भारतीय सत्तामा को आए नेपाललाई बढ्ता हित होला ?

मानसरोवरको यात्रामा निस्केका राहुलले काठमाण्डौको बास र नेपाली रेष्टुरेण्टको खानाका साथै नेपाली केटी साथीको मित्रताले नेपालको विषम परिस्थिती, भारत प्रति हेर्ने दृष्टिकोण, यहाँको भुगोल, धर्म, जातजाती, वर्ण, राजनीति, सँस्कृति, भाषा, भेषभुषा आदिको ’boutमा जानकार होलान् ?

 

भारतीय चुनावको परिणामले नेपाललाई कस्तो असर पर्ला वा गर्ला भनेर धेरैले धेरै प्रकारको अड्कलबाजी गरिरहेका छन् । मोदी प्रधानमन्त्री भएको ठीक कि गान्धी प्रधानमन्त्री भएको ठीक भन्ने पनि वहश चलिरहेको छ । विशेष गरी सिमावर्ती इलाकाका बासिन्दा, व्यापारी र राजनीतिक वर्गमा यसको चाख बढ्ता रहेको पाइन्छ भने यसको प्रत्यक्ष असर चाहिँ चासो नै नराख्ने सर्वसाधारण जनताहरूलाई पर्दछ ।

 

चुनाव पछि बन्ने सरकारको नीतिले नेपाल जस्तो तीन तिरबाट घेरिएको र जन्म देखि मृत्यु सम्म भारतीय बजारमा निर्भर भएको मुलुकको लागि यसका बासिन्दाहरू लाई असर नपर्ने प्रश्नै भएन । गृहिणीको भान्सा देखि जागिरेको दशैं सम्म प्रभाव पार्दछ ।

 

 

अहिले गोलभेंडा डेढसय रुपैयाँ प्रतिकिलो सम्ममा बजारमा विक्री भइरहेको छ, कारण भारतीय चुनाव मात्रै होइन भनेर जतीनै फलाके पनि प्रमूख कारण चाहिँ यहि नै हो । भारतीय विदेश नीति, त्यसमा पनि नेपाल नीति भनेको विशेष प्रकारको हुने गरेकै छ । त्यसैले एकथरी भन्ने गर्छन् नेपाल नीति त्यहाँको सत्ताले भन्दा कर्मचारीतन्त्रले चलाउँछ । तर, त्यती मात्र होइन, यदि त्यसो हो भने नाकाबन्दी लगाउँदा संसदमा सुषमा स्वराजले प्रश्नहरूको सामना गरिरहनै पर्दैनथ्यो, उनी बारम्बार नेपाल आइराख्नै पर्दैनथ्यो । भोली बन्ने सरकारले पनि नीति अनुसारै चल्ने हो, जो सरकारमा आए पनि भन्ने हो भने, व्यक्ति केहि पनि होइन वा पार्टी केही पनि होइन भन्ने अर्थ लाग्न सक्छ ।

 

 

नीति एउटा पक्ष हो । त्यसलाई चलाउने त व्यक्तिले नै हो । आधा गिलाँस भरेको गिलाँसलाई आधा खाली र आधा भरी भनेर व्याख्या गर्ने व्यक्तिले नै हो । त्यसैले नीतिको बुँदाहरूमा नेपालका पक्षमा बोलिदिने वा काम गर्न सहजिकरण गर्न सक्ने व्यक्ति को होला भनेर अनुमान लगाउन कठीन छ ।

 

बाबु पुस्ताका मोदी र छोरा सरहका राहुल कसले नेपाल राम्ररी बुझेको छ उसैले यो देश सँगको सम्बन्धलाई प्रगाढ बनाउलान् । अहिलेलाई सरसर्ती हेर्दा मोदीको पहिलो कार्यकालमै उनले धेरै पटक नेपालको नाडी छामिसके । यहाँका नेताहरूको धारणालाई समिपबाट बुझिसके । पार्टीहरूको जनाधारको ज्ञान पनि लिई सके । यी सबैको समिश्रणबाट नै उनले नाकाबन्दीलाई सेफल्यान्डिङ खोजिरहेका थिए । ओली सँग धेरै टक्कर लिइरहन चाहेनन् । मित्रताको हात भन्दै निर्वाचित ओली मात्र होइन अन्य नेताहरूलाई निम्तो दिईरहे र दिल्लीमा रातो कार्पेट बिछ्याइरहे । पशुपति आए रुद्राक्षले घाँटी भरिएर निस्किए, मुक्तिनाथ गए, एकलै पहाडै पहाड घुमे, जनकपुर आए, सीतामाताको गुणगान गाए । पहिले मधेशवादी दलहरूको जतीनै पक्षिय रुपमा लागेतापनि पछि जनाधारको हिसावले उनले बुझे यी दलहरूको मात्रै पछि लाग्दा आफू फँसिने रहेछ । त्यसैले चतुर मोदी, फेरि काठमाण्डौकै शितलमा मिसिन पुगे ।

