सागका विविध पाटा

सुटिङ मा बन्दुक नपड्किनु, खेलाडीलाई खेल्ने सामग्रीको उपलब्धता नगराईदिनु, खेल्ने बेला सम्म पनि जर्सी वितरण नै नहुनु, कुनै आइनो न साइनो नै नभएका मन्त्रीहरूलाई समेत दौरासुरुवाल सिलाएर टक्रयाइदिनु । यी कती नियमसम्मत थिए होलान् त ? सदस्यसचिवज्यु ले भने जस्तै सबै कुरा ठीक छ त ?

अहिले देश खेलमय भएको छ । तेह्रौं साग भव्यताका साथ भई नै रहेको छ । देशले पचास श्वर्ण पदकको दाबी गरेको थियो । हेरौं अन्त्य सम्म मा कति पुग्ने हो । तर, आम नेपालीले आशा गरे भन्दा चाहिँ निक्कै माथी नै पुगेको पक्का हो । अहिले सम्मको इतिहासमा सागमा यत्तीका मेडल हासिल गरेको यो पहिलो पटक नै हो।


मेडलको तर्फ बाट र सधैं काठमाण्डौमा मात्र हुने प्रतियोगिता अहिले मोफसल (पोखरा र जनकपुर) सम्म पुग्नु भनेको प्रगतिशील नै मान्नु पर्छ । आशा छ अब हुने यस्ता प्रतियोगिता काठमाण्डौमा नगरेर पूर्ण रूपमा मोफसलमै गर्ने व्यवस्था मिलाउन अग्रसर हुनु जरुरी छ । देश चिनाउने यस्तो मौकामा सधैं किन काठमाण्डौ मात्र देखाउनु विश्वलाई ? भ्रमण वर्षमा बीसलाख पर्यटक भित्रयाउने लक्ष्य लिएको नेपालले यसबाट अवश्यपनि फाइदा लिने नै छ ।


खेल भनेको खेलाडी मात्र थुपार्नु पक्कै पनि होइन यसका लागि खेल्ने पुर्वाधारहरूको निर्माण पनि उत्तीकै अपरिहार्य वास्तविकता हो । देश प्रदेश स्तरमा गइसकेको अवस्थामा प्रत्येक प्रदेशहरूले साना ठूला, राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रतियोगिता गर्दै लैजानु पर्दछ । जसले गर्दा पूर्वाधारहरूको निर्माण गर्नै पर्ने बाध्यता आइपर्छ र त्यही मौकामा केहि भएपनि खेल्ने पूर्वाधारको विकास हुने छ । यसले गर्दा मोफसल अर्थात जिल्ला स्तरमा खेलाडीहरूको उत्पादनमा समेत सकारात्मक प्रभाव पर्दछ । खेल्न रहर भएर पनि आफ्नो खेललाई विद्यालय भित्रै सिमीत पारेर किताव कापी च्याप्न बाध्य, नदेखिएका प्रतिभारुपी स्थानीय बालबालिकाले भोलिको लागि देशलाई अझ ठूलो गुन लगाउने पक्का छ ।


जमाना अहिले पहिलेको जस्तो छैन । यहाँ अपवादलाई छोडेर हेर्ने हो भने खेलेरै पनि जीवन सञ्चालन गर्न सकिने वातावरण बनिरहेको छ । खेलुन्जेल पाउने पुरस्कार र प्रायोजकको तर्फबाट हुने आर्थिक लाभ । खेल जीवन पछाडी बिभिन्न स–साना विद्यालय देखि कलेज स्तर सम्ममा खेल शिक्षकको रुपमा रोजगारी पाउने निश्चितता । त्यसै गरी बिभिन्न क्लब, डोजो तथा संस्थामा कोच को रुपमा जागिरको व्यवस्था । साथै सरकारी, गैर सरकारी तथा विभागीय क्लबको तर्फबाट प्रशिक्षक, म्यानेजर जस्ता पदमा जागिर पाउनु । देशमा मात्र सिमित नभएर अहिले खेल क्षेत्रका व्यक्तिहरूको माग विदेशमा समेत रहेको हाम्रै अहिलेका खेलाडीको ब्यस्तताले देखाइरहेको छ ।


नाम, दाम, स्वदेश तथा विदेशमा माग को लागि त हाम्रो अगाडी क्रिकेटका खेलाडी सन्दिप लामिछाने नै काफी छन् । उनी अलि उच्च रुपमा यी सबको माग भएका खेलाडी हुन्, यस बाहेक पनि क्रिकेटकै प्राय धेरै खेलाडी विदेशी क्लबमा आबद्ध छन् । फुटबलमा त झन पहिल्यै देखि नेपाली खेलाडीहरू खेल्न गइरहेका छन् । गणेश थापाहरू पहिले पनि विदेशमा खेल्थे, राष्ट्रिय गोलकिपर किरण चेम्जोङ, कार्वाहिमा परेका बिमल घर्तीमगर जस्ता हस्तिहरू पनि विदेशमा माग भएका खेलाडीहरू हुन् । त्यसैगरी, विशेषतः मार्सल आर्टका खेलाडी तथा कोचहरूले जापान, कोरिया, चाइना जस्ता देशमा विभिन्न प्रकारका प्रतियोगिता र तालिमहरू लिन गइरहेकै हुन्छन् ।


भन्नुको तात्पर्य अहिले खेल क्षेत्र पहिलेको तुलनामा निक्कै माथी उठेको छ । उसले राष्ट्रको प्रतिनिधित्व गरिरहेको हुन्छ भने उसलाई पनि राष्ट्रले चिनिरहेका हुन्छन् । अहिलेकै प्रतियोगिहरूले मेडल जितेपछि आफ्नो मातापिता भनेर अँगालो हालेर रुँदा कती प्रकारका बाबुआमाको अनुहार देखिईरहेको छ ।


