फुटमै अस्त, ब्यस्त र अलमस्त पूर्वपंचहरु

 

नाती जर्नेल पशुपति शमशेर राणाले औंला ठड्याउदै भने, कमल थापाले हदैसम्म निरङ्कुश चरित्र प्रदर्शन गरे, कसरी सहनु ?

 

सोह्र वर्षअघि सत्तामा रहिरहन नेपाली काँग्रेस ‘प्रजातान्त्रिक’ आयो, ‘तान्त्रिक’ भयो र बिलायो । अब राप्रपा ‘प्रजातान्त्रिक’ आएको छ, के यो चैं सत्तामा जाला र संबिधान संशोधनमा सहायक बन्ला ? फुटमै अस्त, ब्यस्त र अलमस्त छन्–पूर्वपंचहरु !

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतवार साउन २२ गते फुटेको छ र पशुपति शमशेर राणाको अध्यक्षतामा नयाँ राप्रपा (प्रजातान्त्रिक) गठन भएको छ ।

 

भनिदैछ, कमल थापाले सरकारमा नजाने निर्णय गरेपछि राप्रपाको राणा समूहले नयाँ दल गठन गरेको हो । यसअघि नै डा. प्रकाशचन्द्रले राप्रपालाई चोइट्याइसकेका छन् । यसरी राप्रपा तीन गुटमा विभाजित बनेको छ !

 

यस्तै सत्तामा बसिरहने चाल अन्तर्गत, नेपाली काँग्रेस फुटाएर संसद विघटन गरी मध्यावधी निर्वाचनमा जान ०५८ सालमा शेरबहादुर देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । तर पार्टी चलाउन नसकेपछि प्रजातान्त्रिक काँग्रेस बनाउने शेरबहादुर देउवा अन्तत मातृपार्टी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

यतिखेर उनै देउवा मातृ काँग्रेसको निर्वाचित सभापति छन् । देशको सबैभन्दा ठूलो पार्टी भएकोले काँग्रेस संसदीय दलको प्रमुखको हैशीयतमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग गठबन्धन गरेर देशका प्रधानमन्त्री बनेका छन् ।

 

तर लोकतान्त्रिक नामधारी काँग्रेस चलाउदा उनी कति हत्तु बनेका थिए, प्रजातान्त्रिक काँग्रेस नामधारी त्यो पार्टी चलाउने सम्माननीय शेरबहादुर देउवालाई नै थाहा छ । पार्टी चल्न छाडेपछि मुसा प्रबृत्ति देखाउने तथाकथित प्रजातन्त्रवादी काँग्रेसीहरु गिरिजाप्रसाद कोइरालाको क्याम्पमा पुगेका थिए ।

 

मुसाहरुले डुब्न लागेको पानी जहाज भटाभट परित्याग गर्न थालेपछि त शेरबहादुरलाई ‘प्रजा’ हटाएर तान्त्रिक काँग्रेसका सभापति भन्न समेत थालियो र केही नलागेर देउवा गिरिजाप्रसादको शरण पर्न गए ।
कोइरालाको अवसान पछि मात्र देउवा काँग्रेस सभापति बन्न सकेका हुन् । रामचन्द्र पौडेललाई नारायणहरि बनाएर मात्र देउवाले काँग्रेसको सर्बोच्च पद उछिट्याएका हुन् ।

 

बहुदल आएपछि पूर्व पंचहरु बिलखबन्द परेका थिए । ’cause पंचायत पंचहरुको ब्यवस्था होइन । त्यसैले नेता हुने कुरै भएन । दरवारले निगाहा गरेर पद दिएपछि मात्र नेता भएका हुन् । पंच भनेका नेता होइनन् । पंचायतमा नेता भनेको सूर्यबहादुर थापा मात्र हो ।

 

एक प्राध्यापकले भने, त्यसैले पंचहरु दरवारका हरुवा चरुवाका नाइके मात्र हुन् । जसका कारण दरवारको आशिर्वाद र पैत्रिक संपत्तिले केन्द्रीय पात्र बनेका मात्र हुन् । तर के कुरा विर्सन मिल्दैन भने उनी भन्दैगए, पंचहरु ब्यक्तिगत रुपमा भने प्रभावकारी ब्यक्ति हुन्, जसरी कुनै कंपनी चलाउने ब्यक्ति चलायमान हुन्छ, जो नाफा घाटाको हिसावमा एकदमै सचेत हुन्छ । गणतन्त्रको मर्म र भाव बुझ्नै सक्दैनन् ।

