गच्छदारको ‘इमेज’ र काँग्रेसको बिरोध

अहिले नेविसंघ, तरुणदललाई सडकमा उतार्दा उनीहरुका कार्यकर्र्ताले हाम्रो नेता विजय गच्छदार भ्रष्टाचारी होइनन्, उनलाई छाड्नु पर्छ भन्दा यो समाजले के सन्देश पाईरहेको होला । नेकाका अन्य नेता भए सायद जनताले पनि अर्कै ढंगले सोच्दथे होलान् तर सबैलाई थाहा छ गच्छदारको इमेज नेपाल र नेपाली जनताको अगाडी कस्तो छ भनेर ।

भ्रष्टाचारले फलामे जग हालेर बसिरहेको छ । जता गएपनि पैसा ननिकाली कामै हुँदैन । मालपोत, यातायात, उद्योग, देखि अस्पताल सम्म अझ विदेश बाट लाश ल्याउन समेत घुस दिनै पर्ने बाध्यात्मक अवस्था हावी भइरहेको छ । यसको जडमा पुग्न नसक्ने मात्र होइन असम्भव जस्तै भइरहेको छ । यस्तो अनियमितताको उजागर गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग साना मसिना एक दुई हजार घुस लिएको निहुँमा कार्वाहि गरेर नाक जोगाइरहेको बेलामा बल्ल एउटा देख्न र भन्न लायकको काम गरेको छ । यस्तो अवस्थामा पूर्ण रुपले नभएतापनि केहि हद सम्म आम जनता खुशी भइरहेका छन् ।

सक्रिय राजनीतिमा आफ्नो जिन्दगी समर्पण गर्नेहरुको लागि आफ्नो पार्टी आफन्त, साथीभाई भन्दा पनि प्यारो लाग्छ । दाजुभाई दुई पार्टीको हुँदा दशैंमा टिका नलगाउने, छिमेकीको घरमा काटेको मासु विरोधी दल भएकै कारणले नखाने, श्रीमान श्रीमति बीचमा छोडपत्र समेत भएको उदाहरण हाम्रो समाजमा प्रशस्तै छ ।

धेरै हल्ला खल्लाका बीचमा बालुवाटार ललितानिवास जग्गा घोटालाको फाइल अख्तियारले तयार गरेको छ । एक सय पचहत्तर जना आरोपितहरुलाई कानूनी कार्वाहिको दायरामा ल्याउँदा त्यसमा सबैभन्दा उच्च तहका नेतामा नेपाली काँग्रेसका उपाध्यक्ष बिजयकुमार गच्छदार परेका छन् । जब आफ्नो दलका नेताको नाम आयो आफूलाई सबैभन्दा लोकतान्त्रिक भनिने दलले हतारमा बिरोधको कार्यक्रम अगाडी सार्यो । हुनत नेपाली काँग्रेसलाई लाग्दोहोला हामीलाई त हिजोआज जसले पनि सल्लाह र सुझाव दिन्छ भनेर । अहिले अवस्था पनि त्यस्तै छ उसकै हरकतले उसलाई यो तहको बनाईदिएको छ । रौतहट हत्याकाण्डका नायक भनेर आरोपित मोहम्मद आफताव आलमको पक्षमा पनि यस्तै हतारो गरेको थियो । शेरवहादुर देउवाले आलम काण्डमा पनि उनलाई फसाईएको भनेर अभिव्यक्ति दिएका थिए भने अहिले गच्छदार काण्डमा पनि सार्वजनिक रुपमै उनलाई फसाईएको हो भनेर अभिव्यक्ति दिए ।

काँग्रेसका जिम्मेवार नेतामा धैर्यताको कमि भएकै हो । उसले आन्दोलन त गर्नै पर्दथ्यो तर केही समयको मन्थन पश्चात समाजका सबै पक्षको भावना समेटेर आन्दोलनका बुँदागत माग राखेर नारा लगाउनु पर्दथ्यो । गच्छदार भन्ने शब्द कहिँ कतै पनि नल्याईकन उसले माधव नेपाल, बाबुराम भट्टराई, विष्णु पौडेल वा नविन पौडेल, लिलामणी पौडेल, कुमार रेग्मी जस्ता व्यक्तिलाई कार्वाहि गर्नबाट जोगाइएको विषयलाई लिएर सडक सदन तताउनु पर्दथ्यो । त्यसो गरेको खण्डमा जनताको साथ पाउने प्रवल सम्भावना थियो ।

अहिले नेविसंघ, तरुणदललाई सडकमा उतार्दा उनीहरुका कार्यकर्र्ताले हाम्रो नेता विजय गच्छदार भ्रष्टाचारी होइनन्, उनलाई छाड्नु पर्छ भन्दा यो समाजले के सन्देश पाईरहेको होला । नेकाका अन्य नेता भए सायद जनताले पनि अर्कै ढंगले सोच्दथे होलान् तर सबैलाई थाहा छ गच्छदारको इमेज नेपाल र नेपाली जनताको अगाडी कस्तो छ भनेर । र, यो पनि भन्नु पर्दैन अहिले आन्दोलनमा लागेकाहरुमा पनि साठी प्रतिशत भन्दा माथी नै होलान् जसले नचाहँदा नचाहँदै पनि हातमा आफ्नो पवित्र झण्डा बोक्नु परिरहेको छ ।

