लाज लाग्न लुगा नै फुकाल्नु पर्दैन !

 

शेरबहादुर देउवा अर्थात देशका ४१ औं प्रधानमन्त्री । प्रधानमन्त्री बन्नेहरुको बहिखातामा चौथो पटक प्रधानमन्त्रीकोे नाम लेखाउने उनी देशका चौथै राजनीतिज्ञ हुन् ।

त्यसैले राजनीति केका लागि र किन गर्ने भन्ने शेरबहादुरलाई कसैले सिकाउनै पर्दैन । त्यसमाथि उनको दाबी नै छ, अब मैं हूँ, बीपी र जीपी (गिरिजाप्रसाद) कोइरालाको सक्कली उत्तराधिकारी ।
नभन्दै सुदुरपश्चिमका शेरबहादुर सुदुर पूर्वका कोइरालाहरुको विरासतमा कब्जा जमाउने जमामर्द नै बने !

भनिरहनु पर्दैन, देउवाको नाम राजनीतिमा आफ्नै गुरुलाई पछार्ने क्षमता भएको ब्यक्तिमा दर्ता भैसकेको छ । उनले गिरिजाप्रसाद कोइरालालाई पछार्न मात्र नसकेको देखिएको हो ।

उनले प्रयत्न भने नगरेका होइनन् । पार्टी नै फुटाएर नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति बने । पछि गुरु पनि कमजोर चेलो पनि कमजोर बनेपछि गुरु चेला मिलेका मात्र होइनन्, गुरुपछि आफ्नो स्थान सुरक्षित राखेर मात्र पार्टी एकिकरणमा देउवा सहभत भए ।

शेरबहादुर दाबी गर्दै भन्छन्, निष्ठाको राजनीति मैले सन्त नेता कृष्णप्रसाद भट्टराइबाट सिकेको हुँ, अरुबाट होइन । त्यसैले बोलिले ठगिए पनि देउवा राजनीतिका सानातिनादेखि धेरै ठूला दाउपेचहरुमा पारंगत मानिन्छन् ।

तर, यति हँदाहुँदै पनि उनी राजनीतिका खेलहरुमा नचुकेका होइनन् । पछिल्ला समयमा उनको चुक्ने क्रम एकपछि अर्को बढ्दो छ ।

डडेलधुराको एउटा दुर्गम गाउँबाट आएको सामान्य जनताको छोरो देशको सर्वोच्च पदमा आसिन हुनपुगे । त्यसपछि सबैले ठानेका थिए, सर्वसाधारण जनताको हितमा देउवाले ऐतिहासिक काम गर्नेछन् । यस्तो आशा राख्नु कदापि अस्वाभाविक होइन ।

चौथो पटक देशको प्रधानमन्त्री बनेका देउवा र उनको सरकारबाट सामान्य जनताले खोजेकोे ठूला कुरा होइन, जीवनयापनका न्यूनतम आवश्यकताहरुको पूर्ति मात्र हो । आधारभूत कुराहरुमा सर्वसुलभ पहुँच मात्रै हो । अर्थात् जनताले शिक्षा, स्वास्थ्य र गाँसबास निम्ति भौंतारिन नपरोस् ।

जनताले सामान्य गाँस, बास र कपासका लागि सँधै हारगुहार गर्नु पर्ने अवस्था प्रजातन्त्र र गणतन्त्रका तीन दशकमा पुग्न लागिसक्दा पनि वाध्यता बनिरहन्छ भने सामान्य किसानको छोरो प्रधानमन्त्री हुनुको के अर्थ !

गरीव जनताको नाममा शासन गर्र्ने राजनीतिज्ञहरुलाई कम्तिमा लाज लाग्नु पर्ने हो । अझ गरीव किसानको छोरा लज्जीत हुनुपर्ने हो । तर अफसोच ! नेताहरु ठान्छन्, लाज लाग्नलाई लुगा नै फुकाल्नु पर्छ । उनीहरुले कहिले बुझ्लान् ? लुगाले बेरिंदैमा लाज ढाकिँदैन !

धनी नेताहरुलाई जस्तो नभए पनि न्यूनतम स्वास्थ्योपचारमा गरीव नेपालीको पहुँच सर्वसुलभ होस भनेर एउटा ६१ वर्षको बुढो डाक्टर १९ दिनदेखि आमरण अनसन बसिरहेको छ । यो उनको ११ औं पटकको अनसन हो ।
तर देउवा सरकार भने कानमा तेल हालेर कुम्भकर्णको निन्द्रामा मस्त झैं छ ।

यसको कारण मेडिकल कलेजहरुमा नेता, सांसद, मन्त्री र माफियाहरुको प्रत्यक्ष–अप्रत्यक्ष लगानी नै हो ? होइन भने सुदुरपश्चिमको कुम्भकर्ण नबन शेरबहादुर देउवा ! निद्रा खोल !!

डा. गोबिन्द केसीले उठाएका मागहरु जायज छैनन् भने शिर ठड्याएर भन प्रधानमन्त्री शेरबहादुर । तर तिमी किन यसो भन्न सकिरहेका छैनौ ?

