राजपाको ‘ब्लन्डर’ – भीम भुर्तेल

राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरे लगत्तै निर्वाचनका पक्षधर दल विरुद्ध लक्ष्यित गतिविधि सञ्चालन गर्न थालेको छ । निर्वाचनमा भाग लिने दलहरुविरुद्ध उस्को हुलहुज्जत, कुटपीट, लुटपाटले राजपा आममतदाताबीचमा झन् अलोकप्रिय हुने निश्चित छ ।

मंगलबारदेखि सुरु भएको राजपाको आन्दोलनको क्रममा यो मोर्चाका कार्यकर्ताहरु तराईका केही जिल्लामा तोडफोडमा उत्रिएका छन् । उनीहरुले नेपाली कांग्रेस, नेकपा एमाले र अन्य पार्टीका कार्यकर्तामाथि कुटपीट समेत गरेका छन् । त्यति मात्र होइन लामो समय सम्मका आफ्नै सहयात्री उपेन्द्र यादवको संघीय समाजवादी पार्टीका कार्यकर्तामाथि राजपा कार्यकर्ताहरुले भौतिक आक्रमणसमेत गरेका छन् ।
अहिलेको राजपाको क्रियाकलापलाई अन्य दलहरुले गैरजिम्मेवार राजनीतिक गतिविधि भनेका छन् । यसले यो पार्टीलाई अहिले मात्र होइन, दीर्घकालसम्म हानी पु¥याउने निश्चित छ ।

 

मधेस भित्र अहिले तीव्र ध्रुवीकरणको अवस्था सिर्जना भएको छ । नेपालको संविधानको विपक्षमा सवैभन्दा कडा अडान राखेका उपेन्द्र यादवको दलले पहिलो चरणको निर्वाचनमा भाग लिएको सर्वविदितै छ । यसबाट रुष्ट राजपाका नेताहरु त्यसकारण पनि उपेन्द्र यादवमाथि खनिएका छन् ।
पटकपटक सारिएको दोस्रो चरणको निर्वाचनको क्रममा २ नम्वर प्रदेशमा यादवको दल सवैभन्दा अगाडि देखिएको छ । जनताको दैनिक जीवनका धेरै बिषयसंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायको निर्वाचन बहिस्कार गर्नेभन्दा पनि त्यसको उपयोग गर्ने र पार्टी संगठन र शक्ति सञ्चय गर्ने नीति उपेन्द्र यादवले लिएको स्पष्टै देखिन्छ ।

 

यसो गर्दा राजनीतिक दलको संगठन स्थानीय तहसम्म गठन, पुर्नगठन र संगठन हुने अवस्था सिर्जना भएको छ । स्थानीय तहको नेतृत्व तयार हुनेछ । नेतृत्व सोपान अर्थात ‘लिडरसिप हाइरार्की’ निर्माण हुनेछ ।
यस्तै सहयोगले मात्र दलको राजनीतिक मुद्धा मतदाता र स्थानीय वासिन्दामा स्थापित हुन्छ । निर्वाचनमा भाग लिनु भनेको राजनीतिक परिचालन, राजनीतिक सामाजिकीकरण, राजनीतिक संस्कृतिकरण गर्ने अवसर हो, प्रत्येक राजनीतिक दलका लागि ।
यसै बेला पार्टीले आमजनतालाई आफूतर्फ आकर्षित गर्न पाउने छ । आवश्यक राजनीतिक कार्यकर्ताको भर्ना, जिम्मेदारी दिने, त्यसको हेरफेर र पदोन्नती गर्ने अवसर पाउछ पनि ।
निर्वाचन र यसमा भाग लिने अवसरले पार्टी भित्र ज्यान हाल्ने काम गर्छ ।
हालै सम्पन्न बेलायतको संसद ‘हाउस अफ कमन्स’को मध्यावधी निर्वाचनमा सवै दलले उमेदवार हुन ‘भ्याकेन्सी अनाउन्समेण्ट’ नै गरेका थिए । त्यसै तथ्यलाई आत्मसात गर्दै उपेन्द्र यादवले बहिस्कारको राजनीति छोडेर निर्वाचनमा भाग लिए ।पार्टी पुनसंगठन गर्ने अवसरको रुपमा निर्वाचनलाई उपयोग समेत गरे ।

