चित्र फेर्ने प्रेसक्रिप्सन लेखेर चरित्र फेरिएला र ? डाक्टर साब !

नेपाल र नेपाली थरमा विभेद गर्ने समाज यहीँ हाे । जातीय रोग भेदभावरुपी रोगको उपचार थर परिवर्तन भनेर बुझ्ने र थर परिवर्तनको प्रेसक्रिप्सन लेख्ने डाक्टर बाबुराम भट्टराई रोगको चुरो र डाइग्नोसिस गर्न नसकेको केवल अनुमान सम्म मात्रै गरेको बुझ्न सकिन्छ । डाक्टर भट्टराई जस्ता राजनीतिक खेलाडीले अनुमानको आधारमा प्रेसक्रिप्सन लेख्नु कच्चा वैद्यको मात्रा जस्तो नहोस ?


बाबुराम भट्टराईको सबैको थर एकै राख्ने कुराले केहि क्षण समानताको अनुभुति त दिलाउँछ सुन्दा मजा पनि लाग्न सक्छ,समानताको बुलन्द आवाज र क्रान्तिकारी झल्को देखिन सक्छ तर यो विज्ञान सम्मत र दीर्घकालीन सामधान भए न कि भन्ने मेरो बुझाइ रह्यो । फेर्नु पर्ने चरित्र हो चित्र फेरेर सामधान निस्कदैन ।सुन्दा मजा लाग्ने, हेर्दा आनन्द लाग्ने सबै कुरा व्यवहारिक र आदर्श नबन्न, नहुन सक्छन् । अल्पकालीन मजा, सौख र आनन्दले सर्वकालिक भेद अन्योल र बिभेदको निदान गर्न सक्तैन । त्यस्तै तर्क र भावनात्मक लहड लाग्यो आजको बाबुराम डाक्टर साबको सबै कथित उच्च जातले थर फेरेर निम्न जात भनिएकाहरुको जात लेख्ने रहर, जिकिर ।

लेखेर समानता हुन्थ्यो भने जातीय छुवाछूत विरुद्धको कानुन राजा महेन्द्रको पाला देखि आज केपी ओलीको पालासम्म लेखन र पुनर्लेखन भै रहेको छ । विश्वमा मानव अधिकार र समानताको कुरा गर्ने अमेरिकामा समेत अस्वेत मुलका अमेरिकी नागरिकलाई स्वेत मुलका सुरक्षाकर्मीले सार्वजनिक स्थलमा घाँटी थिचेर निर्ममतापूर्वक हत्या गरेबाट पनि बुझ्न सकिन्छ नियत र मानसिकता रहुन्जेल विभेद र दलन रहिरहन्छ, त्यो अमेरिकामा होस् या नेपालमा ।कानुनमा लेख्दा हटाउन नसकिएको भेदभाव नामको समरुपताले हटाउन सम्भव होला र ? समस्या चेतना विचार अनि विश्वासमा छ ।

थरले वर्ग वा जात दुवै जनाउँदैन । थर भनेको पारिवारिक वंशीय परिचय हो ।वंशीय लहरो हो ।अहिले जनावरको पनि वंशीय अभिलेख राखिन्छ र एकै वंशको प्रजनन गराउदा हाडनाता भित्र पर्छ । हामी त मानव हौँ झन त्यो हुने कुरै भएन एकरूपता हुँदा हाडनातामा विहेवारी हुन सक्छ ।हाडनाताको संतानोत्पदन, जसलाई विज्ञानले राम्रो नमानेको कारण पशुमा पनि हाडनातामा प्रजनन वर्जित गरिदै आएको छ । थर ठाउँ अनुसार फरक फरक हुन्छ ।थर चिनारीको लहरो हो यसले यस्तै अनपेक्षित, अवैज्ञानिक घटना नहोस भनेर सतर्क, सचेत र निर्देशन गर्छ । मान्छे चिनाउने लहरोलाई खण्डित गराउनु आवश्यक छैन । स्वतन्त्र अस्तित्व र पहिचानको कुरा पनि गर्ने अनि पहिचान लुप्त गराउने तर्क जायज होला र ?  जातको नाममा प्रदेशको नाम वकालत गर्दै हिड्ने बाबुरामको यो अर्को विरोधाभाष र सहानुभूतिको मत बटुल्ने चेस्ठा हो ।आफ्नो स्वतन्त्र परिचय र चिनारी सहित नै समान मर्यादा, अस्तित्व र पहिचानमा रम्ने, रमाउने वातावरण बन्दा मात्र समतानुभुति हुनसक्छ ।

