शक्ति सञ्चयको खेल सभामुख पद !

के सुभाष नेम्वाङले गर्ने काम अग्नी सापकोटाले गर्न सक्दैनन, अग्नी सापकोटाले गर्ने काम शिवमायाले गर्न सक्दिनन्, शिव मायाले गर्ने काम पम्फा भुषालले गर्न सक्दिनन् वा बाँकी अन्य कसैले गर्न सक्दैनन् ? यो कुन व्यक्तिले काम गर्न सक्छ वा कानून बुझेको छ वा उक्त पदको लागि चाहिने न्युनतम योग्यता छ कि छैन भन्दा पनि आफ्नो सबभन्दा नजिकको मान्छे वा आज्ञाकारी मान्छे वा प्यारो मान्छेलाई नै उक्त पदमा आसिन गराएर आफ्नो पल्ला गह्रुँगो गराउने मनसाय मात्र हो ।


एमालेलाई बहुमतको सुनिश्चितता र माओवादीलाई सेफल्याण्डिङको आवश्यकताले अन्तत यी दुई पार्टी बीचमा एकिकरण भएर नेकपा बनेको हो । नेपालमा रहेका कम्युनिष्ट जती सबैको एउटै पार्टी हुनु पर्छ भनेर एकिकरण भएको होइन । सिद्धान्त मिलेर एउटै पार्टी भएको हो भन्नुमा त एक प्रतिशत पनि सत्यता छैन, कहाँ एउटाले माक्र्स र लेनिनलाई सैद्धान्तिक गुरु मानेको पार्टी कहाँ अर्कोले नाम नै माओत्सेतुङलाई अर्पण गरेको पार्टी ।


स्वार्थ सधैं नकारात्मक हुँदैन यदि त्यसले बृहत्तर हित गर्दछ भने । त्यसैले यी दुई पार्टीको बीचमा भएको एकिकरणले अन्ततः नेपाल राष्ट्रले केन्द्रमा एउटा स्थिर सरकार प्राप्त गर्यो साथै अन्य छ वटा प्रदेशमा पनि बहुमतिय सरकार स्थापना हुन पुग्यो । नेपाल र नेपाली जनताको बुझाइमा देशले गती लिन नसक्नुमा प्रमुख कारण राजनीतिक स्थीरता नभएरै हो भन्ने बुझाई थियो र धेरै हद सम्म त्यसमा सत्यता पनि छ।


हरेक क्षेत्रमा पछाडि पर्नुको मुख्य कारण अस्थिर सरकारलाई नै लगाइन्थ्यो । शिक्षा, स्वास्थ्य, यातायात, सडक, खानेपानी, बिजुली, रोजगारी, कृषि, ब्यापार, सेवा, आयात, निर्यात, विदेश स्थित कुटनितीक नियोगको उदासिनता, स्वदेशमै भएका सरकारी कार्यालयका पियन देखि मुख्य सचिव सम्मको रवैया, प्रहरीको सिपाही देखि महानिरिक्षक सम्मको व्यवहार, टुँडिखेल, गुठी लगायत अन्य सरकारी सम्पत्ती माथीको अतिक्रमण, राष्ट्रपतिको सवारीमा हुने जाम, मन्त्रीको आतंकित बनाउँदै साईरन बजाउँदै अगुवा पछुवा सहितको हिंडाई, सरकारी सवारी साधन माथी निजामती, सेना र प्रहरी परिवारको चरम दुरुपयोग, फुटपाथको अतिक्रमण, अनियन्त्रित मदिराजन्य पदार्थको बिक्री वितरण र त्यस्तो पसलहरुले बेरोकटोक खुल्लमखुल्ला सेवन गराउन पाउने छुट, सार्वजनिक सवाधरी साधनको मनपरी तन्त्र लगायत लाखौं वा भएजती समस्याको समाधानको एउटै उपाय भनेको अस्थिर सरकारबाट देशलाई निकास दिलाई स्थीर सरकार बनाउनुनै हो भन्ने थियो ।


यी दुई पार्टीले यदि हामीलाई मत दिएर चुनावमा बिजय बनाएर पठाएमा त्यसपछि बन्ने स्थानीय, प्रदेश र केन्द्रको सरकारले हाल सम्म देखिएका यस्ता अनगिन्ती समस्याको चाङलाई समाधान गराउने छ भनेर नेपाली जनता समक्ष प्रतिबद्धता जाहेर गरे । चुनावमा यी दुई पार्टी मिलेर उठे पनि चुनाव पछि एक हुन्छौं भन्ने अर्को प्रतिबद्धता पनि गरे । जसलाई स्वागत गर्दै नेपाली जनताले अत्यधीक मतका साथ मन खोलेर यी पार्टीको पक्षमा मतदान गरिदिए परिणामस्वरुप दुई नम्बर प्रदेश बाहेक अन्य क्षेत्रमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार बनाउन यथेष्ठ संख्यामा जनप्रतिनिधीले बहुमत प्राप्त भयो ।


