नेताहरू जनमतको कदर गर

नेताहरू कुर्सिमा मात्र आँखा नलगाउनुस् । तपाइँहरुको मुल्य दिन प्रतिदिन हाल नेपालको शेयर बजारको गती जस्तै तल भन्दा तल खस्कँदो रुपमा अगाडी बढीरहेको छ । आफू त यस्तै भइयो, छोराछोरी र सन्तान दरसन्तानलाई पनि भोली यस्ता नेताको सन्तान भन्ने दिन नआओस्, उनीहरूले बाटोमा कान थुनेर र शिर निहुराएर हिंड्नु नपरोस् ।

अहिले नेपाली राजनीति, अझ त्यसमा पनि नेकपा भित्र एउटा विषय जबरजस्त रुपमा सतहमा आएको छ त्यो के भने बामदेव गौतम लाई प्रधानमन्त्री बनाउने । पहिले सुनिन्थ्यो प्रचण्ड र केपी ओलीको बीचमा आधा आधा समय प्रधानमन्त्री बन्ने सहमती भएको थियो भन्ने तर अहिले बामदेवले पनि मलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको थियो भन्ने कुरा बाहिर आएको छ ।


अब कुनै दिन माधव नेपाल र झलनाथ खनाल पनि यहि विषय लिएर नआउलान् भन्न सकिन्न, त्यतीमात्र होइन विष्णु पौडेल, ईश्वर पोखरेल, सुभाष नेम्वाङ, नारायण काजी, रामबहादुर थापा हरूले पनि दाबी पेश गर्न सक्नेछन् । हुनत जनताले पनि दोश्रो पुस्तामा त्यो पद हस्तान्तरण गर भनिरहेकै छन् ।


के बामदेव सँग गोप्य सहमती वा जेन्टलमेन्ट एग्रीमेन्ट भएकै थियो त ? यदि थियो भने किन गरियो ? गौतम एमाले र माओवादी पार्टी एकिकरण गर्ने सुत्रधार हुन् तर उनलाई प्रधानमन्त्री दिन्छु भनेर फकाउनु पर्ने बाध्यता थियो र ? बरु प्रचण्डलाई वा केपी ओलीलाई त्यो भन्न सुहाउँछ ’cause उनीहरु नै उक्त पदका अध्यक्ष थिए र यदि उनीहरुले अनिच्छा गरेमा पार्टी एकिकरण नहुने पक्का थियो ।


यदि बामदेव सँग त्यस्तो सम्झौता भएको भए त्यतीबेलाको चुनावमा एमाले र माओवादीको संयुक्त उम्मेदवार भएको र स–साना नेताहरुले त सजिलै जिती रहेको अवस्थामा उनले त्यत्रो भोट ल्याएर हार्नु मा कतै षडायन्त्र त थिएन वा कसैको अप्रत्यक्ष हात त थिएन ? हुनत वहाँ जस्तो कमरेडले पत्ता लगाइसक्नु भयो होला ?


बामदेव महोदयलाई एकपल्ट सत्ताको प्रमुख हुने रहर छ भने किन उनी जन अभिमतको कदर गर्नमा आनाकानी गरिरहेका छन् । एकपल्ट पराजीत भइसकेपछि कसरी प्रतिनिधी सभामा छिर्ने भन्ने दाऊ खोजेर बसिरहेका छन् । घरी बाग्लुङबाट चुनाव लड्ने, घरी काठमाण्डौका रामबीरले सिट खाली गरिदिने घरी पोखरा बाट चुनाव लड्ने भन्दै प्रतिनिधी सभा छिर्ने सजिलो बाटो र प्रधानमन्त्रीको कुर्सिमा उक्लने एउटा भर्याङ खोजिरहेछन् ।


उनको लागि पार्टी भित्र हुँदै नभएको उपाध्यक्ष पद सिर्जना नै गरियो विद्यान संशोधन गरेर भएपनि । अब हुँदा हुँदा उनी एक व्यक्तिको महत्वकांक्षाकै लागि संविधान समेत संशोधन गरेर राष्ट्रिय सभामाका सांसद समेत प्रधानमन्त्री बन्न सक्ने बाटो खुलाइनु पर्ने उनको माग रहेको रहेछ ।
निर्लज्जताको पनि एउटा सिमा हुन्छ भनेको जस्तै के राजकिय पद बिना राजनीति गर्नु बेक्कार हो ? के यसपालीको साटो जनतालाई चित्त बुझ्ने राम्रो राम्रो कर्म गरेर अर्को चुनाव, अब बाँकी कती नै छ र, त्यसमा जाँदा अत्यधिक बहुमत सहित प्रतिनिधि सभामा चुनिन तयार गरे हुँदैन ? त्यसपछि आफ्नो संसदिय दलमा चुनिएर दलको नेता बनेर प्रधानमन्त्री बनेर देखाइदिए हुँदैन ? यो सोझो ढोकालाई छलेर अनेक बाँगोटिँगो ढोका प्रयोग गरेर पस्न खोजे त्यसले उनको बाँकी रहेको सकारात्मक छबी पनि धुमिल हुने निश्चित छ ।