 

पंचायत ब्यवस्था गएपछि पंचहरु कमजोर बने । जब राजतन्त्र गएर गणतन्त्र आयो त्यसपछि त पंचहरु नारायणहरि नै भए ।

 

बहुदलीयकालको दशवर्ष नबित्दै काँग्रेस–एमालेका कारण सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्न पुगे । प्रमुख दलहरुले आदर्श छाडेको दुष्परिणामले सरकार प्रमुख बनेका पंचहरु खासमा बर्णशंकर मात्र हुन् ।

 

त्यसैले केपी ओलीको प्रधानमन्त्रित्वकालमा भारतीय नाकाबन्दी हुँदा उपप्रधान तथा परराष्ट्र मन्त्रालय संचालन गर्ने कमल थापा थिए । तर ओलीलाई सत्ताच्युत गरी बनेको माओवादी–काँग्रेसको सरकारमा बिमलेन्द्र निधिभन्दा वरिष्ठ उपप्रधानमन्त्री खान कमल थापा जानु यसैले संभव भएको हो । होइन भने यस्तो जात्रा हाँडिगाउमा पनि असंभव नै मानिन्छ । ’cause, पूर्व पंचहरुमा जनताको भाव नै छैन । उनीहरुका लागि यी सबै प्रयोग मात्र हुन् ।

 

उनीहरु बहुदलीय ब्यवस्थाको त के कुरा गणतन्त्रमा कहाँबाट नेता बनुन् ? यिनको गुण, ब्यवहार, चरित्र, स्वभाव र आचरण कोही पनि नेता बन्ने खालको छैन । फुटेर तितरवितर भएका पूर्वपंचहरु आठ महिना अघि एकाएक बलीयो बन्न एकतबद्ध बने । तर अहिले फेरि त्यो फुटेर तीन टुक्रामा बिभाजीत बनेको छ ।
बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्धेश्यले गत मङ्सिर ६ गते एकीकरण भई फागुन ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशन भएको थियो । नवगठित पार्टीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनिल थापा बनेका थिए ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर त्यसका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएपछि राणाले राप्रपाका ७५ केन्द्रीय सदस्य तथा २२ सांसद आफ्नो पक्षमा रहेको दावी गरेका छन् । यही दावी गर्दै उनी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे ।

 

पशुपति शमशेर राणाको आरोप छ, अध्यक्ष कमल थापाले एक पक्षीय रूपमा निर्णय गरेर पार्टीमा आफूलाई गुमराहमा राखे, पार्टीको मूल सिद्धान्त भनिने हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रबाट विचलित भए, पार्टीमा कार्यकर्ताको उचित मूल्याङ्कन गर्न सकेनन् ।

 

दिन पर दिन पार्टी अध्यक्षले आफूलाई एक्ल्याउन थालेपछि वरिष्ट नेता राणा थापाविरुद्ध आगो बनेका थिए ।
राणाभन्दा अघि नै राप्रपा एकिकरण भएपछि निर्देशक समिति गठन गर्न नसकेको, सत्तालिप्सामा लागेको भन्दै पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नै अध्यक्षतामा छुट्टै राप्रपा (राष्ट्रवादी) पार्टी गठन गरिसकेका थिए ।

 

बयालीस सदस्यीय केन्द्रीय सदस्य मनोनयन प्रकरणमा थापाले मनोमानी गरेको आरोप लगाउदै वरिष्ठ नेता राणा असन्तुष्ट बन्दै केन्द्रीय कार्यसमितिको बैठक वहिष्कार गर्न पुगेका थिए ।पछिल्लो समय नाती जर्नेल पशुपति शमशेर राणाले औंला ठड्याउदै भन्न थालेका थिए, थापापक्षले हदैसम्म निरङ्कुश चरित्र प्रदर्शन गर्न थाल्यो, कसरी सहनु ?

 

प्रजातान्त्रिक राप्रपामा तीनजना निर्वाचित सांसदहरु सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे लगायत समानुपातिक सांसदहरु २२ जना तथा ७२ केन्द्रीय सदस्य रहेको दावी राणाले गरेका छन् । तर कमल थापा यो दावीलाई नक्कली बताइरहेका छन् । यदि नाती जर्नेलको दावी प्रमाणीत भयो भने कमल थापाको गाई चिन्हसंग १५ जना मात्र सांसद बाँकि रहने छन् !