 

के गान्धीमा यो सामथ्र्य होला ? काँग्रेस आइकै कुरा गर्ने हो भने चाहिँ भाजपा भन्दा धेरै पहिले देखि नेपाल सँग सम्बन्ध भएको दल हो । नेहरु र महेन्द्र, इन्दिरा र महेन्द्र, बीरेन्द्र र राजीव बीचका अनेकौं किस्साहरू हामील सुनि आएको हो । तर, पछि सोनीयाले शासन सत्ता मनमोहन सिंहको नाममा चलाई सकेपछि चाहिँ नेपाललाई चटक्कै बिर्सिएकै हो । हुनसक्छ सोनीयाले नेपाललाई बुझ्नै सकिनन्, ’cause उनी विदेशबाट भारत आइन्, जहाँ उनी जन्मिन त्यहाँ उनलाई नेपाल भन्ने देश पनि छ भन्ने थाहा नै थिएन होला । जब विवाह गरेर आइन्, त्यती बेला उनी राजनीतिज्ञ सँग भन्दा पनि एउटा रोमान्टिक पाइलट सँग आइन् । त्यसैले उनले यो गम्भिर विषयलाई ध्यानै दिन सकिनन् । परिस्थितीले उनलाई जिम्मेवारी लिन बाध्य पार्यो । उनका सल्लाहकाररूले कति सल्लाह दिए र त्यसलाई उनले कती ग्रहण गरिन् त्यसमा पनि द्विपक्षीय सम्बन्धको गाम्भिर्यता भर पर्ने कुरा भयो । एकछिन लाई सोनियालाई बिर्सेर मनमोहन सिंहलाई मात्र सम्झने हो भने । उनी मोदीको अगाडी नेपालीहरूको प्रत्यक्ष सम्पर्कमा आउनै सकेनन् । उनलाई नेपालमा पाइला टेकाउन धेरै गाह्रो भयो । त्यहि भएर त्यो अवधीमा नेपाल नीतिमा कर्मचारीतन्त्र हावी भयो । पछि, धेरै पछि सम्म पनि कर्मचारीतन्त्र आफैं नेपाल नीति हेर्न चाहन्थ्यो तर मोदी आएपछि उनले विशेष चासो दिन थाले र समकक्षीको भ्रमणका साथ साथै आफू पनि प्रत्यक्ष रुपमा संलग्न हुन थाले ।

 

अब प्रश्न आउँछ , के कुनै विदेशी नेताले नेपालको भित्री सतहमा पुगेर गरेको प्रत्यक्ष संलग्नताले देशको हित गरिरहेको छ ? हो, यो प्रश्नको जवाफ दिने पालो आउँछ नेपालको । उसले कती हद सम्म विदेशी नेता वा मोदी जस्ता नेताहरूको संलग्नतालाई सहजता दिने ? सानो पाँच कक्षाको विद्यार्थीलाई पनि प्रश्न गर्ने हो भने उसले तुरुन्तै जवाफ दिने छ, देशको फाइदा हुने जती कुरामा संलग्नता हुन दिनु पर्छ, तर देशको अहित हुने कुरा हो भने चाहिँ दिनु हुँदैन । बुद्धिजिवीहरूको वहश सुनिरह्यो भने पनि निचोडमा यहि निश्कर्ष निकाल्छन् । तर, के त्यो देश त्यती लाटो होला जो सुन्तला जती अर्कोलाई दिएर त्यसको बोक्रा आफू खाओस् ?

