देशभर ६ हजार एक सय २१ प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं, कात्तिक १७ : कोरोना भाइरसको संक्रमण सुरक्षाकर्मीमा पनि ब्यापक बन्न थालेको छ। पछिल्लाे समय सुरक्षामा खटिएका ६ हजारभन्दा बढी प्रहरी संक्रमित भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सोमबारसम्म देशभरका ६ हजार एक सय २१ जना प्रहरी कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये पाँच हजार एक सय ६२ जना निको भएका छन्।
सुरक्षा निकायमध्ये सबैभन्दा बढी कोरोना संक्रमण प्रहरीमा देखिएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएपी कुवेर कडायतका अनुसार अहिलेसम्म नौ सय ५९ जना संक्रिय संक्रमित छन्।
कोरोना संक्रमित हुने धेरैजसो ट्राफिक प्रहरी रहेका छन्। धेरै जसो समय सडकमा हुनेपर्ने भएकाले उनीहरुमा संक्रमण देखिएको प्रवक्ता खडायतले बताए।
सबैभन्दा सक्रिय संक्रमित प्रहरी प्रधान कार्यालयमै छन्। ‘प्रहरी प्रधान कार्यालयमा मात्रै सक्रिय संक्रमित दुई सय ६१ छन्,’ प्रवक्ता कडायतले भने। त्यस्तै, प्रधान कार्यालयका सात सय ७४ निको भएका छन्।
उनका अनुसार अहिलेसम्म कोरोना संक्रमित हुनेमा उपत्यकाका प्रहरी धेरै रहेका छन्। काठमाडौं उपत्यकामा अहिले एक सय ८१ संक्रिय संक्रमित छन्। अहिलेसम्म एक हजार नौ सय ५७ जना निको भएका छन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, प्रदेश १ मा एक सय तीन जना संक्रिय संक्रमित रहेका छन्। त्यस्तै, पाँच ससय ५६ जना निको भएका छन्।
त्यस्तै, प्रदेश २ मा कोरोना संक्रमण देखिएका चार सय ३८ प्रहरी निको भएका छन् भने १३ जना उपचारत छन्। बागमती प्रदेशमा दुई सय ८४ जना निको भएका छन् ६८ जनाको आइसोलेसनमा छन्।
यसैगरि, गण्डकी प्रदेशमा तीन सय चार जना संक्रमित प्रहरी निको भएका छन् भने एक सय ५५ संक्रिय संक्रमित छन्। लुम्बिनी प्रदेशमा पनि निको हुने प्रहरीको संख्या चार सय ५४ पुगेको छ। लुम्बिनीमा अहिले एक सय नौ प्रहरी आइसोलेसनमा छन्।
कर्णाली प्रदेशमा कोरोना देखिएका एक सय ३८ प्रहरी निको भएका छन् भने ३७ जनाको उपचार भइरहेको छ। यस्तै, सुदूरपश्चिम प्रदेशमा दुई सय ५५ प्रहरी निको भएका छन् भने ३२ जना आइसोलेनमा छन्। – काठमाडौँ प्रेस