अनसनरत केसीले यो देशको नियम कानुन म आफैं बनाउन पाऊँ भनेर माग गरेका हुन् ? जनप्रतिनिधिले आफूलाई चुन्नेहरुको हितमा कानून बनाउन कुन आइतवारले छेकेको छ ? छेकेको छैन भने किन बनाउन हच्किरहेका हुन् ? जनताको हितमा नियम कानुन बन्दा जनताको प्रधानमन्त्रीको रुपमा तिमीलाई के को आपत्ति देउवा ?
नेताको खोल ओढेका केही व्यापारी र मेडिकल माफियाहरुको फाइदाका लागि जनताको स्वास्थ्यसँग खेलबाड गर्न नलाग देउवा । यस्तै अप्ठेरो बेलामा हो नेतृत्व क्षमता प्रदर्शन गर्ने, अगाडि बढ देउवा !

मेडिकल माफिया र तिनका मतियारहरुलाई डा. गोविन्द केसी आँखाको कसिङ्गर बनेका छन्, जसलाई निकाल्न सरकारको सहयोगविना सम्भव छैन । र, त्यो सहयोग अहिले देउवा सरकारमार्फत पूरा गराउन लागि परेका छन् । तिम्रोे काँधमा बन्दुक राखेर पड्काउन जुरमुराइ रहेका छन् । साबधान देउवा !

प्राध्यापक डा. केसीलाई केही भइहाल्यो भने दोष जति तिम्रो टाउकोमा थोपरिने छ । त्यसपछि तिम्रो शिर कदापि उठ्न सक्दैन । समय छँदै होस गर, देउवा !

जनताको स्वास्थ्यलाई व्यापारीको हातमा नसुम्प देउवा । हिम्मत गर । अगाडि बढ । स्वास्थ्य क्षेत्रलाई माफियाकरण हुनबाट जोगाउ । कसलाई थाहा छैन ? यो खेलमा विशेष गरेर एमाले, माओवादी केन्द्र र देउवाकै पार्टी नेपाली काँग्रेसका स्वार्थी र उनकै छेउछाउका लोभीपापीहरु टुपी कसेर लागेका छन् ।

यसअघि नै तीनपटक प्रधानमन्त्री भइसकेका देउवाले गरेका राम्रो काम गन्ने हो भने कमैया मुक्तिको घोषणाबाहेक सायदै अरु कुनै होला । आफ्नो असक्षम रेकर्डलाई सुधार्ने अवसर हो देउवा सचेत बन !

तर तिमी स्वयम् टाठो भएनौ भने बुझ देउवा तिम्रो चौथो पटकको प्रधानमन्त्रित्वलाई फेरि अर्को भूमरीमा पार्न खोजिँदै छ । यो कुरो अझै पनि बुझ्न सक्दैनौ भने हे, देउवा तिम्रा लागि पुर्पुरोमा हात राखेर पछाताउनु बाहेक केही बाँकी रहने छैन ।

चौथोपटक सत्तारोहण गरेर पनि केही उल्लेख्य काम गरेर देखाउनुको सट्टा मेडिकल माफियाहरुको गोटी बन्ने बाटो छाड देउवा । सत्ता टिकाउन देउवाले जे पनि गर्छन् भन्ने आरोपलाई गलत सावित गर । तिमी चोखिन यो भन्दा ठूलो सुवर्ण मौका अब अरु आउदैन देउवा । समयमै सचेत बन र अघिल्ला कार्यकालका गल्तीहरु पनि सच्याउने अवसरको सदुपयोग गर ।

कुनै स्वार्थ, लोभलालच, कसैको दवावमा नपरी, गोविन्द केसीको फाइदाका लागी नभई जनताको भलो हुने निर्णय गर देउवा । सही निर्णय गर्दा प्रधानमन्त्रीको पद नै गुमे पनि नडराउ देउवा, ढिलो चाँडो त्यो पद फर्केर तिमै्र पोल्टोमा आइपुग्ने छ ।

सबैदलका सबै नेतालाई यो समस्याको भित्री कुरा थाहा नभएको पक्कै होइन । तर किन चुपचाप बसेका छन् ? स्वास्थ्य मन्त्रीका हैसियतले यो विषयमा काम गरिसकेका कांग्रेसका गगन थापासमेत अहिले किन केही बोलिरहेका छैनन् ? समाजले आशाको नजरले हेरेका एमाले नेता रविन्द्र अधिकारी र योगेश भट्टराईको मौनता पनि रहस्यमय नै छ ।

मेडिकल माफियाहरुले यो खेलमा देउवालाई मात्र नभएर अहिले धेरै सांसदहरुलाई पनि मोहरा बनाइरहेको देखिन्छ । किनकि सांसदले नियम कानुन बनाउने हो, मेडिकल कलेजहरुलाई सम्बन्धन दिने-नदिने निर्णय गर्ने होइन ।

देउवाले के पनि बुझ्न जरुरी छ भने यो विषय भनेको प्रधानन्याधीशलाई महाभियोग लगाए जस्तो होइन । जनताको स्वास्थ्यसँग प्रत्यक्ष गाँसिएको यो विषय कुनै एक व्यक्तिको पदका लागि महाभियोग लगाउँदा जसरी जनता चुप लागेर बस्ने छैनन् । त्यस्तो सोच बनाएका छौ भने त्यो पक्कै गलत हुनेछ ।

त्यसैले हे देउवा, कुनै लोभ लालचमा नफसी गम्भीर भएर निर्णय गर । गर्दैनौ भने नेपाल एकिकरणपछिको राजनीतिक इतिहासमा ३७ जना प्रधानमन्त्रीले नबोकेको कलंक बोक्ने तयारी गर !