‘बुद्धिस्टहरुले पनि मासु खान्छन् र ?’

अरुण पौडेल

‘बुद्धिस्टहरुले पनि मासु खान्छन् र ?’

गैरबौद्धमार्गीले बारम्बार गर्ने प्रश्न हो यो । बौद्धधर्म अहिंसावादी धर्म हो र यहाँ माछामासु खान पूर्ण निषेध छ भन्ने बुझाईका कारण गरिने प्रश्न हो यो । खासमा यो पूर्ण बुझाई होइन ।
पक्कै पनि बौद्धधर्म अहिंसावादी धर्म हो र यहाँ सबै प्रकारको हिंसा निषेध छ । यहाँ माछामासुलाई हैन, त्यसप्रतिको आसक्तिलाई वर्जित गरिएको छ । त्यसको अर्थ माछामासु खानुपर्छ भनेको चाहिँ पक्कै होइन । ध्यानको अभ्यास गर्दा बुझिने यो कुरालाई शब्दमा बुझाउन सजिलो छैन, तैपनि प्रयास गरेको छु ।
भर्खरै विश्वभरका नेपाली र केही अन्य देशका बौद्धमार्गीले बुद्ध जयन्ती मनाए । विहानैदेखि ‘बुद्धम् शरणम् गच्छामि’ का श्लोक र बुद्धका तस्वीरले सामाजिक सञ्जाल भरिएका थिए । म चाहिँ दुई मित्रहरुसँग काठमाडौंको उत्तरमा रहेको तारेभिरको टुप्पामा पुगेर सके केहीबेर ध्यान गर्ने नसके शुद्ध हावामा श्वास मात्रै भएपनि फेर्ने अभियानमा थिएँ । मित्रहरु आध्यात्मिक साधक भएकाले ध्यानमा बस्ने कुरामा जोड मिल्ला भन्ने आश थियो, जुन पुरा पनि भयो ।

चिन्तनको क्रममा माछामासु खाने नखाने कुरा चल्यो । बौद्धमार्गीहरुले किन माछामासु खान्छन् त ? हाम्रो बीचमा पनि यो बहस निस्कियो । निष्कर्श उही आयो जुन आउनुपर्ने थियो । बौद्धदर्शन अनुसार शरीरको स्तरमा मात्र त्याग गरेर कुनै कुराको त्याग हुँदैन । मनको स्तरमा गरिएमा मात्र सही अर्थमा त्याग हुन्छ ।
मनैदेखि अहिंसक नहुञ्जेल असलमा शाकाहारी हुन सकिँदैन । ध्यान र करुणाको अभ्यासले चित्त शुद्ध भयो भने शाकाहार आप्सेआफ घटित हुन्छ, मन र शरीर दुवै स्तरबाट ।

बुद्धले सबैलाई अहिंसाको शिक्षा दिनुभयो, तर माछामासु खान छोड्ने प्रतिज्ञा गर्न लगाउनु भएन । यस पछाडिको गहिरो दर्शनको विश्लेषण मेरो सामथ्र्यभन्दा बाहिरको कुरा हो, तैपनि यसको एक मुख्य पक्षको चर्चा गर्ने प्रयास गर्दैछु ।

शाकाहार र अहिंसा

 

 

शाकाहारको साधना अहिंसासँग सम्बन्धित छ, जसका लागि मनमा प्रेम र करुणा हुनुपर्छ । तर शाकाहारको ब्रत लिएका धेरै जसोमा मैले अहिंसा र करुणा होइन अहंकार हावी भएको पाएको छु । खासगरी पूर्वीय संस्कृतिका धेरै शाकाहारीमा माछामासु नखानाले आप्mनो कर्म सुध्रिने र स्वर्ग (वा त्यस्तै कुनै ठाउँ) मा आप्नो सीट रिजर्व हुने विश्वास छ । ती आपूmलाई परम शाकाहारी र पवित्र भएको ठान्छन् तर आप्mनो मनभित्र हिंसाले कसरी गहिरोसँग जरो गाडेर बसेको हुन्छ भन्ने थाहा पाउँदैनन् । यस्ता कैयौं प्रसंग छन्, जो शरीरबाट शाकाहारी भएपनि मनबाट हुन नसकेको कुराको दृष्टान्त दिनुपर्दा मेरो दिमागमा आउँछन् ।
आप्नो पेट भर्नको लागि अरु प्राणीको ज्यान नजाओस् भनी मांसाहार नगर्नु भनिएको हो । अर्थात आप्नो स्वार्थको लागि अरुको मरण नगराउनु शाकाहारको मर्म हो ।

