमा बस्न दिइएन र उनी भारत निर्वासनमा रहे । पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंहदेखी राजाकहाँ विन्ती चढाएर जेलबाट रिहा भएका मनमोहन अधिकारीसम्म नेपालमा सकुशल रहन पाए । पंचायतकालमा एकथरी राष्ट्रवादीहरु भारत विरोधलाई नै राष्ट्रवाद ठान्थे । जसलाई पंचायत इतरका शक्तिहरु ‘मण्डले राष्ट्रवाद’ भन्थे । यो मण्डले राष्ट्रवादले कतिपय कम्युनिष्ट नेतालाई पनि प्रभावमा पा¥यो । कमलराज रेग्मीदेखी केशरजंग रायमाझीसम्म कालान्तरमा दरबार पसेका दृष्टान्त छन् ।

कोही भारतको चर्को बिरोध गर्ने र दरबारको ताबेदारी गर्ने, अनी कोही दरबारको विरोध गर्ने र भारत सामु लम्पसार पर्ने । यी दुई अतीवादी सोचका कारण नेपाली राष्ट्रियताको जग बलीयो हुन पाएन । राष्ट्रियताको एउटा साझा सोचको विकास हुन पाएन । नेपाली जनतालाई भोकै रुवाएर राष्ट्रियताको दुहाइ दिने मण्डले राष्ट्रवाद पनि काम लागेन । अनी लोकतन्त्रका नाममा राष्ट्रिय आत्मसमर्पणवादी नीतिले पनि मुलुकको भलो गरेन ।

अब राष्ट्रियताको पुरानो परिभाषा पनि फेरिएको छ । राजतन्त्र समाप्त भइसककाले मुलुकमा हिजोको मुख्य दुश्मन पनि समाप्त भइसकेको छ । हाम्रा आफ्ना प्राथमिकता एक ठाउँमा होलान । तर दुई महाशक्ति मुलुक भारत र चीनका आ–आफ्नै प्राथमीकताका कारण नेपालको शान्ति र स्थिरता अब उनीहरुको पनि साझा एजेण्डा भइसकेको छ । भारत र चीनवीच आपसमा जतिसुकै चिसो सम्बन्ध भए पनि क्षेत्रीय शान्ति र विकासका लागी यी दुई महाशक्तिले मिलेर अघि बढनुपर्ने बाध्यता छ । अहिले चिनसँगको कटुताका कारण भारतले पश्चिमाहरुसँग हिमचिम बढाइरहेको भए पनि आर्थिक स्वार्थका कारण भारतले चिनसँग हात नमिलाई सुखै छैन । उता, अमेरिकाले पनि भारत र चिनलाई चिढयाएर हैन, मिलाएर लैजानुमै हित छ । आजको यो आर्थिक युगमा महाशक्ति मुलुकहरुवीच बिगतमा जस्तो शितयुद्ध हैन उत्पादन बढोत्तरी र पुँजीको विकासका लागि आर्थिक सहकार्यमा जुटनुको बिकल्प छैन ।

यस्तोबेला नेपालले आफ्नो राष्ट्रिय हितका एजेण्डा खुलस्त राख्नसक्नुपर्छ । राष्ट्रिय हितका एजेण्डा राख्दा छिमेकी रिसाउला की भनेर खुशामद गर्ने मनस्थितिले राष्ट्रियता बलीयो हुँदैन । अनी माथि चर्चा गरिएझैं राष्ट्रियतालाई गाँजरको बाँसुरी बनाउने प्रवृत्तिलाई पनि अब कुनै स्थान छैन । भारत र चीनवीचको मितेरी पुल बन्दै अब नेपालले यी दुई मुलुकको आपसी मित्रताबाट लाभ लिनसक्नुपर्छ । यसका लागि नेताहरुले पुरानो मण्डलेकालीन राष्ट्रियताको संकीर्ण सोच त्याग्नुपर्छ । न त राष्ट्रिय आत्मसर्मणवाद, न त मण्डले राष्ट्रवाद । अब युग सुहाउँदो स्वाभिमानी राष्ट्रबाद नै उत्तम । नक्कली राष्ट्रबादको युग सकियो, जनता बाठा भइसके ।