सिन्दुर जात्रा: हेरौं तस्विरहरु
भक्तपुर, वैशाख २ : भक्तपुरको मध्यपुर थिमिमा हरेक नयाँ वर्षको भोलिपल्ट मनाउने सिन्दुर जात्रा आज मनाइयो । मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको यो सिन्दुरे जात्राको हेरौं तस्विरहरु
मध्यपुर थिमिको सबैभन्दा ठूलो सिन्दुर जात्रा थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ मनाइने गरिन्छ ।
भक्तपुर, २ वैशाख : बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन् । कोरोनाको महामारीको बेवास्ता गर्दै मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।
थिमिमा मात्र मनाइने यस जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारी र थिमिभित्र ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा छ । यस जात्रा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । बुधबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यस जात्रा शुरु भएको थियो ।
जात्रा शुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीको खट ल्याएर यस जात्रा मनाइएको छ ।
थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३ , नगदेशमा नगदेश, बोडेमा, टिगनी, दक्षिण बाराही, निकोसेरालगायतमा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यपुरथिमिभित्र ३२ देवताका खट जात्रा गरी सिन्दुर खेलेर हर्षोल्लासका साथ जात्रा मनाइएको बताउँदै उहाँले कोरोना भाइरसको बाहनामा नेवार संस्कृतिमाथि केही धर्मविरोधीले चलखेल गरी जात्रा रोक्ने प्रयास गरेपनि त्यसलाई विफल बनाएर भव्यरूपमा जात्रा मनाइएको उहाँले बताउनुभयो ।
जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सुथः सिया जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागतरूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरुसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचालेपछि बालकुमारीको जात्रा शुरु गरिन्छ ।
परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्याें, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ भने बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।
एकअर्कामा सौहार्दपूर्णरूपमा सिन्दुर दल्ने, छ्याप्ने र धिमेबाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ । जात्रा हेर्नका लागि विभिन्न क्षेत्रबाट दर्शकको घुइँचो लागेको छ । जात्रा सकिएपछि दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा शुरु हुने परम्परा रहेको छ ।











