विभेदको अन्त्य गर्नै पर्छ
जाजरकोटका दलित युवाले रुकुमकि गैर दलित युवतीलाई आफूहरु बीचको प्रेमलाई विवाहमा परिणत गर्नको लागि साथीहरु सहित लिन जाँदा केटा सहित उसका दलित र गैरदलित छ जना साथीहरुलाई भेरी नदिमा मारेर फालिदिएपछि अहिले देशमा विभेदको विपक्षमा एउटा सकारात्मक बाटो निर्माण भएको छ ।
नेपाली समाज अन्तरजातीय विवाहको लागि उदार छैन । त्यो सबै समुदायमा कायम रहेको छ । बाहुनले बाहुनकै छोराछोरीको बीचमा विवाह गराउन खोज्दछ । क्षेत्रीले क्षेत्रीकै बीचमा र नेवार, राई, गुरुङ, मगर, थकाली, यादव, झा, साह, परियार, विश्वकर्मा जस्ता सबै वर्गका व्यक्तिहरु आफ्नै समुदाय वा जातमै आफ्ना नाताकुटुम्ब चलोस् भन्ने चाहना राख्छन् ।
यहाँ दलित सँग गैर दलितको विवाह नस्वीकार्ने प्रथाको मात्र विरोध भएको छ । हामी सतहमा विभेद दलित र गैर दलितको मात्र खोजेर बसिरहेका छौं तर यहाँ एउटै जात भित्र पनि विभेद भइरहेको छ । बाहुनमा पनि उपाध्याय बाहुन र जैसी बाहुन भन्ने हुन्छ । उपाध्याय बाहुनले जैसी बाहुन सँग सम्बन्ध राख्न रुचाउँदैन । यदि उपाध्याय बाहुनले जैसी बाहुनको छोरी विवाह गरेर लगेता पनि उक्त बुहारीले छोएको पानी नखाने सासु–ससुरा अझै पनि समाजमा छन् । झन् क्षेत्रीको छोरी विवाह गरेर लगेको छ भने त भान्सामा नछिराउने घर पनि छन् । जब सम्म यो हद सम्मको कट्टरता निमिट्यान्न पार्न सकिंदैन तब सम्म कसरी अन्य जात सँगको सौहार्दता खोज्न सकिन्छ र ?
कबड्डी भन्ने सिनेमा नेपाली रजतपटमा राम्रै नाम र दाम कमाउन सफल फिल्म हो । यसको सिरिज नै निर्माण भएको छ । सायद अहिलेको ‘लक्डाउन’मा धेरैले यो फिल्म हेरेर मनोरञ्जन लिँदै समयको सदुपयोग गर्नु भयो होला । यो फिल्ममा मामाचेला र फुपुचेलाको बीचमा विवाह गर्ने अधिकार नै हुन्छ भनेर हक जताउने कुरा प्रष्टै दर्साइएको छ । अन्य समुदाय सँग सम्बन्ध गाँस्नु पर्छ भनेर धेरै जातजाती भित्र मामाचेला फुपुचेलाको बीचमा हक जताउने अधिकारको परम्परा नै छ । गुरुङ, तामाङ, थकाली, मगर जस्ता धेरै जातजातीमा यो प्रचलन आज पर्यन्त कायमै छ ।
आफ्नै जातभित्र नाताकुटुम्ब जोड्दा दुई परिवारको चालचलन, धर्म, संस्कृती मिल्छ जसले गर्दा सदा दुवै परिवारको बीचमा सौहार्दपूर्ण वातावरण बन्छ भन्ने तर्क छ । यसको मतलव आफ्नै समुदाय बीचको दुई परिवारको सम्बन्धलाई सकारात्मक सेतुको निर्माणमा प्रयोग भएका पात्रहरु, केटा र केटी वा जसले विवाह गरेर जिन्दगीभर सँगै बाँच्ने सँगै मर्ने कसम खाएका हुन्छन्, उनीहरुले मनैबाट एक अर्कालाई स्वीकारेका हु्न्छन् त ? कुनै जमानामा आफूले टेकेको जमिनबाट जहाँसम्म आँखाले देख्न भ्याउँथ्यो त्याहिँ सम्म संंसार हो भन्ने समाजले बनाएको नियमले अहिले विश्व नै एउटै गाउँ हो भन्ने अवस्थामा पुगेका सन्ततीले त्यसलाई आत्मसात गर्न सकेका छन् त ?
