Ram Nawami at Janakpur

रामनवमीमा जनकपुर

एस के यादव 

जनकपुर । जानकी मन्दिर र सीताको जन्मभूमि भनेर विश्वका हिन्दु समुदायबीच प्रसिद्ध जनकपुरमा बुधबार मर्यादा पुरुषोत्तम राम भगवानका अनुयायीहरुको घुइँचो लागेको छ ।
भारतको अयोध्या, राजस्थान, दिल्ली, जम्मुलगायत स्थानबाट सयौको संख्यामा आएका साधुसन्तहरुले राम मन्दिर क्षेत्र नागा बाबाहरुको अखाडा जस्तै देखिन्छ । रामनवमीको अवसरमा विशेष सरसफाई गरिएको मन्दिरमा बुधबार बिहानैदेखि जनकपुर तथा आसपासका जिल्लाबाट हजारौंको संख्यामा आएका दर्शनार्थीहरुले दर्शन र पूजापाठमा व्यस्त छन् ।
दुई सय वर्ष भन्दा पुरानो यो मन्दिरको जगमोहन (मुल मन्दिर) जीर्ण भएर भत्केको छ । भूकम्प अगावै भत्केको मन्दिरको पुनर्निर्माण कार्य जारी छ । राम नवमी तथा रामजानकी विवाह पञ्चमी उत्सवको बेला लाखौ श्रद्धालुको भिड लाग्ने यो मन्दिरको संरक्षणमा सरकारी स्तरबाट प्रभावकारी पहल नभएको आरोप स्थानीय महावीर युवा कमिटीका अध्यक्ष धमेन्द्र साहको छ । उनले गुठी संस्थानको स्वामित्वमा रहेको मन्दिर क्षेत्रलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचिमा कायम गरिनुपर्ने माग गरे ।
राम नवमी अवसरमा भारतका विभिन्न प्रान्तबाट आएका साधुसन्तहरुले पनि सरकारी निकाय गुठी संस्थानको स्वामित्वमा गएदेखि मन्दिरको संरक्षण हुन नसकिरहेको आरोप लगाउँछन् । ‘जनकपुरको राम मन्दिर प्राचिणकालदेखि नै साधुसन्तहरुको अखाडा रहँदै आएको छ । यो क्षेत्रलाई गुठीले नियन्त्रणमा लिएदेखि साधुसन्तको सत्कारमा कमी आएको छ’ दिल्लीबाट आएका साधु गोपाल गिरीले भने । उनले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गर्दै यसको लागि नेपालका प्रधानमन्त्रीसँग निवेदन गर्ने बताए ।