कृषकलाई निःशुल्क फलफूलका बिरुवा


पाल्पाका स्थानीय तहले वर्षौदेखि बाँझा रहेका जमीनमा फलफूल खेतीतर्फ स्थानीयवासीलाई प्रोत्साहन गर्न निःशुल्क बिरुवा उपलब्ध गराएका छन् ।

रामपुर नगरका कृषकलाई कागती १० हजार, सुन्तला एक हजार र अमिलो जातका तीन सय बिरुवा निःशुल्क वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो ।
आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने वनमारा र रुख बिरुवाले बाँझिन पुगेका जग्गामा कागती र सुन्तला लगाएर उत्पादन लिन सकिने भएकाले नगरले खाली जमीनमा बिरुवा लगाऔँ आम्दानीको स्रोत लिऔँ भन्ने अभियानमा लागेको बताउनुहुन्छ ।

यस्तै रम्भा गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रमनुसार १० हजार ७३० बिरुवा कृषकलाई निः शुल्क वितरण गरिएको सूचना अधिकारी भक्तजंग रानाले जानकारी दिनुभयो । उक्त पालिकाले लिची, कागतीलगायत फलफूलका बिरुवा निःशुल्क वितरण गरेको हो । गाउँपालिकाका वडा नं १ हुँगी र ३ को पीपलडाँडा लिची उत्पादनका लागि उपयुक्त ठाउँ हुन् । कागती खेती सबैजसो वडामा उत्पादन हुने कृषि प्राविधिक बताउँछन् ।

निस्दी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत करीब सात हजार बिरुवा कृषकलाई उपलब्ध गराउन लागेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिनुभयो ।
त्यसैगरी बगनासली गाउँपालिकाले कागती १४ हजार, लिची र आँप दुईदुई हजार, सुन्तला पाँच हजार ५००, केरा एक हजार ७००, कफी ५०० र अंगुर, अम्बालगायत अन्य तीन हजार बिरुवा वितरण गर्ने कार्यक्रम राखेको कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ । यो क्षेत्र फलफूलमध्ये कागती र सुन्तला मुख्य उत्पादन हुने क्षेत्रका रुपमा परिचित छ ।-रासस