भनिरहनु पर्दैन, जगजाहेर छ, हालका प्रधानमन्त्री बिरामी छन्, सर्वसाधारण हो भने ब्ल्याँकेट ओढेर हर्लिक्स पिइरहनु पर्ने मानिस हुन् तर उनी देशको कार्यकारी पद चलाईरहेका छन् । उनको इच्छाशक्ती र प्रतिनिधी सभामा उनको बहुमत रहुन्जेल त्यो पद अर्कोले पाउँदैन । यदि उपचारार्थ लामो समय अस्पताल, स्वदेश वा विदेशको, मा बस्नु पर्ने अवस्था सृजना भयो भने त्यतीबेला कार्यकारी रुपमा उनको अनुपस्थितीमा कार्यवाहक प्रधानमन्त्रीको हैसियत भएपनि बामदेवले खोजेका हुन् भने राष्ट्रिय सभाको ढोका खुल्लै थियो । जहाँबाट उपप्रधानमन्त्री बन्न त कसैले रोक्न सक्दैन थियो । ईश्वर पोखरेलको ठाउँमा उनले कायममुकायम प्रधानमन्त्री चलाउन पाइ हाल्थे तर संविधान संशोधन गरेर भएपनि प्रधानमन्त्री नै बन्न पाउनु पर्ने तर्क चाहिँ कुनै ढंग बाट पनि चित्त बुझाउन र बुझ्न सकिनै ठाउँमा छैन ।


धन्न त्यतीबेला यो बुँदा संविधानमा हालिएको रहेछ । यसको लागि तत्कालिन संविधान सभाका सदस्यहरूलाई धन्यवाद दिनै पर्दछ । नत्र त, पहुँचवाला नेताले प्रतिनिधी सभाको चुनाव पनि लड्ने अनि त्यहाँ हारे सिधै राष्ट्रिय सभामा छिरेर प्रधानमन्त्री बन्ने छोटो दुरी र सजिलो बाटो रोज्थे । जसरी पनि उनीहरुकै हात माथी पर्ने निश्चित थियो ।


हामी सबैले जाने बुझेकै हो, यदि ओली को ठाउँमा अरु कुनै व्यक्ति यो नेकपाको बहुमतको सरकारको प्रधानमन्त्री बनेको भए पाँच वर्ष सम्म वा पूर्ण कार्यकाल सम्म उक्त पदमा टिकिरहनै नसक्ने पक्का रहेछ । त्यो व्यक्तिलाई त्यहाँ आफ्नै साथी वा साथीहरुले टिक्नै नदिने निश्चिित नै रहेछ ।
के थाहा अझ पनि समय करिब दुई वर्ष बाँकी छ । नैतिकता गिरेका आफ्नै पार्र्टीका नेताले अविश्वासको प्रस्ताव ल्याएर सत्ताबाट हटाइदिन सक्नेछन् । नेपालको राजनीतिमा सधैं मिलिजुली र प्रत्येक नौ महिनामा एउटा प्रधानमन्त्री र अनगिन्ती मन्त्री उत्पादन भइरहने कारखानामा अहिले कारोवार ठप्प छ ।


हाम्रो जस्तो राजनीति सिकेका नेता भएको देशमा बरु सकिन्छ भने प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित नै बनाउनु पर्ने प्रावधान राख्नु उपयुक्त हुने रहेछ । प्रत्यक्ष निर्वाचन भए पछि इच्छा लाग्ने जती चुनावमा भाग लिनेछन्, जसले जित्छ ऊ पाँच वर्षको लागि प्रधानमन्त्री बन्छ । यदि उनीबाट देशको अहित हुने कुनै कार्य भएमा उनलाई कसरी उक्त पद बाट हटाउन सक्ने वा हटेका मानिने भन्ने बुँदाहरु त बनाउन सकिहालिन्छ ।


नेताहरू कुर्सिमा मात्र आँखा नलगाउनुस् । तपाइँहरुको मुल्य दिन प्रतिदिन हाल नेपालको शेयर बजारको गती जस्तै तल भन्दा तल खस्कँदो रुपमा अगाडी बढीरहेको छ । आफू त यस्तै भइयो, छोराछोरी र सन्तान दरसन्तानलाई पनि भोली यस्ता नेताको सन्तान भन्ने दिन नआओस्, उनीहरूले बाटोमा कान थुनेर र शिर निहुराएर हिंड्नु नपरोस् ।