क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु, कोरोना परीक्षण गरिँदै
बागलुङ, असार २१ : क्वारेन्टाइनबाट घर पठाइएका बागलुङका एक युवकको शनिबार मध्यराति मृत्यु भएको छ। उनको स्वाब परीक्षण गरिँदै छ।
बागलुङको निसीखोला गाउँपालिका २ का २९ वर्षीय युवकको गएराति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी शनिबार राति नै घर गएको जनाएको छ।
उनी लामो समयदेखि फोक्सो समस्याले पीडित थिए। केही दिनअघि भारतमा उपचार गरेर फर्केका थिए।
भारतबाट फर्केपछि घरमै बसिरहेका थिए। वडा कार्यालयले थाहा पाएपछि क्वारेन्टाइनमा ल्याइएको थियो। क्वारेन्टाइनमै रहेका उनलाई कसले रातारात घर पठायो भन्ने एकिन नभएको वडाध्यक्ष तिकल पुनले बताए।
उनीसहित घर परिवारका पाँच जनाको स्वाब संकलन गरेर पठाइएको थियो। उनका परिवारका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ। उनी र एक बालकको रिपोर्ट आउन बाँकी रहेको वडाध्यक्ष पुनले बताए। – काठमाडौँ प्रेस