किन बन्यो चितवन सत्ता–प्रतिपक्षको शक्ति प्रदर्शन स्थल ?

किन बन्यो चितवन सत्ता–प्रतिपक्षको शक्ति प्रदर्शन स्थल ?

सदृश्य समाचार विश्लेषण—

प्रथम चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बैसाख २८ गते चितवनको भरतपुरमा आयोजित सभा धेरै नै चर्चित रहे । पहिलो चरणको स्थानीय निर्वाचनको यो चर्चित सभा रह्यो ।
माओवादी—कांग्रेस चुनावी तालमेल अन्तर्गत माओवादी केन्द्रकोतर्फबाट उक्त महानगरको मेयरकी उमेदवार प्रचण्ड पुत्री रेणु दाहालको पक्षमा मतदाता जुटाउन प्रधानमन्त्री प्रचण्ड र नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा अन्यत्रका कार्यक्रम हापेर एउटै जहाज चढेर चितवनको संयुक्त आमसभालाई सम्वोधन गर्न भरतपुर पुगे ।

नारिएर गएका वर्तमान र भावि प्रधानमन्त्री द्वय पुष्पकमल र शेरबहादुर अर्थात सत्तापक्षीय नेताहरुको सम्वोधनले नेपालको आगामी केहि समयसम्मको राजनीतिक धारलाई प्रष्ट पारेको छन् ।
प्रतिपक्ष धार पनि के कम ? आफ्नो धारणा प्रष्टपार्न विपक्षी नेता केपी ओली पनि भरतपुर पुगेर सत्ता गठबन्धनविरुद्ध धावा बोले ।

सत्ताधारी गठबन्धनका दुवै नेताको सम्वोधनको सार भनेको अहिलेको सत्ता गठबन्धनको निरन्तरता हो । साथै यस गठबन्धनको निरन्तरताको अगाडि तगारोको रुपमा खडा हुने कुनै पनि चुनौतीको मुकाविला गर्ने प्रतिबद्धता पनि उक्त कार्यक्रममार्फत व्यक्त गर्न चाहेको प्रष्ट हुन्छ ।

कांग्रेस सभापति देउवाले यो गठबन्धन दीर्घकालसम्म जारी रहने उद्घोष गरे । यसको अर्थ माओवादी केन्द्र र कांगे्रसको गठबन्धन स्थानीय, प्रान्तीय र संसदीय तहको निर्वाचनसम्म कायम राख्ने उद्घोषले यी दुई राजनीतिक दलको सत्ता निरन्तरता कायमै रहने छ । साथै, यो गठबन्धनको नेतृत्व प्रचण्डले निकट भविष्यमा देउवालाई हस्तान्तरण गर्ने छन् । त्यसपछि पनि एकता कायम रहने स्पष्ट संकेत दुबै नेताले गरेका छन् ।

 

गत साउनमा जे-जस्तो परिस्थितिमा एमाले–माओवादी गठबन्धन तोडेर काँग्रेस–माओवादी गठबन्धनले प्रधानमन्त्री केपी ओलीलाई संसदमा अल्पमतमा पार्न सक्यो । त्यसपछि नै वर्तमान गठबन्धन सत्तामा पुगेको हो । यो गठबन्धन यहाँसम्म आउँदा जेजस्तो परिस्थिति कायम रहयो र जुन-जुन शक्तिले यो निर्माण गरे, त्यसले निरन्तरता पाउँने संकेत चितवन संबोधनले गरेको छ ।
जुन परिस्थिति त्यतीबेला कायम थियो करिब एक बर्षपछि पनि सोही परिस्थिति समेत कायम रहेको संकेत सभामा ब्यक्त बिचारले गरेको छ ।

यसको स्पष्ट अर्थ हो— सत्ता गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको विपक्षी गठबन्धनको ‘खोक्रो राष्ट्रवाद’ले देशलाई पहाडे र मधेसीमा विभाजित गरेको आरोप देउवा र प्रचण्डले लगाउँदै त्यसको प्रतिरोध गर्ने दावी पनि गरे ।
एमालेले प्रचण्डपुत्रीलाई हराए ओलीको साख उच्चो हुने प्रचण्ड—देउवाको डर पनि रहेको छ ।

काँग्रेस–एमालेको ठिक विपरित एमालेका अध्यक्ष केपी ओलीले पनि चितवनको त्यही नगरमै एकै दिन चुनावी सभालाई संबोधन गरेर आफ्नो भडाँस पोखे ।
ओलीले विदेशी शक्ति सामू लम्पसार पर्ने प्रवृतिविरुद्धको संघर्षको मैदानको पहिलो पंक्तिको लडाईको रुपमा स्थानीय निर्वाचनलाई लिएको पाइएको छ । गत साउनमा उनको सरकार जसको तागत र पहलमा ढल्यो, अहिले एमालेलाई त्यहि शक्तिले यो निर्वाचनमा परास्त गर्न कांगे्रस—माओवादी गठबन्धन निर्माण गरेको तर्फ उनले स्पष्ट संकेत पनि गरे ।

ओलीले चितवनमा नेपाली कांगे्रसका स्थानीय नेता कार्यकर्तालाई प्रभावित गर्ने उदेश्यले द्वन्द्वकालमा माओवादीबाट भएको निशंष बाँदरमुढे घटना र कृष्णप्रसाद अधिकारी हत्या प्रकरणलाई स्मरण गराउँदै माओवादी विद्रोहको दर्मियान माओवादीले स्थानीय कांग्रेसी कार्यकर्तालाई भाटे कार्वाही गरेको समेत स्मरण गराएर बोले ।

वैशाख ३१ गते हुने निर्वाचनको सफलता वा असफलता अहिलेको सत्ता गठबन्धन र बिपक्षीको भबिष्यको राजनीतिक दिशा र दशा निर्धारित हुने निश्चित छ ।
पहिलो चरणको निर्वाचनमा एमालेले बढी सिट जितेमा संविधान संशोधन विधेयक तुहिने र माओवादी–कांग्रेस गठबन्धनले जित्यो भने एमालेलाई लतार्ने अवस्था सिर्जना गर्ने संभावना बढेर जान्छ ।
त्यसैले दुवै पक्षले स्थानीय निर्वाचनको क्रममा काठमाण्डौको सट्टा भरतपुरलाई केन्द्र बनाएको अर्थ विश्लेषकहरुले लगाएका छन् । एकातर्फ प्रचण्ड पुत्री भएको र अर्कोतर्फ एमालेले ‘ह्वाइट वास’ गर्न सक्ने तथा भारतसंग जोडिएको र पहाडे समुदायको बाहुल्यलता भएको जिल्ला भएकोले पनि प्रथम चरणमा चितवनको महत्व ह्वात्तै बढेर गएको हो । त्यसैले सत्तापक्ष र विपक्ष दुबैले चितवनमै ध्यान केन्द्रित गरेको हुनुपर्छ ।

पहिलो चरणको स्थानीय निर्वाचनमा चितवनको जस्तै महत्व दोस्रो चरणमा झापा र मोरङ्गको हुने निश्चित छ । ’cause अहिले संसदमा अलपत्र अवस्थामा रहेको संविधान संसोधनको बिधेयकको भविष्य अप्रत्यक्ष रुपमा यी जिल्लाको मतपरिणाम र व्यक्त अभिमतले धेरै हदसम्म निर्धारित गर्ने छ । यी जिल्लामा व्यक्त अभिमतको आधारमा सत्ता पक्ष र विपक्षीको स्थान निर्धारित हुनेछ ।