योगबाट भोग कि समाधि ?
-अरुण पौडेल
योग मानव जीवनका लागि उपयोगी छ । मानसिक स्वास्थ्यका लागि, शारीरिक सुखका लागि, र मोक्षका लागि पनि । हाम्रो चाहना र लक्ष्य जतातिर हो, योगले हामीलाई त्यतैतिर पुर्याउने हो । वीतरागीका लागि मोक्ष, रोगले थलिएकाका लागि स्वास्थ्य र भोगको आकांक्षीका लागि शारीरिक सुख, बहुउपयोगी छ योग ।
शास्त्रीय हिसावले हेर्ने हो भने योगको अन्तिम लक्ष्य मोक्ष प्राप्ति हो । जुन समयमा यो भूभागमा योगविज्ञानको विकास भयो, त्यसबेला मानिसहरु सामान्यतया आध्यात्मिक थिए होलान् । र, उनीहरुका लागि मोक्षप्राप्ति सबैभन्दा ठूलो लक्ष्य थियो होला । संभवतः उनीहरुका लागि शारीरिक र मानसिक स्वास्थ्य ठूलो समस्याको रुपमा थिएन होला । उनीहरुको लागि त्योभन्दा माथि जीवनमरणको अन्तहिन चक्रबाट मुक्ति पाउँनु महत्वपूर्ण कुरा थियो होला ।
मर्हिषी पतञ्जलिले अष्टाङ्ग योग अर्थात आठ अंङ्गको योगको विकास गरेका थिए – यम (सामाजिक सदाचार), नियम (व्यक्तिगत सदाचार), आसन (शरीर सिद्धि), प्राणायाम (श्वासको अभ्यासद्वारा प्राणको उचित नियमन), प्रत्याहार (अन्तर्मुखिता), धारणा (मनको एकागता), ध्यान (मनको पूर्ण विश्राम र स्व–स्थिति) । योगको अन्तिम चरण अर्थात् आठौंमा समाधि (पूर्ण चैतन्यको स्थिति, चेतना र आन्तरिक आनन्दको उच्चतम अवस्था) रहेको छ । योगले हामीलाई त्यहीँसम्म पुर्याउछ ।
तर अहिलेको अवस्था भिन्न छ । हाम्रा शारीरिक र मानसिक स्वास्थ्यका समस्या यति धेरै छन् कि, हामी त्योभन्दा पर सोच्न सक्दैनौं । त्यसैले शारीरिक र मानसिक स्वास्थ्य हाम्रा लागि महत्वपूर्ण छ । योगबाट हामीलाई हुने अनेकन लाभमध्ये शारीरिक र मानसिक स्वास्थ्य तत्काल प्राप्त भैहाल्ने प्रमुख लाभ हुन् । हाल आधुनिक विज्ञानको सहयोगले यससम्बन्धमा प्रशस्तै अध्ययन अनुसन्धान भएका छन् । र, यसका धेरै ठेली तयार भएका छन् । योगबाट हाम्रो जीवन कसरी सुखी हुन्छ भन्ने कुराको धेरै खोज भएको छ । हामी धेरैका लागि सामान्यतया योगको लक्ष्य यही हो ।
हामी धेरैले बुझ्ने गरेको योग अर्थात् आजकल जनजिव्रोमा रहेको ‘योगा’ चाहिँ पतञ्जलिको अष्टाङ्ग योग नभई आसन र प्राणायाम मात्र हो । आसन र प्राणायामको अभ्यासलाई विस्तृत रुप दिई यसैबाट समाधिको अवस्थामा पुग्ने पद्धतिको विकास पतञ्जलिभन्दा धेरै पछि गुरु गोरखनाथले गरेका हुन् । उनीद्वारा विकसित आसन र प्राणायामको पद्धति हठयोगको रुपमा प्रसिद्ध छ, जसको अन्तिम लक्ष्य पनि मोक्ष नै हो । अहिलेको ‘योगा’ यही हठयोगअन्तर्गत शरीर र प्राणसिद्धिको प्रक्रियाबाट लिइएको अंशमात्र हो । यसमा हरेक गुरुले आफ्नै हिसाबले परिमार्जन र थपघट गर्दै आ–आफ्नै स्वरुपको ‘योगा’ विकास गर्दै आएका छन् ।
‘योगा’ अर्थात आसन र प्राणायामको अभ्यासबाट हाम्रो समग्र स्वास्थ्यको विकास हुन्छ । शारीरिक क्रियाहरु ठीक हुन्छन् र शरीरका सवै अंगमा उचित रक्तसञ्चार हुन्छ । अंगहरुको व्यायाम राम्रोसँग हुन्छ र ती स्वस्थ हुन्छन् । सबै आन्तरिक अंगहरुको सञ्चालन ठीक ढंगले हुन्छ । जब शरीरले ठीक ढंगले काम गर्न थाल्छ, हाम्रो मनमा त्यसको सकारात्मक प्रभाव देखिन थाल्छ । मनमा खुसीको सञ्चार हुनथाल्छ । शरीर र मन दुवै ‘रिल्याक्स्ड’ हुन्छन् । शारीरिक र मानसिक तनावहरुको न्यूनीकरण हुन्छ । योग्य शिक्षकको मार्गनिर्देशनमा राम्रोसँग अभ्यास गरियो भने आसन र प्राणायामले हाम्रो स्वास्थ्यमा चामत्कारिक सुधार ल्याउँन सक्छन् ।
