राजु सदा र कोरोना जन्तर

क्वारेन्टाइनबाट मात्र होइन रोग नै पुष्टि भइसकेकाहरु आइसोलेसन सेन्टरबाट समेत बस्नै नसक्ने वातावरण भयो भनेर दिनदिनै भाग्ने क्रम बढिरहेको छ । जसको ज्वलन्त उदाहरण, यहि बिहीबार, असार ११ गते राती, नौमुले गाउँपालिका–१, भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोभिड–१९ पुष्टि भइसकेका बिरामीहरु नै भागेका छन् । रोगी हौं भन्ने जान्दा जान्दै कोहि त्यसै भाग्दैन होला ? 

गत जेष्ठ ३ गते, नेपालमा कोभिड–१९ को कारणले प्रथम पटक धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाले मृत्यु वरण गरिन् । उनको मृत्यु पश्चात स्वाव परिक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएको हो । त्यतीबेला देखि नै प्राय मृत्यु हुनेहरुको पिसिआर रिपोर्ट मृत्यु वरण गरेपछि मात्रै आउने प्रचलन चल्यो । जुन आज पर्यन्त कायमै छ ।

हंसपुर नगरपालिका, वडा नम्बर ७, नौवाखोर, प्रसाही, धनुषाका १६ वर्षिय राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा भएको मृत्यु कोरोनाले भएको होईन । समयमै रिपोर्ट आएको भए आज उनी परिवार र साथीहरु माझ हाँसिखेली रहेका हुन्थे । कयौं दिनदेखि कहिले हिंड्दै, कहिले रेल र कहिले बस चढेर जब उनी भारतबाट घर आए त्यतीबेला देखि कोरोना होलाकि भनेर अनुमानकै भरमा करिब महिना दिन यातनागृह रुपि क्वारेन्टाइनमा बिताएर तीन बहिनी, बाबुआमा, हजुरबाआमा, साथीभाई, इष्टमित्र, आफन्त र शुभचिन्तकलाई छोडेर खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा यस धरतीबाट सदाको लागि बिदा भए । चरम गरिविको रेखा

मुनी रहेका उनले अब परिवारलाई न त आर्थिक रुपले सघाउने भए न त शारिरीक रुपले ।
सरकारहरुको भिडमा हामीले बेकारहरु पालेर बसेका छौं । भन्नलाई एउटा होइन तीन÷तीनवटा सरकार छन् । तर, जनतालाई पर्दा कतै पनि नदेखिने त्यो सरकार आखिर छ कहाँ ? राजुकै लागि पनि केपि वलीको संघिय सरकार, लालबाबु राउतको प्रदेश सरकार अनि उनको घर आँगनमा रहेको हंसपुर नगरपालिकाको स्थानीय सरकार, यती धेरै सरकारहरु ? खै कसले लिन्छ उनको मृत्युको जिम्मा ? यी एकले अर्कोलाई औंला देखाएर र एक आपसमा दोषारोपण गरेरै समय कटाउँछन्, मिलेर सुधार गरौं भन्ने तिर लाग्दै लाग्दैनन् । दुई नम्बर प्रदेश संसदले १४ असारमा संसदिय छानविन समिती गठन गरेको छ । पहिलेको अनुभवको आधारमा भन्नेहो भने त्यो त्यसै सेलाएर जान्छ, रिपोर्ट कसैलाई देखाईंदैन । अब यसको विपरित गरेर देखाओस्, सत्यतथ्य बाहिर आओस्, हामीले चाहेकै यहि हो, यहि कामना छ ।

जीवनजल र पखाला निको पार्ने साधारण औषधीले ठिक हुने रोगलाई चरम लापरवाहीको पराकाष्ठ नाग्दै तडपाई तडपाई मारियो एउटा होनहार युवा । स्वास्थ्य कर्मीहरुकै रोहबरमा रहेका व्यक्तिले घरी बेडमा र घरी बेडमुनी छटपटाएको दृश्य हेर्न मात्र पनि ठूलै मुटू चाहिन्छ भने त्यो तडप भोग्ने व्यक्तिले कती समय सम्म सहन सक्थ्यो होला र ? अन्ततः सास छोड्न करै लाग्यो ।

रोग लाग्छ, मान्छे मर्छन्, मृतक जुन उमेर, लिंग, रंग, जात, धर्म, धनी, गरिब, शिक्षीत, अशिक्षीत जो पनि हुन सक्छ, त्यसमा कुनै शंका भएन । कोशिष गर्दा गर्दै मान्छे मर्छन्, त्यसमा पनि कसैको दुई मत छैन । तर, कोशिषै नगरी मानिस मर्दा त्यो कति न्यायोचित होला ?