जब यस्ता परम्पराका बिरोधमा पाईला चालेर कुनै सन्ततीले बिद्रोह गर्दछ, आफ्नो जात भन्दा अर्कै जातको केटा वा केटी सँग घरसंसार बसाउन खोज्दछ तब घर परिवारमा नभित्र्याउने प्रचलन जताततै छँदैछ । यो पनि त एक किसिमले छुवाछुत हो नी । केटाले आफू जन्मेको घरमा आफूलाई मनपरेको केटी लिएर छिर्न पाउँदैन, केटीले आफूले मन परेको केटा सँग विवाह गरेकोमा माईतीमा पाईला टेक्न पाउँदिन भने दलित नभएपनि त्यो घरको लागि यीनीहरु दलित सरह नै हुन् ।
यदि दलितलाई दलित नबनाउने हो भने, उनीहरुलाई पनि अरु जात र समुदायले विभेद नगर्ने बनाउने हो भने त्यो यहि समाजले र समाजमा बस्ने नागरिकले मात्र गर्न सक्छन् । परम्परा देखि नै कथाहरु लेख्दा ब्राम्हणकुलमा जन्मिएकी अती शुन्दर युवती, क्षेत्री कुलमा जन्मिएका सुरबीर युवक भनेर लेखियो । कहिल्यै पनि कामी कुलमा जन्मिएकी अति शुन्दर युवती, दमाई कुलमा जन्मिएका सुरबीर युवक भनेर लेखिएन । थिचोमिचो त कथाका अक्षरदेखि नै शुरु भइसकेको रहेछ । सदियौं देखि जकडिएको (कु)संस्कारलाई एकै झड्कामा निमिट्यान्न पार्न सकिंदैन । यसको लागि शिक्षा नै प्रमुख माध्यम हो । मधेशी दलितको अवस्था झन दयनिय छ । तराई, पहाड, हिमाल सबै क्षेत्रका दयनिय अवस्थाका दलितलाई पायक पर्ने स्थानमा अन्य समुदायका छात्रछात्रा सँगै आवाशिय सुविधा सहितको विद्यालयमा सरकारको तर्फबाट सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था सहित अनिवार्य रुपमा अन्य जातजातीका विद्यार्थी सँग घुलमिल बनाउँदै खाँदा, सुत्दा, खेल्दा, पढ्दा बराबर व्यवहार गरेर कहिं कतैबाट पनि उँचनीच व्यवहार नगरीकन राख्ने हो भने अन्य समुदायमा उनीहरु घुलमिल हुने र अन्य समुदायले पनि उनीहरुलाई फरक व्यवहार नगर्ने वातावरण बन्न जानेछ र कालान्तरमा अर्को पुस्ता सम्म जाँदा यसले सोचे भन्दा धेरै हद सम्म दलित पनि छ र ? भन्ने अवस्थामा पुर्याउने निश्चित छ । शिक्षा नै चेतनाको ज्योती हो । जनस्तर बाहेक यसको उपचार अन्त छँदै छैन ।
सरकारले गर्न सक्ने भए त संविधानमै लेखिएको छ, कडा भन्दा कडा कानूनको व्यवस्था गरिएको छ तर पनि विभेद कायम छ । दश वर्ष सम्म जनयुद्ध लड्दा यस्तै विभेद अन्त्य गर्ने भनेर हजारौंले जीवन बलिदान दिएका होइनन् र ? विभेदको अन्त्य हुन्छ भनेर गणतन्त्र ल्याएको होइन र ? नेताहरुले त भोटको राजनीति गर्ने हुन् । नेपालका नेताहरु कती अदुरदर्शी र सतही कुरा गर्छन् भन्ने त डा.बाबुराम भट्टराईले सबैले कामी थर लेख्यौं भने भेदभाव हट्छ भन्ने तर्कले पनि प्रष्ट पार्छ । जात, थर, गोत्र भनेको मानिसको इतिहास हो, उसको उत्पत्तीको मुहान हो भन्ने बुझ्नै सक्नु भएन । मानिसको जन्म कुन जातका आमा र बाबुको कोखमा हुन्छ उसलाई के थाहा ? जन्मले ऊ बराबर हुन्छ । जसरी म आफूलाई क्षेत्री हुँ भनेर निर्धक्क भन्न सक्छु त्यसैगरी कामीले पनि म कामी हुँ भनेर निर्धक्क भन्ने वातावरण को सुनिश्चितता पो खोजेको हो हामीले ।
गैर दलित समुदायले दलित समुदायलाई सधैं एउटा आरोप लगाउँछ, दलित भित्रै पनि विभेद छ त्यहाँ पनि दलित छन्, जस्तैः दमाई, कामी, सार्की, डुम बीचमै विभेद छ । एकले अर्को सँग वैवाहिक सम्बन्ध नराख्ने मात्र होइन पानी समेतमा छोईछिटो छ, उँचनीच छ । अरुले भरथेग गरिदिएको लँडाईमा जब आफैं छिन्नभिन्न भएर गइन्छ भने त्यहाँ बिजयको सम्भावना कहाँ हुन्छ र ? सबै एक जुट भएर गए मात्र शत्रु पराजय गर्न सकिन्छ । अहिले अमेरिकामा एक जना काला जातीका ४६ वर्षिय पुरुष, जर्ज फ्ल्योडको हत्यामा भएको बिरोधमा काला भन्दा गैर कालाहरु बढि सक्रिय रुपमा संलग्न छन् । यहाँ पनि दलितलाई परेको विभेदमा गैर दलितले साथ दिंदै आएका छन् र दिईनै रहने छन् तर उनीहरुले पनि आफू भित्र भएको विभेद त्यागेर एक हुनु अनिवार्य छ ।