 

विदेश नीति भनेको पञ्चशिलको आधारमा हुन्छ । जहाँ दिने र लिने बराबर हुनु पर्दछ । मोदि दोहोरिए भने उसको सरकारले गरेको कार्यलाई नै निरन्तरता दिने हो, त्यसमा नविकरण गरिदिए पुग्ला । तर, गान्धी वा अन्य दलका अन्य कुनै नेता आए भने उसले अवश्यपनि नेपाल नीतिलाई सरसर्ती दोहोर्याउला, चित्त नबुझेको अवस्थामा पुनरावलोकन गर्ला । चाहे जे भए पनि अन्तत्वगत्वा, दुवै देशको हित भनेको लिने र दिने विषय नै हो ।

 

ऊ त्यती ठूलो देश भएर त हामीलाई चिढाएर हुँदो रहेनछ भन्ने बुझ्ने तहमा पुग्यो भने हामी त झन् ऊ भन्दा भुगोल र जनसंख्या दुवैमा उसको अगाडी लिलिपुट हौं । त्यसैले हामीले समझदारी का साथ अगाडी बढ्ने हो भने उसलाई आवश्यक पर्ने स्रोत साधनको बहुपयोगी धारणा अगाडी सारेर फाइदा लिन सक्नु पर्दछ । सबैलाई थाहा भएकै विषय हो उसको आँखा नेपालको पानीमा गडेको छ । बगेर त्यसै पनि भारतीय समुद्रमा मिसिन जाने पानीमा हामीले बिद्युत, सिंचाई, जलचरको पालन, जलयातायात, जलपर्यटन, जस्ता बहुपयोगी नीतिहरू अंगिकार गरेर त्यसैको जगमा टेकेर सन्धि र सम्झौता गर्न सकेको खण्डमा देशहितको फाइदा लिन सकिन्छ ।

 

पहिले पहिले छ महिने प्रधानमन्त्रीहरूले यहाँ प्रधानमन्त्रीको सफथ ग्रहण गरेकै भोलीपल्ट भारत भ्रमणको जम्बो टोलीको टिकट बुकिङ गर्न दोडिन्थे । के अब उताका प्रधानमन्त्री पनि प्रधानमन्त्री भए पछिको पहिलो भ्रमण नेपाल बाट गर्लान् त ? गर्नुपर्ने र गराउनु पर्ने बीचमा कुरा मिलाउन सकियो भने सायद यो विषय त्यती कठिन पनि नहोला ? अहिले पनि केदारनाथको ध्यानमा हिंडिसकेका मोदी यदि शक्तिमा फर्के भने उनको अध्यात्म प्रतिको झुकावले नेपालको निम्तो लाई प्राथमिकतामा राख्न ढिलो नगर्लान् पनि ।

 

मानसरोवरको यात्रामा निस्केका राहुलले काठमाण्डौको बास र नेपाली रेष्टुरेण्टको खानाका साथै नेपाली केटी साथीको मित्रताले नेपालको विषम परिस्थिती, भारत प्रति हेर्ने दृष्टिकोण, यहाँको भुगोल, धर्म, जातजाती, वर्ण, राजनीति, सँस्कृति, भाषा, भेषभुषा आदिको ’boutमा जानकार होलान् ?

 

जती मोदिको दोस्रो कार्यकाल हेर्न लालयीत नेपाली जनताहरू छन् त्यतीनै गान्धी लाई भारतीय कार्यकारीको उपल्लो सिटमा बसेको हेर्ने चाहना भएका नेपालीहरू पनि छन् । भाजपालाई हिन्दुवादीको बिल्ला र परम्परागत शक्ति सम्झनेहरू अविवाहित गान्धीको युवा छवी, विदेशको पढाई, गान्धीपरिवारको सदस्य आदि विभिन्न कारणले गर्दा सायद नेपालको हितमा वर्तमान अवस्था भन्दा बढ्ता देन दिन सक्छन् कि भन्ने आशले पनि हेरिरहेका छन् ।

 

तर, चुनाव हो, बिधिको बिडम्बना, भोली तेस्रो शक्तीले बिजयी भएर तेस्रो व्यक्ति भारतको प्रधानमन्त्री भएको खण्डमा नेपालको अझ बढ्ता हित हुन्थ्यो की ?