मर्दै गएको सत्य र स्पष्ट भएको विभाजनको रेखा मेट्न समय लाग्छः बाराक ओबामा

अमेरिका सामु ‘षडयन्त्रात्मक सिद्धान्तहरु’ संस्कृतिलाई उल्ट्याएर देशलाई एकताको शुत्रमा बाँध्नु पर्ने महत्वपूर्ण तर कठीन जिम्मेवारी रहेको पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।

अमेरिकामा अहिले सत्य मर्दै गएको उनले बताए ।

हाल ‘क्रेजी कन्स्पिरेसी थ्यौरिज’ को संस्कृतिले बढावा पाएको र त्यसले नागरिकलाई बिस्तृत रुपमा विभाजित गरेको ओबामाले बिबिसीसँगको अन्तर्वार्तामा बताएका हुन् ।

चार वर्ष पहिले भन्दा अहिले अमेरिका स्पष्ट रुपमा विभाजित भएको उनले बताए । राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै अमेरिकामा ‘कन्स्पिरेसी थ्यौरी’ को संस्कृतिले तीव्र रुपमा बढावा पाएको छ । ट्रम्प आफै त्यस्ता थ्यौरीहरु प्रस्तुत गर्दै आएका पनि छन् ।

ओबामाले यो वर्षको चुनावमा जो बाइडेनको जित विभाजित देशलाई पुनः एकताको शुत्रमा बाँध्ने मार्गको सुरुवात मात्रै भएको बताए ।

नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका डेमोक्र्याटिक उम्मेदवार बाइडेनले ट्रम्पलाई पराजित गरेका छन् ।

बाइडेनले चार वर्ष पहिले आफूले पाए जति नै अर्थात ३०६ इलेक्टोरल कलेज मत पाए पनि ट्रम्पले नतिजा स्वीकार गरेका छैनन् । प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ट्रम्पले ।

ओबामाले भनेका छन्, ‘देशमा रहेको विभाजन प्रेरक सिद्धान्तहरुको क्रम भंग गर्न एक भन्दा बढि चुनाव चाहिन्छ वा यो चुनावको नतिजा मात्रै पर्याप्त हुँदैन ।’

ध्रुबिकृत देशलाई पुनः एकताको बाटोमा ल्याउनका लागि राजनीतिज्ञको निर्णय मात्रै पर्याप्त हुने बताउँदै ओबामाले संरचनागत परिवर्तनसँगै नागरिकले एक–अर्कालाई सुन्ने, तथ्यहरुको खोजी तथा त्यसमा बहस गर्नु पर्ने उल्लेख गरेका छन् ।

तर भावी पुस्ताको परिष्कृत तथा विवेकपूर्ण व्यवहारबाट आफू आशावादी रहेको बताउँदै ओबामाले युवाहरुलाई सकारात्मक परिवर्तनको हिस्सा बन्न आग्रह गरे ।

ग्रामीण तथा शहरी अमेरिकीबिचको आक्रोश र द्वेष, आप्रवासन, असमानता, सत्यलाई ओझेल पार्ने कन्स्पिरेसी थ्यौरीहरुलाई स्थान दिने केही सञ्चारमाध्यमहरु तथा सामाजिक सञ्जालका कारण विभाजनको रेखा स्पष्ट र फराकिलो बनेको ओबामाले बताएका छन् ।

ओबामाले भनेका छन्, ‘पक्कै पनि हामी अहिले अधिक विभाजित छौँ, म पहिलोपटक राष्ट्रपतिका लागि उम्मेदवार बनेको समय २००७ र विजयी भएको २००८ भन्दा पनि ।’

आफ्नो राजनीतिक स्वार्थलाई पूर्ति गर्ने भएकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारका कारण विभाजनले गम्भीर रुप लिएको ओबामाले बताए ।

यस्तै तथ्यको कुनै वास्ता नगरी अनलाइनहरुमा पोस्ट गरिने गलत सूचनाहरुका कारण विभाजनलाई थप मलजल पुगेको उनले बताए ।

उनले भने, ‘दशौँ लाख यस्ता मानिस छन् जसले जो बाइडेन सोसलिस्ट हुन् भन्ने ठान्छन्, जसले हिलारी क्लिन्टनलाई दुष्ट मान्छन्, जसले पेडोफाइलहरुलाई प्रमोट गर्छन् भन्ने मानेका छन् ।’ दक्षिण पन्थीहरुको समूहले डेमोक्र्याटहरुलाई ‘बालयौन दूराचार’ का सहयोगी भनेर गलत सूचना प्रवाह गर्दै आएका छन् ।

ओबामाले देशमा रहेको रंगभेद पनि विभाजनको कारण रहेको बताए । समानता स्थापित हुनु पर्ने र त्यसका लागि सबैले सबैको अस्तित्व उस्तै रुपमा स्वीकार गर्नु पर्ने बताएका छन् ।