आफ्नो थर अर्थात पारिवारिक परिचय लुकाएर हैन देखाएर गौरव अनुभूति गराउनु नै सबैको हक र पहिचान स्थापित गराउनु हो । थर, गोत्र र वंशले भन्दा सोच, नियत, शैली, चिन्तन, मानसिकता र व्यबहारले मान्छे, मान्छेमा असमानता छ । गलत चिन्तन, सोच र ब्याबहार त्यागौ । समानता, समता र मर्यादाको अनुभव र अनुभुति त्यही विन्दुबाट शुरु हुन्छ । विभेदको मनोबैज्ञानिक उपचार गरौ । थर, गोत्र, वंशको लहरो चुडाएर विभेद अन्त गर्न सकिन्छ भन्ने मलाई लाग्दैन । थर मान र अपमानको कारक र कारण बन्नु हुन्न यस तर्फ चै गम्भीरतापूर्वक सोच्नु र मनन गर्नु जरुरी छ । जातीय विभेद दण्डनीय छ । लक्ष्मी प्रसाद राखेर सरस्वतीको प्रिय वरद पुत्र पुत्री हुने र धन बहादुर नामका सबै धनी भन्ने सोच आफैमा दरिद्रता हो । नाम हैन काम र व्यबहार प्राथमिकतामा रहनुपर्छ । नियम र कानुनको बरियोमा सबैलाई कस्न सकिने समाज व्यवस्था भयो भने छिटफुट घटना बाहेक अरु गम्भीर र ठूला काण्ड घटित हुने सम्भावना न्यून रहन्छ । परिचयलाई रहस्यको पर्दा भित्र छोपेर मौका पाउँदा खोलौ, हेरौ र उदाङ्गो बनाउने आम मनोविज्ञानको पनि ख्याल गर्ने कि ? रहस्य खोतल्न चाहन्छ मान्छे ।

यदि सबैको एकै थर लेख्दा समानता र मर्यादा कायम हुन्छ जातीय छुवाछूत निर्मुल हुन्छ भन्ने ग्यारेन्टी राज्यले दिन्छ भने मेरो मन्जुरी नामा यही हो । समस्याको जड र चुरो थर नै मात्र होइन तर थरले अप्ठ्यारो परेको कुरा असत्य होइन । कतिपय अबस्थामा थर चेन्ज गरेर क्षणिक लाभ पनि लिएको र पछि वास्तविक थर थाहा पाउदा अपमान र मान मर्दन गरिएको घटना पनि प्रसस्तै सुन्न र देख्न पाइन्छ अत लुकेर, लुकाएर होइन शिर ठाडो पारेर र छाती चौडा पारेर आफ्नो जात थर गोत्र भन्न सक्ने स्थति सिर्जना गर्नु राज्यको दायित्व र सवाल हो ।

कथित दलित विभेद भयानक समस्या हो । यो वर्गीय समस्या हो, यो सांस्कृतिक समस्या हो, यो मनोवैज्ञानिक समस्या हो, धार्मिक समस्या हो, सामाजिक समस्या हो, यो कानुननी समस्या हो । यति बृहत समस्याको समाधानको शुत्र एकै र एउटा मात्र छैन । एउटा मात्र समाधानको उपाय नभएको कथित दलित प्रथा हटाउन जेजे गर्दा सम्भव हुन्छ सबै गर्नु पर्छ । एउटा मात्र अचुक उपायको खोजि गरियो भने समाधान ढिलो हुन्छ । सही निष्कर्षमा नपुगेसम्म भावना लहड र पलभरको लागि लाभ उठाउन गरिने राजनीतिक स्टारड्रमले निदान खोज्दैन ।

प्रथमत राज्यको कानुनले समाज ब्यबस्था चल्ने परिपाटी कायम हुनुपर्छ । राज्यमा धर्मसत्ता निर्देशित सामाजिक कानुन र बन्दोबस्ती छन् जसलाई निषेध गरेर देसको संविधान, नियम, एन, कानुन बमोजिम चलाउन राज्यका अवयव सक्रिय हुनुपर्छ । जातीय विभेदको कारण हुने रुकुम जस्ता घटनाले राज्यले आफ्नो अनुहारमा लागेको कालो सम्झनु पर्छ । देशका उच्च पदस्थले हत्या र हिंसाको छिटा आफ्नो शरीरको वस्त्रमा रहेको बुझ्नुपर्छपर्छ ।थर फेरेर अधिकार सुनिश्चित र सुरक्षित बन्ने आधार तयार हुन्छ र ? सामधानको बहुआयामिक शोध गरिनु पर्छ ।

शहानुभुति होइन समान अवसर र बराबरी पहुँच निर्माण गर्ने अबस्था र ब्यबस्थामा सबै नागरिकको सहभागिता लागु गरिनु पर्छ । दलित जात होइन अवस्था र नियत हो । राज्यको नियति फेर्न सकिन्न तर नियत फेर्न सकिन्छ । नीति बनाउन सकिन्छ नीति लागु गर्नु नै सर्वश्रेष्ठ उपाय र समस्या निरुपणको भरपर्दो माध्यम हो ।

