अपहरणको जोखिममा बामदेवको सपना

बामदेवलाई यसरी सम्झाउने प्रयास भैरहेको उच्च समाचार सूत्रले बताएको छ । यसरी सम्झाउने अभियानको नेतृत्व रक्षामन्त्री ईश्वर पोखरेलले गरिरहेका छन् भने उनका साथमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल र पूर्व मन्त्री गोकुल बाँस्कोटा सक्रिय छन् ।



काठमाडौं । उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य बन्ने सपना बीचैमा अपहरणमा पर्ने जोखिम बढ्दै गएको छ । गौतमको सपना पूरा हुन नदिन उनकै पार्टीका बलिया मित्रहरु कम्मर कसेर सक्रिय भएको बुझिएको छ । बालुवाटार निवासका सबै ढोकाबाट प्रवेश गर्ने हैसियत भएका ती मित्रहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना पूरा गर्नकै लागि गौतमको सपना घुमाउरो पाराले अपहरण गर्ने तारतम्य मिलाईरहेको उच्च जानकार सूत्रले बताएको छ ।

हुन त प्रधानमन्त्री ओली पछिल्लो समय आफ्नो संकट हरणमा महत्वपूर्ण गुन लगाएका कमरेड गौतमलाई दौरासुरुवाल पहिरिएर प्रशन्न मुद्रामा राष्ट्रिय सभामा प्रवेश गरेको देख्न चाहन्छन् । उनले यसका लागि सचिवालय बैठकमा वचन पनि दिईसकेका छन् । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनकै लागि भनेर म्याद थप्दै सांसद बनाईएका अर्थमन्त्री युवराज खतिवडालाई विदा दिईएको हो । तर जब खतिवडाले राजीनामा दिएपछि पनि गौतमको मनोनय प्रक्रिया अघि बढेन त्यही साँझदेखि सपना अपहरणको नाटक मञ्चन सुरु भएको बताईन्छ ।

यतिबेला बामदेव फकाउ अभियान नै छेडिएको बुझिन्छ । पहिला उनलाई फकाएर मनाउने प्रयाश गर्ने, केही गरी उनी फकिए भने अनि रिक्त सदस्य पदमा को मनोनयन गर्ने भन्ने गुप्त कुरा खुल्ने भएको छ ।

समाचार सूत्रका अनुसार, गौतमलाई यसो भनिँदैछ– ‘अब चानचुन दुइवर्ष पछि संसदको निर्वाचन हुन्छ । त्यो निर्वाचनमा जाँदा यतिञ्जेल जनमतको कदर गरेर बसेको भनेर जाने कि राष्ट्रिय सभा पनि भ्याएर फेरि मत माग्न आएको भन्दै मतदाता समक्ष हात जोड्दै जाने भन्ने कुरा ’bout सोच्न जरुरी छ कमरेड । राष्ट्रिय सभामा गएर फेरि प्रतिनिधि सभाको निर्वाचनमा मत माग्न जाँदा जितिन्छ नै भन्ने के छ, हार्न पनि त सकिन्छ तर अबका दुइवर्ष निर्वाचनको तयारी गर्दै बसेर निर्वाचनमा जाँदा त नजित्ने कुरै छैन । त्यसपछि त प्रधानमन्त्री बन्न रोक्छ कसले ? सोचौं, अहिले केही छोटो समयका लागि हतार गरेर पछि पश्चाताप हुने निर्णय नगरौं ।’

बामदेवलाई यसरी सम्झाउने प्रयास भैरहेको उच्च समाचार सूत्रले बताएको छ । यसरी सम्झाउने अभियानको नेतृत्व रक्षामन्त्री ईश्वर पोखरेलले गरिरहेका छन् भने उनका साथमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल र भूतपूर्व मन्त्री गोकुल बाँस्कोटा सक्रिय छन् ।

यता गौतमलाई जसरी पनि राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुपर्छ भन्ने अडानमा भने  एकमात्र नेता छन् । उनी हुन् प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल । पोखरेलले यतिन्जेल आश्वासन दिएपछि बीचमै हिस्स बनाउँदा एउटा नेताको ठूलो अपमान हुन्छ, त्यसैले गौतमलाई सिफारिस गर्न विलम्व गर्नु हुँदैन भन्दै प्रधानमन्त्री लगायतका नेतासँग भनिसकेको बुझिएको छ ।

यसरी बामदेव गौतमको राष्ट्रिय सभा सदस्य बन्ने सपना पूरा हुने भन्दा पनि अपहरणमै पर्नसक्ने जोखिम बढेर गएको बताईन्छ ।

फकाउ अभियानको एकमात्र उदेश्य भनेको रिक्त राष्ट्रिय सभा सदस्य पदमा फेरि पनि युवराज खतिवडालाई नै मनोनित गर्ने हो भनी समाचार सूत्रले दावी गरेको छ । यसमा प्रधानमन्त्री ओलीकै बढी चासो रहेको बताईन्छ । निजी क्षेत्रका नेताहरुसँगको अन्तक्रियामा निवर्तमान मन्त्री खतिवडालाई आफूसँग सहभागी गराएर प्रधानमन्त्री ओलीले केही न केही संकेत गरेको जानकार सूत्रहरु बताउँछन् ।

उमेरले ७२ टेकिसकेका उपाध्यक्ष गौतम अलिकति हौसिने स्वभावका छन् भनिन्छ । छिटै प्रभावित भैहाल्ने कमजोरी गौतमको विशेषता मानिन्छ र यसैलाई उपयोग गरेर बिगतमा पनि उनका सपनाहरु जोखिममा पर्दै आएको निकटस्थ सूत्रहरु चर्चा गर्छन् । यसपाली गौतम आफ्नो यो बानीबाट बच्ने हुन् कि होईनन् भनेर पनि चासो राखिएको पाईन्छ ।सरलपत्रिका