प्रधानमन्त्री ओलीका ताजा चुनौति

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने र निवर्तमान मन्त्री युवराज खतिवडालाई विदा गर्ने निर्णय प्रधानमन्त्री ओलीका लागि नरुचेको गाँस नै हो भनेर बुझेको छ सचेत जमातले ।


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल फर्स्याउनुपर्ने बिषयमाथि सोचबिचार गर्न समय लिएका छन् । आफ्नो पार्टीको स्थायी कमिटीलाई समेत चारदिन पर धकेलेर ओलीले राजनीतिको चेसबोर्डमा गोटीहरु रणनीतिक कोष्ठहरुमा स्थापित गर्न समय लिनुलाई अस्वाभाविक पनि मान्न मिल्दैन । मौका पर्नासाथ शक्तिबाट आफूलाई धकेल्न दाउ हेरेर बसेका निकटस्थ मित्रहरु र मित्र राष्ट्रहरुलाई समेत ध्यानमा राखेर गोटी चाल्न सकिएन भने फर्केर फेरि सत्तामा आईने हो कि नआईने हो भनी सोचबिचार गर्नु ओली जत्तिका नेतालाई आवश्यकै कुरा हो । सायद यसैका लागि उनले राजनीतिक धपेडीबाट आफूलाई केही समय भएपनि फुर्सदमा राखेका हुनसक्छन् ।

भर्खरै आफ्ना लागि भरपर्दा मन्त्री विदा गर्नुपरेको न्यास्रो पनि होला प्रधानमन्त्री ओलीमा । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने र निवर्तमान मन्त्री युवराज खतिवडालाई विदा गर्ने निर्णय प्रधानमन्त्री ओलीका लागि नरुचेको गाँस नै हो भनेर बुझेको छ सचेत जमातले । यसअघि गौतमको नाम लेखेको कागत कोटको खल्तीमै राखेर ओलीले खतिवडालाई काखी च्यापेकाले पनि हो यस्तो बुझाईको आधार बनेको । गौतम अझैपनि औपचारिक रुपले राष्ट्रिय सभा सदस्यमा मनोनित भैसकेका छैनन्, मनोनित हुने ‘प्रबल सम्भावना छ’ भनिएको छ ।

यसैबेला अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक सारेकाले कार्यकारी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतम समेतका नेताको रक्तचाप बढेको बुझ्न सकिन्छ । ‘रात रहे अग्राख पलाउने’ नेपाली राजनीतिमा कतिखेर के हुन्छ भन्ने कुरा कर्ता र कारणलाई समेत थाहा नहुनसक्छ । खतिवडाको बहिर्गमनसँगै ‘तत्काल मन्त्री परिषद् पुनर्गठन हुँदैन, हल्लाका पछि नलाग्नु’ भनेर प्रधानमन्त्री ओलीले के सन्देश दिएका हुन् भनेर उनकै सल्लाहकारहरुले समेत मेसो नपाएको देखिन्छ । तर मन्त्री परिषदमा हेरफेर गर्ने मानसिक तयारीमा रहेका भनिएका ओलीले विदा गर्ने र नियुक्त गर्ने नामहरु चयनमा धुलो फुकीफुकी पाईला चाल्न लागेको निकटस्थ सूत्रहरु बताउँछन् ।

अर्का अध्यक्ष प्रचण्डलाई पनि धेरै निराश नपार्ने र वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाललाई पनि किनारातिर धेरै नधकेल्ने रणनीतिका साथ मन्त्री परिषदमा हेरफेर गर्ने तयारीमा ओली रहेको एक पूर्वमन्त्रीले बताएका छन् । यति सावधानीसाथ काम गर्दा पनि उपाध्यक्ष गौतमको नाम नै ओलीलाई भारी भैरहेको ती पूर्वमन्त्रीको भनाई छ । राष्ट्रिय सभामा प्रवेश गर्ने बित्तिकै गौतमबाट आईपर्ने चुनौतिहरुको सामना गर्न प्रधानमन्त्री ओलीलाई निकै कठिन हुने बताईन्छ । 

यी सबै भावी प्रश्नहरुको सामना गर्ने रणनीति बनाउन प्रधानमन्त्री ओलीले अलिकति विश्रामको अवसर लिएको बुझिन्छ । सोमबार बिहान दुइ अध्यक्षहरु बसेर गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक चारदिन पछि भदौ २६ गते बस्ने सहमति गरेका छन् ।

ओली र प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित भएको छलफलमा स्थायी कमिटी बैठकको मिति तय गरेका हुन् । पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदन’bout यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रुपमा स्थायी कमिटीको बैठकमा पेश गर्न लागिएको हो ।

गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव दिईएको थियो ।सरलपत्रिका