मास्कमय गाईजात्रा (फोटो फिचर)
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज देखि मनाइदैछ । यस बर्ष कोरोनाको जोखिमका कारण मल्लकालिन देखि चल्दै आएको परम्परागत गाईजात्राको माहौल अघिल्लो बर्षहरुभन्दा अलि भिन्न देखिन्थ्यो ।
एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराई उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएअनुरूप जात्रा सुरु भएको इतिहासमा उल्लेख छ । मल्लकालिनदेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा भएको कारण मंगलवार हनुमानढोका परिसरमा जात्रामा सहभागी धेरैले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपाय अपनाएको देखियो ।
जात्रामा सिंगारिएका बालबालिकाहरु तथा अन्य सहभागीहरु मास्क, फेस सिल्डमा तथा कसै कसैले पन्जा पनि लगाएका थिए । कोरोना संक्रमणको जोखिम भएकाले सरकारले भिडभाड नगरी जात्रा मनाउन आह्वान गरेको थियो । तर परम्परागत रीतिरिवाज तथा धार्मिक आस्था कायम गर्दै कोरोना संक्रमणको जोखिमसंगै उपत्यकावासीले दिवंगत आफन्तका सम्झनामा गाईजात्रा पर्व मनाए ।- सुनिल शर्मा