पार्टी पनि निकै कष्टका साथ, भागबण्डाका अनेक मोडल पछि, एक भयो, नेपाल कम्युनिष्ट पार्टी वा नेकपाको नाम लिएर । सबै तिर उधारोमा सम्झौता गरेको कारण माउ पार्टी मात्र होइन यसका भातृ संगठनमा पनि को नेतृत्वमा जाने र कसले कसलाई नेता मान्ने नमान्नेमै रुमल्लिइरहेको छ । जसको ज्वलन्त उदाहरण प्रतिनिधी सभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा पूर्व माओवादले पाउनै पर्ने अडान लिने र पूर्व एमालेले जसरी पनि आफ्नै भागमा पार्न खोज्ने प्रवृत्ति बाटै दुनियाँको अगाडी छर्लंगै भइरहेको छ ।


सोझो हिसावले हेर्दा पार्टी एउटै भएको अवस्थामा किन यो पूर्व भन्ने फुर्का बाहिर आएको होला जस्तो लाग्छ तर गहिरिएर हेर्दा नेकपा भित्रको राजनीतिमा अहिले शक्ति सञ्चय गरेको खण्डमा भविष्यमा हुने सरकारका गतिविधी माथीको नियन्त्रण र महाधिवेशन सम्मको चित्रण गरेर यस्तो भइरहेको देखिन्छ । यदि त्यसो नहुँदो हो त शिव माया तुम्बाहाम्फे एक मात्र निर्विवाद उम्मेदवार हुने थिइन् । उनलाई शिक्षा, लिंग, जातिय र अनुभाव जस्ता सबै पक्षले योग्य बनाएकै थियो तर अन्ततः अग्नी सापकोटा उक्त पदका योग्य उम्मेदवार निस्किए । हुनत दलिय राजनीतिमा यस्तो हुन्छ तर यदि यहाँ पूर्व भन्ने हरुका बीचमा तानातान नभइदिएको भए यती हद सम्म हुने थिएन।


के सुभाष नेम्वाङले गर्ने काम अग्नी सापकोटाले गर्न सक्दैनन, अग्नी सापकोटाले गर्ने काम शिवमायाले गर्न सक्दिनन्, शिव मायाले गर्ने काम पम्फा भुषालले गर्न सक्दिनन् वा बाँकी अन्य कसैले गर्न सक्दैनन् ? यो कुन व्यक्तिले काम गर्न सक्छ वा कानून बुझेको छ वा उक्त पदको लागि चाहिने न्युनतम योग्यता छ कि छैन भन्दा पनि आफ्नो सबभन्दा नजिकको मान्छे वा आज्ञाकारी मान्छे वा प्यारो मान्छेलाई नै उक्त पदमा आसिन गराएर आफ्नो पल्ला गह्रुँगो गराउने मनसाय मात्र हो ।


सुनिंदैछ एमसिसि पास गराउन पनि आफ्नो व्यक्ति नै चाहिन्छ, अब के अन्य व्यक्तिको तुलनामा अग्नी सापकोटाले मात्र एमसिसि पास गराउने ल्याकत राख्छन त ? तर यो फगत एउटा बहाना मात्र हो । ’cause एमसिसिमा नेकपाका शिर्ष नेता मध्ये कसले बिरोध गरेको छ र ? यो त ढिलो चाँडो पास गराएरै छाड्छन् । यस विषयमा चाइनिज राजदुत देखि अमेरिकी राजदुत सम्मले आ–आफ्नो धारणा प्रस्तुत गरिसके वा गर्न लगाईसकियो । नेपालमा भएका ठूला अखवार देखि अनलाईनसम्म वा पहुँच हुने मिडियामा यसलाई आफूतिर तानिईसकियो । त्यसैले सभामुखले चाहँदैमा अब यसलाई संसदमा छलफलमा ल्याउन रोक्न कुनै तागतले सक्छ जस्तो लाग्दैन । भीम रावल र एक दुई जना सांसदले भ्याएजती टेलिभिजनमा अन्तरवार्ता दिएको भरमा यो फिर्ता जाने पक्षमा छैन ।


एमसिसिमा त राष्ट्रिय सहमतीनै हुने पक्का छ । शेर वहादुर देउवा लगायत आम काँग्रेसले पास गराउनै पर्छ भनेर मैदानमा आइसके, उता कमल थापाले पनि यहि अभिव्यक्ति दिईसके । राजपा, समाजवादी लगायतले आफ्नो धारणा ल्याइसकेका छैनन् ढिलो चाँडो त्यसले पनि सकारात्मक रुप नै लिने पक्का छ बाँकी चित्र वहादुरको धारणा रहने छ । चित्र वहादुर र नारायणमान बिजुक्छेको पार्टी न कहिल्यै राष्ट्रिय पार्टीको रुपमा आउन सक्यो न उनीहरुको बिरोधले यसलाई फेल गराउननै सक्षम हुनेछन् ।


नेपाली जनता सधैं ठगिने नै भए । जसलाई जुन तरिकाले सरकार चलाउ भनेर भोट दिएर सत्ता सुम्पिए, एउटा पदको लागि, दशैं अगाडी खाली भएको सभामुखको कुर्सि अहिले सम्म भर्न सकेनन् । बरु कृष्ण वहादुर महराले लेखेको राजीनामा पत्र नै ठीक रहेछ । उनले यो विषय किनारा नलागे सम्म मात्र पदबाट राजीनामा भन्ने आशय सहितको राजीनामा पत्र लेखेका थिए । धन्न शक्तिशाली पार्टी, धन्न शक्तिशाली नेता ।