शरीर र मन दुवै स्वस्थ भई मन प्रफुल्ल हुन थालेपछि संसारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन थाल्छ । विचारमा नयाँपन आउन थाल्छ । सबै कुरा राम्रो लाग्न थाल्छ । मनमा स्वतः प्रेमभावको सञ्चार हुन थाल्छ । मानिसको जवानी फेरी फर्किन थाल्छ ।
समाधि र मोक्षको शास्त्रीय लक्ष्यलाई अलग राखेर हेर्ने हो भने ‘योगा’ले हामीलाई सुखभोगको लागि योग्य बनाउँछ । व्यस्त जीवनको अस्वस्थ खानपान र व्यायाम नगर्ने जीवनशैलीले हाम्रो शरीरलाई रोगको घर बनाइरहेको छ । सुखभोगको चाहना छ, तर रोगका कारण सुखभोगका लागि पनि हामी योग्य छैनौं।
स्वास्थ्यका अनेकौं समस्यामध्ये यौनस्वास्थ्य मानिसका लागि टाउको दुखाईको विषय बनेको छ । मानसिक तनावले निम्त्याउने जटिलताहरुमध्ये मानिसको अस्वस्थ यौनजीवन र यससम्बन्धी मनोविकारहरु प्रमुख समस्याको रुपमा आइरहेको छ । यौनसमस्या केही शारीरिक हुन्छन् भने धेरै मानसिक । मानिस कैयौं डाक्टरकहाँ धाउँछन् जसले उनीहरुलाई कि त औषधी दिन्छन् कि त मनोचिकित्सककहाँ पठाउँछन् ।
पश्चिमी देशहरुमा आजकल योगको नयाँ प्रयोग प्रचलित छ – यौनजीवन स्वस्थ र सुखी बनाउने । योगासनहरुबाट यौनाङ्ग र अन्य सम्बन्धित अंगहरु स्वस्थ हुन्छन्, शारीरिक बलको विकास हुन्छ, र मानसिक तनाव हट्छ । तर त्योभन्दा बढी शरीरप्रतिको सचेतता बढ्दछ । शरीरलाई माया गर्न सिकिन्छ । त्यसबाट यौनको आनन्द लिन र दिनसक्ने क्षमताको विकास हुन्छ । भनिन्छ, यौन मनबाट शुरु हुन्छ अनि मात्र शरीरको स्तरमा पुग्छ । योगका शारीरिक र मानसिक लाभहरुका कारण योगाभ्यासद्वारा मानिसको यौनजीवन सुध्रिन्छ ।
त्यस्तै यौनसम्बन्धी विकृतिहरुबाट मुक्तिका लागि पनि योग उपयोगी छ । किनकि स्वस्थ मन नै विकृतिरहित हुन्छ । प्राकृतिक अवस्थामै यौन सुन्दर हुन्छ । अप्राकृतिक यौन पक्कै पनि विकृत हुन्छ । योगले हामीलाई स्वस्थ र प्राकृतिक अवस्थामा ल्याउँन सहयोग गर्छ । त्यसैले होला विकसित देशमा जहाँ मानसिक तनावको मात्रा अत्यधिक छ, त्यहाँ ‘योगा’ यौनजीवन स्वस्थ बनाउनका लागि नाफामूलक व्यवसायको रुपमा फस्टाउँदो छ ।
हाम्रो समाजमा जतिबेला योगविज्ञानको विकास भयो, त्यतिबेला सायद ब्रह्मचर्यको विशेष महत्व थियो होला । सामान्य अवस्थाबाट मानिसलाई विशेष अवस्थातिर लैजाने ज्ञान दिनु आवश्यक थियो होला । तर अहिलेको सन्दर्भमा पहिला त मानिसलाई असामान्य अवस्थाबाट सामान्य अवस्थामा ल्याउँनु जरुरी छ । अर्थात अस्वस्थताबाट स्वास्थ्यको अवस्थामा ल्याउँनु आवश्यक छ । त्यसपछि मात्र उच्चतर लक्ष्यतर्फ मानिसलाई डोहो¥याउँन सकिएला । शरीरसुखको तीब्र आकांक्षा भएको, तर स्वास्थ्यका कारण त्यो पनि गर्न नसक्नेका लागि इन्द्रिय संयमका लाभहरु बताउँन सकिँदैन । बताइतापनि उसले त्यसलाई मानसिक रुपमा अवलम्बन गर्न सक्दैन । त्यसैले ‘योगा’ को यो व्यवसायलाई निन्दा पनि गरिहाल्न नमिल्ला । मानसिक कुण्ठाहरुको निराकरण गर्न यो सहयोगी हुनसक्छ ।
यसरी बृहत अर्थमा योगको लक्ष्य मोक्ष हो भने संकीर्ण अर्थमा स्वास्थ्य र सुखानुुभूति प्राप्ति हो । एकातिर योगले समाधिको बाटो देखाउँछ भने अर्कोतिर स्वास्थ्य, सुख, र भोगका लागि मानिसलाई योग्य बनाउँछ । हाम्रो यात्राको गन्तव्य जहाँसम्म हो, त्यहीँसम्म पुगिन्छ ।
(पौडेल नीति तथा सदाचार संस्थाका अध्यक्ष हुन् ।)
अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा पुन प्रकाशित