यो लेख मैले राजु सदाको ’boutमा मात्र लेखिरहेको छैन । उनी त एक प्रमुख र महान पात्र थिए जसले मृत्युवरण गरेर कमजोरी यहाँ यहाँ छ सुधार गर भन्ने शिक्षा दिएर गए । उनको जस्तै आवाज धेरैतीरबाट आइरहेको छ । बाँकेको नरैनापुरमा पनि त्यस्तै भएको थियो । अहिले देशका विभिन्न आइसोलेसनहरुबाट खिचेर सामाजिक सञ्जालमा हालिएका फोटोहरु र भिडियोहरुबाट ती स्थानहरुको अवस्था जो कोहिले सजिलै अनुमान गर्न सक्छ । नपाकेको भात, नाम मात्रको दाल, सबैको एउटै धारा, दुर्घन्धित र अपुग शौचालय, सुत्नमा विद्यार्थी पढ्न बस्ने साँघुरो बेन्च, लामखुट्टे र साँपको डर, भुँईमा हिलो, छानाबाट पानी, कती छन् कती व्यवस्थापनको कमजोरी । त्यतीमात्र होइन, बलात्कारको घटना समेत भयो भनेर प्रहरी अनुसन्धान चलिरहेको छ । घर जस्तै सुविधा दिन सकिंदैन होला तर न्युनतम सुविधा पनि दिनु पर्दैन ?

क्वारेन्टाइनबाट मात्र होइन रोग नै पुष्टि भइसकेकाहरु आइसोलेसन सेन्टरबाट समेत बस्नै नसक्ने वातावरण भयो भनेर दिनदिनै भाग्ने क्रम बढिरहेको छ । जसको ज्वलन्त उदाहरण, यहि बिहीबार, असार ११ गते राती, नौमुले गाउँपालिका–१, भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोभिड–१९ पुष्टि भइसकेका बिरामीहरु नै भागेका छन् । रोगी हौं भन्ने जान्दा जान्दै कोहि त्यसै भाग्दैन होला ? त्यस्ता सेन्टरहरुमा के भइरहेको छ भनेर अनुगमन गर्न न कुनै मन्त्री पुगेको खबर आउँछ न कुनै संसदिय समितीले अनुगमन गरेको समाचार आउँछ न कुनै चिनिएका अनुहारहरु नै देख्न पाइन्छ । सबै सुविधा सम्पन्न ठाउँमा बसेर कोरोना जन्तर लगाएर सुरक्षित भइरहेछन् ।

सवारी साधन उनीरुलाई नै चाहिन्छ, सुरक्षा दस्ता उनीहरुलाई नै चाहिन्छ, सरकारी क्वार्टर र सुविधाहरु उनीहरुलाई नै चाहिन्छ, हिलो बाटोमा रातो कार्पेट माथी उनीहरुलाई नै हिंड्नु परेको छ, पिर्का माथी मात्र होइन टेबलै माथी चढेर भएपनि सलामी खानै परेको छ । अब हुँदा हुँदा जनता कोरोना भाइरसले मर्माहत भएर घर भित्रै कोचिएर बसेका छन् उनीहरु मास्क, पञ्जा, स्यानीटाइजरले नपुगेर जापानीज र चाइनिज जन्तर घाँटीमा तुन्दरुङ्ग झुण्ड्याएर हिंडिरहेका छन् ।

यसबाट पनि बुझ्न सकिन्छ हाम्रा नेताहरु जनताप्रती कती इमानदार छन् भन्ने । ल एकछिनलाई मानिलिऔं उक्त जन्तर बैज्ञानिक पुष्टि भएको हो, यसले कोरोना भाइरस एक मिटर परैबाट भगाई दिन्छ, यो अचुक औषधी हो, यदि त्यसो हो भने ती नेताहरुले किन एक पटकपनि राजु सदा जस्ता आफ्ना मतदाता वा मतदाताका सन्तानलाई सम्झेनन्, यसो एक दुई वटा नै भए पनि किन जनतालाई बाँडेनन् ? जनप्रतिनिधीको पहिलो प्राथमिकता जनता होइनन् ? आफ्नै मात्र ज्यानको सुरक्षा ? यदि स्वास्थ्य मन्त्रालयले त्यती नबोलिदिएको भए, ल्यापटप बाँड्ने योजना जस्तै जनताको करबाट माननियज्युहरुलाई यो यन्त्र बाँड्ने प्रकृया पनि शुरु भइसक्थ्यो होला ।

प्रमाणितै नभएको यन्त्रको प्रचार गर्न किन अलिकती पनि झिझक नभएको होला ? कुन मानसिकता लिएर हिंडिरहेका जनप्रतिनिधीहरु रहेछन् हाम्रा ? अनि कसरी देशबाट बोक्सी प्रथा भगाउन सकिन्छ ? यहि चिन्तनले कसरी जाती प्रथा उन्मुलन गर्न सकिन्छ ? राज्य सञ्चालन गर्छु भनेर ठेक्का लिएकाहरुले आफ्नो मानसिकतामा सुधार नगरे सम्म यो देशमा मरनीदेविहरुलाई मानव मल खुवाईरहने छन्, दोलखाका बोक्सी र रुकुम पश्चििमका जातीय घटनाहरु जस्तै घटनाहरु देशैभर विभिन्न रुप र रंगमा भइनै रहने छन् निरन्तर र कालान्तर सम्म ।

यदि जनता प्रति जवाफदेहिता छ भने, केन्द्र र प्रदेश सरकारका सांसदहरु राजधानीमा मात्र बस्ने होइन, अहिले संसदिय गतिविधी पनि छैन, छ भने पनि केहि दिनलाई रोकेर, देशमा असार लागेको छ, रोपाईं चलिरहेकोछ यसो पास मिलाएर आ–आफ्नो क्षेत्र सम्म पुगेर त्यहाँ स्थित क्वारेन्टाइन, आइसोलेसन सेन्टर, अस्पताल, स्वास्थ्य चौकि निरिक्षण गर्न जाने हो की ?