भ्रष्टाचारिले अख्तियारलाई हतोत्साही पारे ! –सूर्यनाथ उपाध्याय
भ्रष्टाचारले अहिले चरम रुप ग्रहण गरेको कसैबाट लुकेको छैन । कसैले भ्रष्टाचारीलाई कारवाही गर्न कम्मर कस्यो भने संझनुहोस्, उसको अन्त्य भयो ।
सबैलाई थाहा भएकै कुरा हो हामी कहाँ भ्रष्टाचार ब्याप्त छ ! भ्रष्टाचार यहाँका जनताले दुख पाएका छन् । भ्रष्टाचारको माखेसांग्लोमा सर्बसाधारण पिसिइरहेका छन् । बालबच्चा पढाउन सर्बसाधारणले कति दुख गरिरहनु परेको छ ? बिरामी भयो भने सरकारी अस्पतालमा भर्ना गरिदैन । ठाऊ छैन भनेर पन्छाइन्छ । नर्सिंग होमहरुमा जान बिरामीलाई बाध्य पारिन्छ । यसको प्रमुख कारण नै भ्रष्टाचार हो । भ्रष्टाचारले गर्दा नै हामी यतिका वर्ष द्वन्दमा फसेका हौं । हाम्रो दूर्भाग्य, द्वन्दरत र द्वन्दपीडित दुबैले पैसा खाए । भ्रष्टाचार गरे । द्वन्द रोक्ने भन्नेहरुले समेत अकुत पैसा लुँड्याए ।
भ्रष्टाचार रोक्ने भनेर विदेशबाट ल्याएको पैसा कति हजम भयो ? हिसाव किताव छैन । ल्याउँदै हजम पारे । अरु त अरु, तपाई हामीले दुख गरेर खाइनखाइ तिरेको राजस्वमा पनि ब्यापक भ्रष्टाचार गरे । देशको राजस्व लुटेर खाने लुटाहा फटाहाहरुलाई अझै पनि हामीले नेता भन्नु परिराखेको छ । यो ज्यादै दुख लाग्दो कुरा हो ।
देश विकासमा लगाउनु पर्ने राजस्व मासेर विदेश सयर गर्दै सरकारी कर्मचारी, मन्त्री, सांसद, नेताहरुले अरबौं रुपैयाँ मासे । महंगा गाडी फेरिफेरिकन चढे । उनीहरुलाई कार्यालयमा भएका एकादुई वर्षे पुराना गाडीले पुगेन । अझै बिलासी गाडीहरु किन्ने भनिरहेका छन् । जनता सामान्य उपचारबाट पनि बँचित छन् तर नेता र कर्मचारीलाई भने करोडौं रुपैयाँको गाडी किन्न पर्ने ? भएका साधारण गाडीले पुग्दैन ?
द्वन्द समाधान गर्न भनेर देशले गरेको खर्च पनि भ्रष्टाचारीहरुले नै खाए । हुँदै नभएका लडाकुहरुलाई देखाएर अरबौं रुपैयाँ पचाए । अनि तिनै प्रधानमन्त्री बने, मन्त्री बने र आज भन्दैछन्, हामी देश विकास गर्छौं ।
तर तिनबाट देश बन्छ भन्ने हामीलाई लाग्दै लाग्दैन । उनीहरु हाकाहाकी भन्छन्, यहाँ धनीको हाली मूहाली हुनुपर्छ । गरीव मरे मरिरहोस् । उनीहरुलाई कुनै चिन्ता छैन । जोसंग पैसा छैन, उसलाई सरकारले हेर्नु पर्छ । तर सरकारले हेर्दैन । शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रलाई भ्रष्टाचारले गाँजेको छ ।
