जनैपूर्णीमासंगै नागपञ्चमी
अग्रीम जनैपूर्णीमासंगै नागपञ्चमी
सदृश्य संवाददाता
काठमाण्डौं, १३ साउन ।
तस्विर: सुनिल शर्मा
साउन २३ गते खण्डग्रास चन्द्र ग्रहण परेकाले दशदिन अगाबै नाग पूजा गर्दै तागाधारीहरुले रक्षा बन्धन यज्ञोपवित मनाएका छन् । जनै फेरी साँस्कृतिक पर्व रक्षाबन्धन एवं ऋषी तर्पणी र नाग पञ्चमी एकै दिन मनाईयो ।
सर्प वर्गका जनावरको सम्बद्र्धनबाट जैविक एवं वातावरणीय सन्तुलन कायम भई कृषिजन्य उत्पादनमा सहकाल आउने विश्वासका साथ नेपाली समाजमा नाग पूजा मनाइने चलन छ ।
विदेशी सहयोगमा पर्यावरण सन्तुलनका नाउमा विसादीहरु प्रयोग गरेर जीवजन्तु बिहिन बनाउनेहरुले बन्यजन्तु र किराफट्याँग्रा संरक्षण गर्ने कार्यक्रम चलाउनु भन्दा धेरै अघिदेखि वनस्पति र जीवजन्तु संरक्षण नेपाली समाजको संस्कृति बनिसकेको संझना नागपूजाले गरिरहेको छ । नागपूजा मनाइने ऐतिहासिक परंपरा आजको होइन ।
पशुपंक्षी बस्तुभाउ, घरपरिवारमा सकारात्मक प्रभाव कायम रहोस् भन्ने विश्वास गर्दै प्रत्येक बर्ष श्रावण शुक्ल पञ्चमीको दिन नाग पंचमी मनाइन्छ ।
घरघरमा नागको तस्वीर बनाई मुल ढोकामा गाइको गोवर लगाएर टाँसिन्छ । कपास, कपासकै बत्ती, गाइको दुध, सेतो कपडा, दुबो , फलफुल लगायत सामाग्रीहरुका साथ पुजाआजा धुपबत्ती गरि नागको आराधना गरिन्छ । हिन्दु एवं प्रकृति पुजन गर्नेहरु सांस्कृतिक पर्वको रुपमा देशभर परापूर्वकालदेखि नागपञ्चमी मनाइने गरिन्छ ।