 

यसको ठिक विपरित महन्थ ठाकुर नेतृत्वको राजपा भित्र अहिले स्थानीय निकायको निर्वाचनमा सिर्जित सवै अवसरको उपयोगभन्दा पनि पूरा हुनै नसक्ने माग राखेर आन्दोलन जारी राख्ने र मधेसको राजनीतिक मुद्धालाई किनारा लगाउँने भन्दा पनि लम्वाइ रहन चाहेको देखिदैछ । यसैको आधारमा आफु सान्दर्भिक भैरहने उद्धेश्य उनीहरुले राखेको देखिन्छ ।
केहि मधेसी बिश्लेषकहरु नै राजपाका सवै माग पूरा गरे पनि मधेशी गठबन्धनको यो दलले निर्वाचनमा भाग लिदैन भन्ने निश्कर्षमा पुगेका छन् । राजपाको अहिलेको निर्वाचन बहिस्कारले दीर्घकालमा मधेसका बाँकी मुद्धालाई नै सिध्याउँने छ ।

 

साथै, राजपालाई निर्वाचनमा भाग लिन नदिन मधेसका एकथरी गैससकर्मी र बुद्धिजीवीहरु पनि लागिपरेका छन् । उनीहरुकै उक्साहटमा राजपा निर्वाचन बहिस्कार गर्दैछ । यसको अन्तर्निहित कारण के हो भने, गैरसरकारी संस्थामार्फत मधेसको मुद्धामा दाताको पैसा दुहुनो गाई जसरी पाउनको लागि मधेसको बिषय बस्तु चाहिन्छ ।

मधेसमा द्वन्द्व जति चर्को भयो, यो समुहलाई त्यति नै फाइदा पुग्छ । तर, गैससकर्मी र बुद्धिजीवीले भने जस्तो स्थानीय निर्वाचन बहिस्कार गरेर राजनीतिक पार्टी न निर्माण हुन्छ नत सुदृढ भन्ने सत्य राजपाले नबुझ्दा यो दल नराम्रोसंग राजनीतिक रुपमा चुक्दैछ ।
यसैगरी अगाडि बढिरह्यो भने केहि समयपछि यो राजनीतिक दलको अस्तित्व नै समाप्त हुने छ । ’cause मधेसी जनता सधै महन्थ ठाकुर वा राजेन्द्र महतो पछाडि लाग्छन् भन्ने छैन । आफ्ना सवै काम थाती राखेर सधै जनता राजपाको आन्दोलनपछि पनि लाग्दैनन् ।

 

राजपाको स्थानीय निर्वाचन बहिस्कारपछि मधेसमा उपेन्द्र यादव र महन्थ ठाकुर वीच तीब्र ध्रुविकरण प्रारम्भ भएको छ । यो ध्रुविकरण भनेको वंशजका मधेसी र अंगिकृत मधेसी वीचको हो ।
अहिले उपेन्द्र यादवतर्फ वंशजको आधारमा मधेसीको सहभागिता बढिरहेको छ भने महन्थ ठाकुरतर्फ अंगिकृत मधेसी गोलबन्ध हुन खोजीरहेका छन् ।

 

भूमिपुत्रपुत्री र अंगीकृतबीच तीब्र धु्रबीकरण हुन थालेको छ ।
अंगिकृत मधेसीले सवै मुद्धामा होल्ड गरेर स्थानीय वासिन्दालाई सिमान्तीकृत बनाइरहेकाले त्यसलाई निश्तेज गर्नुपर्ने आवश्यकता मधेसीभूमिपुत्रपुत्री भित्रै जबर्जस्त रुपमा उठेको छ ।
जसको परिणाम, यो धुव्रिकरणले राजपालाई दुई कारणले झनै कमजोर बनाउने छ ।
पहिलो, यो निर्वाचन बहिस्कार गरेपछि स्थानीय निकायमा नेतृत्वविहिनताले स्थानीय पार्टी कार्यकर्ताबिहिन भएपछि राजपा नेता मात्रको राजनीतिक दल बन्ने पक्का छ । राजपाका कार्यकर्ता राजपा छोडेर अन्यत्र लाग्नेछन् ।