खेल क्षेत्रको विकास गर्नु मा अर्को राम्रो पक्ष भनेको हाम्रो जस्तो देश, जहाँ जातको आधारमा मानिसलाई छुवाछुत देखि अन्य भेदभाव गरिन्छ, थेप्चे र चुच्चे को बिचमा विवाद उठाइन्छ, पहाडीया र मधेशी भनेर छुट्याउने प्रयत्न गरिन्छ । अहिले हेरौं खेलको माध्यमबाट सबैले यो कुरा बिर्सिएका छन् । उद्घाटन सत्रमा सयौं थुँगा फूलका एउटै माला नेपाली भनेर उठेर गाउँदा सबैको मनमस्तिष्कमा कसरी राष्ट्रियता र एकता उर्लिएर आएको थियो । खेल एकताको सुत्रमा गाँस्ने निर्विकल्प माध्यम हो ।


खेल शुरु हुनु अगाडी नै एउटा कुराको राम्रै अनुमान गरिएको थियो, त्यो हो नेपालले व्यवस्थापकीय पक्षमा अवश्य पनि लथालिंग पारा देखाउने नै छ । त्यो भयो पनि, सुटिङ मा बन्दुक नपड्किनु, खेलाडीलाई खेल्ने सामग्रीको उपलब्धता नगराईदिनु, खेल्ने बेला सम्म पनि जर्सी वितरण नै नहुनु, कुनै आइनो न साइनो नै नभएका मन्त्रीहरूलाई समेत दौरासुरुवाल सिलाएर टक्रयाइदिनु । यी कती नियमसम्मत थिए होलान् त ? सदस्यसचिवज्यु ले भने जस्तै सबै कुरा ठीक छ ? त्यत्रा पदाधिकारी र विभागहरू भएर पनि स–साना कुरालाई बेवास्ता गरिदिंदा र अति आवश्यकीय कुरालाई पनि खरिद नगरिदिंदा यो प्रतियोगिता पनि नुन बिनाको अचार हुने पक्का छ ।


हुनत अहिले धमाधम खेल भईरहेको छ । यसको समाप्ति पछि नेपालमा एक लहर यसमा भएका अनियमितता र भ्रष्टाचारको विषय अवश्य नै उठ्ने छ । प्रश्न यत्ती मात्र हो कि यसमा कती प्रमाण पुग्छ र कती पुग्दैन भन्ने नै हो।


अर्को खट्केको पक्ष, समाचार भाइरल बनाउने नाममा वा हेडलाईन बिकाउनको लागि, खेलाडीले मेडल जित्ने बित्तिकै सबैले खेलाडीको आर्थिक पक्षलाई नै उजागर गर्ने प्रयत्न गरेको देखियो । कसैले खानै नपाएको, कसैले ट्रयाकसुट किन्ने पैसा नभएको, कसैको जुत्ता साथीको जस्ता कुराले हाम्रो देशका खेलाडीहरू त साह्रै निरिह रहेछन् भन्ने भान स्वदेशमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा समेत सन्देश गइरहेको छ । खेल भनेको व्यक्तिको क्षमताको कुरा हो जसमा तीनवटा तत्व हुनु अति आवश्यक छ, अनुशासन, मेहनत र निरन्तरता । क्षमता भएका योग्य व्यक्ति जहाँका पनि र जस्तो पनि हुन सक्छन् । खेलाडीको निरिहता वा गरिबी भनेको नेपालमा मात्र होइन यो विश्वभरीकै खेलाडीको हालत सँग मिल्दोजुल्दो नै हुन्छ । पेलेको कथा पढ्नेहरूलाई पनि थाहा होला उनी पनि झुम्राको बल खेलेरै आएका हुन् । यस्ता उदाहरण त हजारौं छन् । त्यसैले यी कुराहरू भविष्यमा सरकारले हेर्नु पर्ने निकाय सम्म राख्दा राम्रो होला । अहिले यसैलाई ठूलो हेडलाईन बनाउनु हुँदैन । त्यसो हो भने त बेलायत बस्ने नेपाली पनि छन् जो खेल्नै को निमित्त नेपाल आएका छन् भोली फेरि फर्कने नै हो । त्यसैले हरेक क्षेत्रमा सबै प्रकारका मानिस हुन्छन् ।


खेलको पूर्वाधार बनाएन भनेर कराउने हामी जनता पनि नसुध्रने किन होला ? अहिले सामाजिक सञ्जालमा हेरौं भाइरल भएका फोटोहरू, रंगशालाका भर्खर निर्मित नयाँ नयाँ कुर्सि भाँच्ने, टेक्ने, बंग्याउने गरिरहेका मानिसहरू । यीनीहरूलाई सकिन्छ भने सिसिटिभी वा अन्य तरिका बाट यकिन गरेर कानूनी कार्वाहिमा ल्याउनु पर्दछ होइन भने यसै गरेर स्पष्ट सँग अनुहार चिनिने गरेर देख्ने व्यक्तिहरूले फोटो वा भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर सक्दो बेईज्जत गरेर जनस्तरबाट कार्वाहि गर्नु पर्दछ । सवाल दशरथ रंगशालाको मात्र होइन र सवाल सागको मात्र होइन, सवाल पोखरा, बिराटनगर, नेपालगञ्ज, बीरगञ्ज वा धनगढी जस्ता सबैतिरको हो साथै सबै प्रकारका संरचनाको पनि हो ।