बेथितिका उपासक
उर्जा मन्त्रालयमा काम गर्दा लोडसेडिङ हटाएर खूब नाम कमाएका माअोवादी नेता जनार्दन शर्मा गृह मन्त्रालयमा आएपछि धेरैले त्यहाँ पनि यिनले कुनै न कुनै प्रकारको चमत्कार गर्नेछन् भन्ने आशा गरेका थिए । गृहमा कार्यभार सम्हालेको लगत्तै पछि नै शर्माले गृह प्रशासनमा व्यापक सुधार गर्ने भन्दै जुन ८४- बुँदे कार्ययोजना सार्वजनिक गरे त्यसले यिनीमाथि सर्वसाधारण नेपालीले गर्दै आएको भरोसा झन् मजबूत बनाएको थियो । पुरानो उज्यालो छवि त थियो नै, गृह प्रशासन सुधार योजना बनाउने क्रममा यिनले आफ्नो विभागमा जमट भएर बसेका रोग-व्याधि र समस्याहरूको जसरी सही पहिचान गरेको देखिएको थियो त्यसलाई अदभूत् भन्न सकिन्थ्यो । यिनको तेज नजरको कायल भएर यी पंक्तिको लेखकले एउटा दैनिक पत्रिकामा लेख नै लेखेर यिनलाई स्याबासी दिएको थियो । त्यस लेखमा मन्त्री महोदयलाई यसै गरी अगाडि बढ्नु, पुरानो कीर्तिलाई अझ उज्यालो पार्नु भन्ने प्रत्याशाजनित सल्लाह पनि दिइएको थियो ।
नेपाली कांग्रेसको समर्थक हरि अधिकारीले माओवादी नेताको यसरी मुक्तकण्ठले प्रशंशा गरेको कुरा धेरैका लागि पाच्य भएको थिएन । हरेक विषयलाई लाभ हानीको तराजुमा तौलने र कसैको पनि सकारात्मक पक्ष देख्न नसक्ने प्रवृत्ति व्यापक भएको आजको समयमा आलोचकीय दृष्टिकोणका लागि परिचित पत्रकारबाट कुनै मन्त्रीको प्रशंशा हुनु अनौठो नै मानिएको थियो । तर गुणग्राहितामा विश्वास गर्ने व्यक्ति भएकाले यस लेखकले जनार्दन शर्माको उत्साहबर्द्धन गर्नबाट आफूलाई रोक्न सकेको थिएन । तर छिट्टै नै शर्माजी पनि कानै चिरिएका जोगीहरूको लहरमा उभिन पुगेको देखेपछि यो लेखक हताश र दुखी भएको छ । र, यसै टिप्पणीमार्फत उनलाई गरेको प्रशंशा फिर्ता लिन वाध्य हुनपुगेको घोषणा गर्दछ ।
गृहमन्त्री शर्माले आफूले नै जारी गरेको कार्ययोजनामा व्यक्त प्रतिवद्धताको धज्जी उडाउँदै र प्रचलित नियम विनियमलाई लत्याउदै जसरी जनपद प्रहरी वलमा भैरहेको ३ जना अतिरिक्त महानिरीक्षकको दरबन्दीमा ठूलो संख्यामा वृद्धि गरेर ११ पुर्याएका छन् त्यो उनबाट भएको सार्है नजाती कामका रूपमा गृह प्रशासनको इतिहासमा अंकित भएर रहनेछ । त्यति मात्र होइन उनले हतार हतार थपिएका ती पदहरू बढुवाद्वारा भर्न समेत भ्याएका छन् । मंत्री शर्माको त्यो कदमले त्यसै पनि सत्य-सेवा-सुरक्षणम् भन्दा चाकरी – चुक्ली- मेवामा लुटपुटिन रमाइलो मान्दै आइरहेको प्रहरी प्रशासनलाई थप निकम्मा बनाएर छोड्नेछ भन्ने कुरामा दुई मत हुन् सक्दैन ।
एअाईजीहरूको संख्या हठात् ३ बाट ११ पुर्याउँदा मंत्री शर्माले दरबन्दी थप गर्दा अपनाउनु पर्ने कुनै पनि विधिको पालना गरेका छैनन् । यस सम्वन्धी स्वीकृत कार्यविधिले भन्छ – प्रहरी वलमा कुनै पनि पद थप्नु अगाडि त्यसको आवश्यकता र औचित्य साबित गरिएको हुनुपर्दछ । यसपटक त्यस्तो केही पनि गरिएको छैन । मन्त्रीले हचुवाका भरमा ७ वटा प्रदेशका लागि ७ जना र केन्द्रमा ४ गरी ११ जना एअाईजीको दरबन्दी सिर्जना गरिदिएका छन् जव कि प्रदेशहरूका लागि प्रहरी संगठनको स्वरूप कस्तो हुनेछ भन्ने कुराको निर्क्यौल नै हुन बाँकी छ । यसबाट प्रष्ट हुन्छ, मंत्री शर्मासँग प्रहरी वललाई चुस्त, दुरुस्त र जनहितमुखी बनाउने कुनै सोच र इच्छा छैन । उनी पनि पूर्ववर्ती गृहमन्त्रीहरू जस्तै बेथितिका उपासक नै हुन् ।
थपेको दरबन्दीमा यिनले गरेको बढुवा पनि विवादमा परेको छ । बढुवा विवादमा पर्नु स्वाभाविक कुरो हो भनेर मान्न सकिन्छ तर यसपटकको बढुवामा जेष्टतालाई लत्याइएको भन्ने आरोपका साथ केही आकांक्षीहरू अदालतको ढोका ढकढक्याउन पुगेको विषयलाई भने सामान्य भन्न मिल्दैन । त्यसमाथि, अहिले बढुवामा नपरेका दुईजनालाई समेट्न थप दुई एअाईजीको दरबन्दी सिर्जना गर्न लागिएको छ भन्ने गाइँगुइँ जुन चलेको छ त्यो कुरो सत्य साबित भयो भने त्यसले त मंत्री शर्मालाई अामजनताको नजरमा निर्वस्त्र बनाएर छोड्नेछ । यिनी कान चिरिएको मात्र होइन कानै नभएका बुच्चा देखिएका छन् ।
गुम्दै जान लागेको आफ्नो शाखालाई जोगाउने हो भने जनार्दन शर्माले एक दुइटा यस्ता काम तुरुन्तै गरिहाल्नु पर्यो जो लामो समयदेखि थन्किएर रहेका छन् । अहिलेलाई उनले गर्नुपर्ने कामको सूचीमा १ नम्बरमा रहेको काम हो ज्यान मारेको अभियोगमा अदालतद्वारा कैद सजाय पाएर पनि राजनीतिक संरक्षणमा सजाय भोग्नबाट बच्दै आएका शर्माकै दलका पूर्व सांसद बालकृष्ण ढुङ्गेलको गिरफ्तारी । ढुङ्गेललाई खुला हिंड्न छुट दिएर नेकपा माओवादी केन्द्रका नेताहरू, त्यो पार्टी छोडेर गएका बाबुराम भट्टराई समेतले, कानूनी राज्यको अवधारणाको खिल्ली उडाएका छन् । मंत्री शर्माले आफ्ना नेताहरूले गरेको त्यो गल्तीलाई सच्याउन सक्दछन् राजनीतिको आडमा व्यक्तिगत रिस-इबी साधनका लागि कसैको हत्या गर्ने अपराधीलाई जेलमा थन्क्याएर । शर्माले हिम्मतका साथ त्यो काम पूरा गर्लान् ? नेपाली जनता पर्खिरहेका छन् यो प्रश्नको उत्तर ।