दोस्रो, सवैभन्दा महत्वपुर्ण मधेसमा भौतिक भीडन्त मधेसी–मधेसी वीच हुनथाल्नेछ ।
यसको सुरुवात भै सकेको छ । यसबाट उपेन्द्र यादवलाई होइन, महन्थ ठाकुरहरुलाई हानी हुने छ ।

 

रापजा यतिबेला सवैभन्दा ठुलो गल्ति गर्दैछ ।
संविधानले स्वतन्त्र हिडडुल गर्ने, सभा सम्मेलन गर्ने, भेला हुने, राजनीतिक आस्था प्रकट गर्ने, आफ्नो राजनीतिक आस्थाका आधारमा चुन्ने र चुनिने अधिकार दिएको छ । यो अधिकार प्रयोग गर्न अरुलाई राजपाले उनीहरुको प्रभाव क्षेत्रमा अवरोध गरे उनीहरु विरुद्ध पनि उपेन्द्रहरु त्यस्तै अवरोध गर्न बाध्य हुनेछन् ।
यदि राजपा अरु दलको कार्यक्रममा तोडफोड गर्नुलाई वैध ठान्छ भने अरु दलले पनि उसका कार्यक्रम विथोल्नु अबैध हुनेछैन । यस्तो अवस्थामा समाजमा अराजकता मात्र निम्तने छ । यस्तो अराजकतामा छुल्याहा राजपाका नेताप्रति सर्वसाधारण पनि हात बाँधेर मात्र बसिरहलान् भन्न सकिदैन । भौतिक रुपमै आक्रमण हुनपुग्यो भने कसैले आश्चर्य नमाने हुन्छ ।

त्यो बढेर भौतिक आक्रमणको प्रयास भएमा प्रहरीले सुरक्षा दिनपर्छ भने अरुको कार्यक्रम विथोल्न राजपाका कार्यकर्ता जाँदा प्रहरीले उनीहरुमाथि बल प्रयोग गर्नु पर्ने अवस्था सिर्जना हुनपुग्छ । र, यस्तो ठेलमठेल हुँदा मानिस च्यापिन पनि सक्छन् भन्ने सामान्य तथ्य राजपामा यस्तो नीति लिने नेताहरुले मनन गर्न जरुरी छ ।
राजपाका छुल्याहाहरुलाई उपेन्द्र यादवमाथि गरेजस्तै आक्रमण गर्न छुट दिने हो भने आममधेशवासीहरुले पनि राजपाका नेताहरुलाई घरघरबाट निकालेर सडकमा उपचार किन नगर्ने भन्ने तर्क जायज सावित हुुन पुग्नेछ । गर्नेछ । यस्तो अराजकताले कसैलाई फाइदा गर्दैन भन्ने तथ्य राजपाले मनन गरोस ।
जसरी सबैलाई चुनावमा भागलिन छुट छ, त्यसैगरी चुनाव बहिस्कार गर्न पनि सबैलाई छुट छ । तर आफ्रनो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भने गर्न पाइदैन ।

शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कार गरेर दुइतिहायी कम मतदानको अवस्था सिर्जना गरे मात्र राजपा पछाडि रहेको जनमत देखिने छ र यो नै उसको जीत हुने छ ।
अन्यथा मतदातामाथि हुलहुज्जत, कुटपीट र सर्वसाधारणको घरवार तोडफोड गरेर निर्वाचन विथोल्ने उस्को प्रयत्नले उसलाई मधेशकै जनताले किनारा लगाउने निश्चित छ ।

 

बुधवार तराई मधेस बन्दकोको बन्द अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघर चोकमा मोटरसाईकल चालकलाई कुटपिट गर्दै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरु । तस्बिर रासस, पर्सा