भ्रष्टाचारले अहिले चरम रुप ग्रहण गरेको कसैबाट लुकेको छैन । कस्ले गर्यो, कसरी भयो, भ्रष्टाचार ? तपाई हामी सबैले जानेबुझेका छौं र हामीलाई यसको जानकारी पनि नभएको होइन । को को चोर हुन् ? क–कस्ले कसरी अख्तियार जस्तो संस्थालाई बलियो बन्न नदिन, हतोत्साही पारिराख्न चाहे ? कसैले भ्रष्टाचारीलाई कारवाही गर्न कम्मर कँस्यो भने संझनुहोस्, उसको अन्त्य भयो ।
देशकी प्रथम महिला प्रधानन्यायाधीशले भ्रष्टाचारीलाई कारवाही गर्छु भनिन्, उनैमाथि महाभियोग लगाइयो । एउटा मान्छेले अलिकति राम्रो काम गर्छु भन्यो भने च्यापचुप पारेर त्यसलाई खत्तम बनाउने गरिन्छ । भ्रष्टाचारीको पक्षपोषण तिनै ब्यक्तिहरुले गरिरहेका छन्, जो भ्रष्टाचारमा लिप्त छ । अब हामी यी कुरा टुलटुलु हेरेर बस्न सक्ने अवस्थामा छैनौ, बस्दैनौं ।
अब गाउगाउ र घरघरबाट हामी नेपाली जनता जाग्नुपर्छ । जागौं । पर्दाफास गरौ । भ्रष्टाचारीलाई समातौं । पहिचान गरेर जेल हालौं । यिनलाई सजाय नदिउन्जेल कुनै हालतमा देशको कल्याण हुने छैन । त्यसैले अहिले चुप लागेर बस्ने अवस्था छैन । अगाडि बढौं । भ्रष्टाचारीहरुको भण्डाफोर गरौं । भ्रष्टाचारको अन्त्य गर्नसक्यौं भने मात्र नेपाल अगाडि बढ्छ र बढ्न सक्ने संभावना हुन्छ । होइन भ्रष्टाचार र भ्रष्टाचारीकै कुरा गर्ने हो र यिनकै पछाडि लागिरहने हो र भ्रष्टाचारको विरोध नगर्ने हो भने हामी अगाडि बढ्न सक्दैनौं । यसो भयो भने, नेपाल र नेपाली अगाडि बढ्ने त कुरै छाडौं, जहाँको तहीँ पनि रहन सक्दैनौं !
यिनीहरु भन्दैछन्–सिंहदरवारको अधिकार जनतालाई दियौं । स्थानीय जनताको हातमा त्यो अधिकार आयो भनेर प्रचार गरिरहेका छन् । संविधानमा लेखियो पनि होला तर मलाई शंका लागिरहेको छ, खाइपाई आएको अधिकार यिनले जनतालाई दिने छैनन् । बरु जनताको मूल अधिकार आफ्नै हातमा राख्नेवाला छन् ।
जनताको हातमा निर्णय गर्ने अधिकार पुग्यो भने जनताको हातमा बिकासको अधिकार पनि जान्छ । त्यसैले यिनीहरु जनतालाई हक अधिकार दिनेवाला छैनन् ।
यहाँ विरालोलाई दुधको साक्षी राखेजस्तो भएको छ । दुधको हेरालु विरालोलाई राख्यो भने उ दुधको साक्षी बन्छ कि दुध नै खाइदिन्छ ? बिरालो कही दुधको साक्षी बनेको छ ? यहाँ पनि भ्रष्टाचार रोक्न भ्रष्टाचारीलाई जुन साक्षी राखिएको छ, यिनीहरु नै त्यसमा संलग्न छन् । त्यसैले यस्ता भ्रष्टहरुको पहिचान गरौं ।
भ्रष्टाचारीहरुलाई हामीले चिनेका छौं । नचिनेका छैनौं । यिनीहरु कस्ता थिए ?
हिजो चप्पल लगाएर लखर लखर गर्नेहरु अहिले महलमा बस्ने भा’छन् । जनताको लागि जंगलमा संघर्ष गरेर हिड्ने मान्छे आज लाखौंलाख पर्ने त पलंगमै नै सुत्छन् । यिनको बैंक ब्यालेन्स, घरजग्गा, सुनचाँदि, शेयर कारोबार कति होला ?