नेपाल र नेपाली थरमा विभेद गर्ने समाज यहीँ हाे । जातीय रोग भेदभावरुपी रोगको उपचार थर परिवर्तन भनेर बुझ्ने र थर परिवर्तनको प्रेसक्रिप्सन लेख्ने डाक्टर बाबुराम भट्टराई रोगको चुरो र डाइग्नोसिस गर्न नसकेको केवल अनुमान सम्म मात्रै गरेको बुझ्न सकिन्छ । डाक्टर भट्टराई जस्ता राजनीतिक खेलाडीले अनुमानको आधारमा प्रेसक्रिप्सन लेख्नु कच्चा वैद्यको मात्रा जस्तो नहोस ? नेपालमा लैंगिक विभेद पनि विकराल नै छ यो भेद हटाउन पनि लिंग परिवर्तन गर्न सकिन्छ भन्ने तर्क गरियो भने पक्कै हास्यास्पद हुनेछ । तर्कको लागि तर्क होइन कार्यकारणको लागि सामाधान आवश्यक छ ।

जातीय भेद अन्त्य गर्न निम्न विचार र प्रसंग उठेका छन जसलाई छलफलमा ल्याउन सकिन्छ । आधुनिक र वैज्ञानिक समय सापेक्ष शिक्षा । जात हैन बर्गको आधारमा आरक्षण ताकि जातको आधारमा बर्गउत्थान गरेका दलितले अवसर पाउने स्थितिको अन्त्य होस् । थर फेरेर थर हटाएर पनि समानताको अनुभूति दिन सकिन्छ भन्ने तर्कमा विवेचना गर्न सकिन्छ । विशेषाधिकारको रुपमा केहि समय उत्पीडन दलन शोषण र थिचोमिचोमा परेका वर्गलाई बिभिन्न कार्यक्रम राज्यले तय गर्न सक्छ । अन्तरजातीय विवाह तर यो स्वतस्फुर्त हुनुपर्छ कसैको कर लहड, भावना र उत्तेजनामा होइन । भावना लहड र क्रान्तिकारी देखिने रहरका कारण धेरैको अन्तरजातीय विवाह दुर्घटना ग्रस्त छन् ।

संबिधानमा राखिएको दलित शव्द नै हटाउनु दलित सब्द नै विभेद र अपमानको कारक भएको तर्क र विचार पनि अभिव्यक्त भएको छ । दलित व्यवस्था होइन जात होइन यो अवस्था हो यद्दपि यसको स्वीकार्यता ’bout प्रश्नहरु उठेका छन । धर्म परिवर्तन यो एक शसक्त र गम्भीर सवाल हो । हिन्दु धर्मको कारण समाजमा छुवाछुत ब्याप्त छ तसर्थ दलित समुदायले यो धर्म छोडेर अर्कै धर्म ग्रहण गर्नुपर्छ । यो सबैभन्दा पेचिलो र धारिलो प्रशंग हो । मान्छेको जीवन शैली आचरण र विचार धर्मको आधारमा तय हुन्छ यो सजिलो छैन तर धर्मग्रन्थमा उल्लेखित विभेद र छुवाछुतलाई तत्कालिन चेतना मात्रै सम्झेर आधुनिक यूगमा ती प्रसंगलाई बर्जित गरि राम्रा र ग्रहण योग्य चिजलाई आत्मसात गरेर सुद्दिकरण अभियान चलाउदा धर्म परिवर्तन गरि लय भंग गर्नु नपर्ने स्थिति बन्छ ।

अपितु धर्म व्यक्तिको स्वतन्त्रता हो । समाजमा व्याप्त रुढी अन्ध विश्वास र कुरीति हटाउन मनोसामाजिक परामर्श र उत्प्रेरणा जागृतिको अभियान मजबूत तवरले चलाउन सकिन्छ । अन्तिम र ब्यबस्थित आधुनिक समाज निर्माणको सुत्र र आधार राज्यको कानुनमा कडाई र ब्याबहारिक कार्यन्वयन हो । कानुनले भेद गरेन भने समाजमा उचनीच तल माथि केवल सोचाई रहन्छ तर जात धर्म वर्ग र सम्प्रदाय रहन्न ।सोच ब्यबहार दण्डनीय बन्छ तर जातको आधारमा थर र धर्मको आधारमा विभेद गरिन्न ।अपराध जसले गरे पनि दण्डको भागीदार बन्छ । समाजमा व्यक्तिले गर्ने अपराध र सत्कर्मको आधारमा दण्ड र पुरस्कार गरिन्छ । तसर्थ कानुनको कडाइ र यसको बहुआयामिक पक्षलाई ख्याल राखेर समाज व्यवस्था सुब्यबस्थित गर्नु नै जातको आधारमा असमानता हटाउने उपाय बन्न सक्छ ।जात कै कारण हीनता, जातकै कारण उच्चता हटाउने र मेटने कारणको खोजी जरुरी छ । मनोवैज्ञानिक उपचार र पद्दतिको सहयोग पनि लिन सकिन्छ । आवरण बदलेर होइन आचरण बदलेर विभेद घटाउन सकिन्छ । चित्र फेरेर होइन चरित्र फेरेर मात्र समाज बदल्न सकिन्छ ।