खड्ग जात्रा 

काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा खड्ग जात्रा पर्व मनाइएको छ । विजया दशमी र एकादशिका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्किएका थिए । खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ । खड्ग जात्रामा शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ ।
विजया दशमी का दिन काठमाडौंमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी ,महाबौद्घ, किलागल र तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको हो । त्यस्तै भक्तपुरको तलेजुमा मध्य रात्रिमा खड्गजात्रा सम्पन्न भएको छ । कीर्तिपुरमा पनि सोही दिन महिलाले खड्ग जात्रा निकालेका छन् । यहाँका महिलाले खड्गको सट्टा सिन्दूरकदानी बोकेर नगर परिक्रमा गरि खड्ग जात्रा निकाल्ने परम्परा छ ।
एकादशीका दिन काठमाडौंको असनमा  विशेष तरिकाको खड्ग जात्रा निकालिन्छ । यहां तुलाधर समुदायका एक नाबालक लाई नाइके बनाई खड्ग समातेर परिक्रमा पश्चात कुभिन्डो काटे पछि जात्रा सम्पन्न हुन्छ । यसैदिन टोखा ,दोलखा ,ललितपूरको बुंगमति र ठिमीमा पनि खड्ग जात्रा पर्व मनाइएको छ ।
असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा खड्ग जात्रा पर्व मनाउने गरिन्छ ।
शब्द र तस्विर: सुनिल शर्मा