यसमा आशयको महत्व हुन्छ । मासुको लागि प्राणीको हत्या गर्न हुँदैन तर कसैले अनजानमा तपाईंलाई मासु खान दियो र तपाईंले पनि अनजानमै खानु भयो भने त्यसमा तपाईंको दोष हुँदैन किनकि न तपाईंले मासु खाने इच्छा राख्नुभएको हो, नत तपाईंले यसका लागि कसैको हत्या गरेको वा गर्न प्रोत्साहित गरेको हो ।
मासु खाँदा जनावर मर्छन् भनेर मासु नखाने तर जिउँदो मान्छेलाई अपहेलित गरेर उसको चित्त दुखाउने काम पक्कै पनि अहिंसा होइन । जिउँदो मान्छेलाई छिछि दुरदुर गरेर भान्छामा पस्न नदिने तर त्यहीँभित्र मुसाको हत्या गर्ने काम पनि पक्कै अहिंसा होइन । बरु डबल हिंसा हो ।

वास्तवमा शाकाहारको अभ्यास भनेको शरीरबाट मात्र होइन मनैबाट गरिने अहिंसाको अभ्यास हो । शाकाहारका कारण जीवहत्या हुँदैन । यसबाट आप्mनो कर्म सुधारिन्छ र पुण्य मिल्छ । तर मासु नखाएकै कारण मात्र पुण्य मिल्ने होइन । शाकाहारमा माछामासु छोडिन्छ । शरीरले मात्र होइन, मनले पनि । मुखले नखाने तर मनभित्र चाहिँ खान पाए हुन्थ्यो भन्ने चाहना छ भने शाकाहारको अर्थ हुँदैन । जब मनमा मांसाहारको कुनै विचारै आउँदैन तव मात्र शाकाहारको अर्थ रहन्छ ।

मनले मांसाहारी र मुखले शाकाहारी

केही समयअघि एक पुराणका बेला भेला भएका श्रद्धालु धर्मपरायणहरुले मेरा छ वर्षे छोराहरुलाई एकान्त पारेर एउटै प्रश्न सोध्ने गर्थे — “तिमीहरु माछामासु खान्छौ कि खाँदैनौ ?” ती सवै वर्षौंदेखि ‘शाकाहारी’ थिए । मलाई सोधेका भए भन्नेथिएँ — “तपाईंले माछामासु छोड्नु भएको होइन बरु पकड्नु भएको रहेछ । यसबाट तपाईंले मुक्ति पाउनुभएको रहेनछ ।” मेरो विचारमा ती शरीरले शाकाहारी तर मनले मांसाहारी हुन् । किनकि मनले जबसम्म छोडिँदैन, तबसम्म कुनै कुरा छुट्दैन, बरु अझ बलियोसँग र जटिल रुपमा पकडिन्छ ।
मेरा धेरै मांसाहारी साथी र आफन्त छन् जसलाई अरुले माछामासु खान्छन् कि खाँदैनन् भन्ने मतलबै छैन । उनीहरु भलै शरीरले शाकाहारी होइनन् तर उनीहरु मनले माछामासुको विचारबाट मुक्त छन् । खानु र नखानु उनीहरुको लागि ठूलो विषय होइन । उनीहरुको व्यवहार करुणाले भरिएको छ । मांसाहारी भइकन पनि मानिस र अन्य कुनै प्राणीलाई कुनै पनि दुःख नहोस् भनी सधैं सचेत हुन्छन् र त्यही अनुसार आचरण पनि गर्दछन् । मेरो विचारमा ती शरीरले मांसाहारी भएतापनि मनले शाकाहारी हुन् ।

मनले शाकाहारी हुन नसक्दा माछामासु नखाने मान्छेमा एकप्रकारको अनौठो घमण्ड आउँछ । आपूm असल र अरु खराव भन्ने । आपूmलाई शुद्ध र अरुलाई अशुद्ध ठान्ने । त्यही घमण्डका कारण उनीहरु अरुलाई होच्याउँछन्, घृणा गर्छन् । नजानिकनै अरुमाथि हिंसा गर्छन् ।
हिंसाका विभिन्न रुप हुन्छन् । सामान्य अर्थमा अरु प्राणीको ज्यान लिनु हिंसा हो । त्यो हिंसाको चरम रुप हो । तर अरुलाई दुःख दिनु र चित्त दुखाउनु पनि हिंसा नै हो । अरुको मनमा जति धेरै पीडा दिइन्छ, हिंसा त्यति नै ज्यादा हुन्छ ।