तैपनि भन्छन्, हामी जनताको लागि काम गर्छौं ।
हिजो हामीले भिडियो हेर्यौं, छ हजार मान्छेको लागि १९ हजार मान्छेको पैसा लिए । आफ्ना मान्छे मिलेर खाए । तपाई हामी निमुखा हेरिरह्यौं । नेपाली जनताले सहेरै बस्यौं । सहनु बाहेक केही भएन ।भ्रष्टाचारीको पहिचान भैसकेको छ । चुनाव आउछ अब हामीले यिनलाई चुनावबाट लखेट्नु पर्छ । यस्ता तत्वहरुलाई छाड्नु हुँदैन । कहिल्यै पनि यिनलाई माथि ल्याउनु हुँदैन । जान्ने र इमान्दार मानिस मात्र माथि आउनु पर्छ । हामीलाई असललाई असललाई छान्ने र भ्रष्टलाई हराउने मौका छ । जनप्रतिनिधि छान्ने निर्णय अन्तिममा हामी नेपाली जनताले नै गर्ने हो ।
जबसम्म हामी चिप्ला–चाप्ला कुरामा विश्वास गरिरहन्छौं, तवसम्म देशको कल्याण हुनेवाला छैन ।
फेरि पनि चुनाव आउदैछ, भोट खसाल्ने दिन आउदैछ । हामीसबैले इमान्दार मानिसलाई भोट खसाल्नु पर्छ ।
तथाकथित नेताहरुले कतिसम्म ब्रम्हलुट मच्चाएका छन् भने, यिनीहरुलाई अहिलेको सांसदको संख्याले पुगेन रे । उनीहरु संविधानले तोकेको १६५ प्रत्यक्ष साँसद होइन, २४० सांसद नै चाहियो भन्न थालेका छन् । उनीहरु देशको ढुकुटी रित्याएर आफ्नो भुँडी भर्न चाहन्छन् । उनीहरुको ध्यान नै यताफक्र्यो सरकारी खर्च उडाउने, उताफक्र्यो सरकारी नै खर्च नै उँडाउने तिरमात्र रहेको छ ।
तपाईहरुलाई थाहैछ, निर्वाचन आयुक्तलाई करोडौ मूल्य पर्ने महँगो गाडी चाहियो रे । सानो देशको निर्वाचन आयोगले सानै गाडी चढे हुँदैन ? तर करोडकै गाडी किन चाहिने ?
म आयोजक युवाहरुलाई भन्छु, यस्ता साना मसिना झिना लाग्ने कुराहरु जनता समक्ष लिएर जानुहोस् । भ्रष्ट नेताहरुको पर्दाफास गर्नुहोस् । भ्रष्टाचारको तमासा कस्ले गरिरहेको छ देखाउनुहोस् ।
आउनुहोस्, उजुर गरौं र भ्रष्ट नेता, कर्मचारी र ब्यापारीलाई न्यायको कठघरामा, जनताको कठघरामा उभ्याउ । यसबाहेक यो देशलाई अगाडि बढाउने अर्को कुनै विकल्प छैन ।
भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारीलाई तह लगाउनका लागि जबसम्म तिनलाई पाता फर्काएर बदमासहरुलाई कारवाही गरेर ठेगानमा पुर्याइदैन, तबसम्म सन्तोष लिन सकिदैन । युवाहरुले शुरु गरेको भ्रष्टाचारविरोधी जागरण अभियान सशक्त भएर भ्रष्टाचारीहरुलाई पर्दाफास गर्दै देशलाई नयाँ दिशातिर लिएर जानसकोस् । मेरो शुभकामना युवाहरुलाई ।
( अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले रत्नपार्कस्थित शान्ति बाटिकामा युवाहरुले भ्रष्टाचारविरुद्ध आयोजना गरेको सभामा ब्यक्त आक्रोषपूर्ण भाषणको सारसंक्षेप )