सायद काँग्रेसले आफु सँग पनि ठूलै जनशक्ति छ भन्ने देखाउन पनि भातृ संगठनलाई शिघ्रातिशिघ्र सडकमा उतारेको हुनु पर्छ । नत्र त चन्द्रदेव जोशी केहि समय मात्र सत्ताको स्वाद चाख्न पुगेका थिए, काण्डमा मुछिई हाले, असी कटेका यी बृद्ध कम्युनिष्ट नेताले सडक तताउने जनशक्ति कहाँ बाट ल्याउनु ? भएका केहि पनि नेकपामा गइहाले ।

काँग्रेसको मात्र होइन नेपाली समाजमा राजनिती गर्ने हरेक पार्टीका नेताको छबी अत्यन्तै नकारात्मक छ । सत्तामा नजाउन्जेल हरेक शब्दमा जनबोली हुन्छ । आहा, यो मान्छे सत्तासिन भयो भने त हामीले भने जस्तै हुन्छ तर जब उसले कुर्सि पाउँछ तब उसको बोलीमा एक सय असि डिग्रीको फरक परिसकेको हुन्छ । त्यती मात्र होइन, यी लाज पचेका नेता, जब कुर्सिबाट बाहिरिन्छन् फेरि छेपारोले जस्तै रङ्ग परिवर्तन गर्दै, यसो गर्नु पर्छ र उसो गर्नु पर्छ भनेर भ्याए सम्मको अन्तरवार्ता र मिडियामा आफूलाई सबैभन्दा बढी ज्ञानीको छाप बनाउँदै अन्धाधुन्द सित्तैमा ज्ञान बाँढिरहेका हुन्छन् । उनीहरु सम्झन्छन् जनता भनेको आफ्ना नजिकका कार्यकर्ता र नातेदार मात्रै हुन् ।

हुनत काँग्रेसमा अब महाविेशनको हल्ला पनि चलेको छ । यदि समयमै भयो भने अबको एक वर्षमा उसले पार्टीमा नयाँ नेतृत्व प्राप्त गर्दछ । देउवा प्यानल गच्छदारको गुटबाट ठूलै भर परेको छ । अर्को कार्यकाल पनि उपाध्यक्ष हुने शर्तमा उनीपनि देउवालाई सघाउन तयार छन् । त्यसैपनि काँग्रेस फुटेदेखि उनी देउवाकै पक्षमा छन् । बीचमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम पुगे, त्यहाँबाट सकेको लाभ लिए, अझ बढी लाभ लिन मजफो फुटाए, यादवलाई त्यागिदिए, माधव नेपालको सरकारमा उपप्रधानमन्त्री भए । दुई ठूला कम्युनिष्ट दल एक भएपछि अब आफ्नो दाल गल्ने छैन भनेर आफ्नो पार्टीलाई काँग्रेसमा बिलय गराए । यती चतुर र आफ्नो दुनो सोझ्याउन खप्पिस नेतालाई मुद्दामामिला र जेलमा हुनु पर्यो भने त्यसले देउवाको सभापतिको कुर्सिमा फेरि अर्को कार्यकाल बस्ने महत्वकांक्षामा पूर्णबिराम पनि लाग्न सक्छ।

उता रामचन्द्र पौडेल वा कोइराला परिवारलाई पनि गच्छदारको पक्षमा नबोलिदिने हो भने अझ पनि उनीबाट हुने केहि बचेखुचेको आशामा तुषारापात हुने पक्का छ । यदि उनको पक्षमा नलागिदिंदा अन्य कार्यकर्ताले भोली आपत आइलाग्यो भने यो ग्रुपमा बसेर बचाउने कोहि हुँदैन भन्दै बिपक्षी खेमामा जालान् भन्ने चिन्ता पनि छ ।

तर, समग्र काँग्रेसजनमा अनुरोध छ । आन्दोलन गर्नुस्, तर गच्छदारलाई बचाउन होइन । भएजत्ती सबै आरोपितलाई यदि दोषि हुन् भने कार्वाहि गर्नु पर्छ भनेर चिच्याउनुहोस् । साथै माथी भनेका केहि आरोपित जस्तै तत्कालिन पुर्व प्रधानमन्त्रीहरु, पूर्व मुख्य सचिव, वर्तमान सर्वोच्चका न्यायाधिश, नेकपाका महासचिव वा उनका पुत्र लगायतलाई कानूनको कठघरामा ल्याउनु पर्छ भनेर आवाज उठाउनुहोस् । अझ त्यतीमात्र होइन, भर्खरै विष्णु पौडेल पुत्र नविन पौडेल र कुमार रेग्मीले जग्गा फिर्ता गरेरे, मालपोत कार्यालय, डिल्लीबजारले रातारात नियम मिचेर सरकारको नाममा ल्याईदिएछ । यसरी यी दुई व्यक्तिको मात्र जग्गा प्राप्ति गर्ने नियमलाई धोती लगाउने कार्य मा वर्तमान भुमिसुधार मन्त्री पद्य्मा अर्यालको नाम बाहिर आइसक्यो । यो विषयले आन्दोलन गर्न आगोमा घिउ थप्न झन सजिलो हुन्थ्यो कि ?