‘कर्म’ को सम्बन्ध

हिन्दु र बौद्ध दर्शन ‘कर्म’को सिद्धान्तमा आधारित छन् । असल कामले असल कर्मको निर्माण हुन्छ र खराब कामले खराब कर्मको निर्माण हुन्छ । यसरी निर्माण भएको कर्म मानिससँगै सञ्चित रहन्छ र मृत्युपश्चात पनि यसको निरन्तरता रहन्छ । खराव कर्मको परिणति खराब हुन्छ र राम्रो कर्मको परिणति राम्रै हुन्छ । हिंसाले खराव कर्म निर्माण गर्दछ । कर्मको नियमअनुसार अरुमाथि गरिने हिंसा कुनै न कुनै रुप र कुनै न कुनै समयमा आपूमाथि फर्केर आउँछ नै । मासु खाँदा पाप लाग्छ भन्नुको पछाडि पनि यही कर्मको कुरा जोडिएको छ ।
बौद्ध दर्शन अनुसार जुन प्राणीमाथि हिंसा गरिन्छ, त्यो प्राणीको आकार र चेतनाको स्तरका आधारमा हिंसा गर्नेले सञ्चित गर्ने खराब कर्मको मात्रा निर्धारण हुन्छ । यसलाई सजिलो गरी बुझ्ने  हो भने, चेतनाको स्तर कम भएको प्राणीमाथि गरिने हिंसाभन्दा चेतनाको स्तर बढी भएको प्राणीमाथि गरिने हिंसामा ज्यादा पाप हुन्छ । हात्तीको ज्यान लिनु चराको ज्यान लिनुभन्दा धेरै गुणा खराब हो । मान्छेको ज्यान लिनु सबैभन्दा खराव र गम्भीर पाप हो । चेतनाको निम्न स्तरमा भएको माछाको ज्यान लिनुभन्दा उच्च चेतना भएको मान्छेको चित्त मात्र दुखाउनु पनि ठूलो पाप हुनसक्छ ।

तानाशाह हिटलर आप्नो जीवनको उत्तरार्धमा शाकाहारी भएका थिए रे । तर त्यसपछि उनले यहुदीहरुको कत्लेआम मच्चाए र ६० लाख यहुदीहरुको हत्या गरे । मैले त्यस्ता मानिसहरुको संगत गरेको छु जो शरीरले शाकाहारी छन् तर आप्mनो व्यवहार तथा बोलीबचनले मानिसको दिल दुखाउँछन्, छियाछिया पार्छन् । शरीरले जीवजन्तुको हत्या नगर्ने तर हरेक अवसरमा मानिसलाई दुःख दिइरहन्छन् ।

आफुले मासु नखाएर पवित्रता जोगाएकोमा नाक फुलाउँदै स्वर्ग पुगिने विश्वासमा रमाउँछन् । हाम्रो समाजमा त्यस्ता ‘धार्मिक’ मान्छेहरु अझै पनि छन् जो अरु मान्छेलाई तँ अपवित्र होस्, अछुत होस्, अथवा नुहाएको छैनस्, ब्रतवन्ध गरेको छैनस् आदि भन्दै घर वा भान्छाभित्र छिर्न दिँदैनन् तर मारिएको प्राणीलाई आफैं पकाएर खान्छन् । यी दुवै प्रवृत्ति हिंसाकै भिन्नभिन्न रुपहरु हुन् ।

हाम्रै सनातन धर्मका केही सम्प्रदायहरुमा खसी र कुखुराको नाम लिँदा समेत जात जान्छ जस्तो गरिन्छ । मान्छेले खसी र कुखुरा काटेर खान्छन्, तर दोष ती विचरा प्राणीलाई जान्छ । मानौं ती प्राणी यति अधर्मी हुन् कि ’emकै कारणले मान्छेको मति भ्रष्ट भएको हो र उनीहरु मासु खान बाध्य भएका हुन् ।

शाकाहारको जग

 

 

मनमा परिवर्तन नआई शाकाहारको अर्थ रहँदैन । अहिंसाको साधना नभई शाकाहारको साधना हुनै सक्दैन । अहिंसाको साधनाका लागि गौतम बुद्धले सिकाउनुभएको करुणाको अभ्यास धेरै उपयोगी छ । सवै प्राणीमाथि करुणा गर्नुपर्छ भन्ने कुरालाई सैद्धान्तिक रुपमा कसैले पनि अस्वीकार गर्दैनन्, मनोरोगीहरु बाहेक । हिंसा नै ठीक हो भनी कसैले भन्दैन होला, मन विकृत भएका निर्दयीहरु बाहेक । तर मानेको कुरा सधैं व्यवहारमा उतारिन्छ नै भन्ने छैन । यसका लागि मानसिक अभ्यास चाहिन्छ । अध्ययन, मनन, र ध्यान मानसिक अभ्यासका प्रक्रियाहरु हुन् ।

बुद्धले सिकाउनुभएको करुणा र मैत्री ध्यानको अभ्यासले सवैप्रति प्रेमको विकास हुन्छ । जव मनमा प्रेम र करुणा हुन्छ, तव मानिस स्वाभाविक रुपमै अहिंसक हुन्छ । अहिंसाको जगमा खडा भएको शाकाहार मात्र सही अर्थमा शाकाहार हुनसक्छ । करुणा भरिएको मनले मान्छेको स्वाद र आहारका लागि ज्यान गुमाउने ती प्राणीहरुको कल्याणको कामना गर्दछ । उसलाई स्वर्गको लोभ देखाउनै पर्दैन । लोभको शाकाहारले स्वर्ग    पुरयाउला वा नपुरयाउला भन्न सकिन्न तर करुणाले भरिएको शाकाहारले पक्कै पनि असल कर्मको धनी बनाउनेछ ।